Edukhabar
शुक्रबार, ०४ असोज २०८१
विचार / विमर्श

शनिबार विशेष : गाउँको पाठशाला र तिम्रा नानीहरुलाई

शनिबार, २३ जेठ २०७२

मीनबहादुर विष्ट नेपालका चर्चित शिक्षाविद् हुन् । शिक्षा विकास र योजनाबारे उनका धारणा धेरैले सुनेका छन् । उनी नेपालका प्रभावशाली कवि पनि हुन् । उनको कविता ‘साला पहाडमे क्या है’ बहुचर्चित छ । त्यस्तै उनको अर्को चर्चित कविता हो ‘गाउँको पाठशाला’ । हरेक शनिबार शिक्षा संग सम्बन्धित साहित्य प्रकाशन गर्ने क्रममा यसपटक हामीले कवि विष्टका दुई कविता प्रस्तुत गरेका छौं ।

गाउँको पाठशाला

जब म एक दिन घुम्दै गाउँको पाठशाला पुगेँ
त्यहाँ देखेँ मुस्किलसाथ उभिएका
केही पर्खालहरु
र पर्खालहरुमा झुन्ड्याइएका
किराले खाएर धेरै ठाउँ प्वाल परेका
देशका, संसारका र वीरहरुका नक्साहरु ।

जब म घुम्दै एक दिन गाउँको पाठशाला पुगेँ
त्यहाँ देखेँ घामले पोलेर छहारी खोज्दै
पठशालाभित्र पसेर
मौन वाचन गरिरहेका गाई, बाख्र र गोठालाहरु
र पाठशालाको कोठाभित्र बस्न नसकेर
बहिर रुखको सियाँलमुनी
चर्न लागेका मास्टर र विद्यार्थीहरु ।

जब म घुम्दै एक दिन गाउँको पाठशाला पुगेँ
त्यहाँ देखेँ
खुट्टा भाचिएका कुर्सीमाथि चढेर
निदाइरहेका र निद्रामा बरबराइ रहेका माष्टरहरु
र माष्टरहरुको आदेश बमोजिम
लोरी गाइरहेका
साना, दुब्ला र ख्याउटे विद्यार्थीहरु ।

जब म फर्किरहेको थिएँ
कसैले सोध्यो–
‘कसरी चलिरहेछ गाउँको पाठशाला ?’
मैले भने–
‘जसरी चलिरहेछ यो देश ।’

तिम्रा नानीहरुलाई

तिम्रा नानीहरुलाई
देशको नाम भन्न सिकाऊ
देशको नाम लेख्न सिकाऊ
देशको मानचित्र कोर्न सिकाऊ

पाखुराहरुबाट
रगतका केही थोपाहरु झिक्दै
स्पष्ट बताइदेऊ
कि देशको भूगोल कोर्ने मसीको नाम रगत हो
देशको इतिहास लेख्ने मसीको नाम पनि रगत हो

र, यो पनि बताइदेऊ कि
तिनीहरुले
देशको भूगोललाई मायाँ गर्नु पर्छ
देशको इतिहासलाई मायाँ गर्नु पर्छ
रगतलाई मायाँ गर्नु पर्छ
अर्थात्,
देशलाई मायाँ गर्नु पर्छ ।

प्रतिक्रिया