काठमाडौं ३१ चैत/भेनेजयुलामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ।
राष्ट्रपति निकोलास माडुरोका विरुद्धमा गरिएको प्रदर्शनका क्रममा मङ्गलबार प्रदर्शनकारी र प्रहरीबीच झडपभएपछि प्रहरीले गोली चलाएको थियो।
प्रदर्शनकारी डानियल क्विेलिजलाई मङ्गलबार विहानै भालेन्सीया सहरमा गोली लागेको प्रदर्शनकारीहरुले जानकारी दिएका छन्।
राष्ट्रपतिका विरुद्ध भएको प्रदर्शनका क्रममा एक हप्तामा अहिले सम्म दुई जनाको मृत्यु भईसकेको छ।१९ बर्षिय आन्दोनलकारी जैरो अर्टीजको पनि बिहीबार प्रहरीको गोली लागि मृत्यु भएको थियो।
हत्याको आशंका गरिएका एक जना प्रहरीलाई छानविन सुरु गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्। राष्ट्रपति माडुरोलाई पदबाट हटाउन माग गर्दै भेनेजुयलामा केही हप्ता देखि आन्दोलन भईरहेको छ।
राष्ट्रपति माडुरोले देशलाई आर्थिक र राजनीतिक संकटमा झन झन फसाउदै लगेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन्।
सोमबार भएको प्रदर्शनमा अरु ४० जनालाई हिंसात्मक गतिविधि गरेको अभियोगमा गिरफ्तार गरिएको छ। दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा सोमबार पाँचौ दिनको झडप हो।
भेनेजुयलामा गत केही हप्तामा भएका ठुला प्रदर्शनहरु मध्येको गत शनिबार भएको प्रदर्शनमा पनि प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो।
राष्ट्रपति निकोलस माडुरो र उहाँको सरकार विरुद्ध भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न अश्रुग्यास समेत प्रहार गरेको थियो।
विपक्षी दलका नेता हेनरिक काप्रिलेसलाई १५ बर्ष सम्म राजनीति गर्न रोक लगाउने सरकारको निर्णयप्रति आक्रोसित भएकाहरुले बृहत र्याली सहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा झण्डै ४ हजार जनता सहभागी भएका थिए।
भेनेजुयलाको समाजबादी आन्दोलनका पिता मानिने ह्युगो चाभेजको निधनपछि शक्तिमा आएका माडुरोसँग काप्रिलेस सन् २०१३ मा भएको राष्ट्रपतिय निर्वाचनमा झिनो मतान्तरले पराजित हुनु भएको थियो।
माडुरोको सरकारले केहीदिन अगाडी ४४ बर्षिय काप्रिलेसलाई आगामी बर्ष आम निर्वाचन हुन लागिरहेका बेला १५ बर्षे प्रतिबन्धको घोषणा गरेको थियो।
घोषणासँगै सुरु भएको प्रदर्शन थप चर्को र बृहत हुदै गएको प्रदर्शनकारीहरुले जनाएका छन्।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
प्रतिक्रिया