Edukhabar
सोमबार, १० मंसिर २०८१
विचार / विमर्श

एसएलसी तमासा– भाग ३

शनिबार, ०५ असार २०७२

- हरी थापा / नेपालको सामुदायिक विद्यालयका ८० प्रतिशत भन्दा बढी बालबालिकाहरुको प्रारम्भिक शिक्षा कमजोर जगमा उभिएको छ । अरु कुनै काम नपाए पछि शिक्षक हुने अवसर पाएकाहरुले धानेको अवस्था छ । कमजोर शैक्षिक धरातल र पेशाको असुरक्षा भएका मानिसहरु नै प्राथमिक तहमा छन् । शिक्षक भएर पनि शिक्षक हुनुको अनुभूति नगर्ने ती अधिकांश व्यक्तिहरुमा बालबालिकाहरुलई सिकाउने कला नै छैन ।

बालबालिकाहरु एबीसीडी, कखगघ र १२३४ सिक्दै दिन काटिरहेका हुन्छन् । शब्द निर्माण, बाक्य गठन, शब्दार्थ, अनुच्छेद लेखन, अनुशासन, सीप विकास, स्थानीय, संस्कृति, परिवेशको जानकारी, मनोरञ्जन, सिर्जनशील कार्यहरु, नाटक, अवलोकन भ्रमण, लगायत परियोजना कार्यहरु जस्ता उद्देश्यमुलक शिक्षाको वातावरण बालबालिकाहरुले पाएका हुँदैनन् । उनीहरुको सिर्जनशीलता वृद्धि गर्ने कार्यहरु नहुने हुँदा बालबालिकाहरु पढ्नुलाई बाध्यता ठान्दछन् । माथिल्लो कक्षामा जाँदा शिक्षक र अभिभावकका लागि पढिदिन्छन् । यसैबीचमा धेरैले कक्षा छाड्छन् । धेरै विद्यालयले विद्यार्थी संख्या बढाउनका लागि पनि विद्यार्थीलाई कक्षा दोहो¥याइरहन बाध्य पार्छन् ।

र, शुरु हुन्छ एसएलसीको त्रासदीपूर्ण कथा । कमजोर जगमा उभिएका विद्यार्थीहरुलाई जसरी पनि एसएलसी पास गर्नुपर्ने बाध्यता खडा गरिन्छ । उमेरमा राम्रो खान नपाएकाहरुलाई उमेर छिप्पिएपछि पस्किइएको मिठो र पोषिलो खानेकुरा पच्न मुस्किल पर्छ । त्यसरी नै बाल्यकालमा राम्रो शैक्षिक परिवेश नपाएका बालबालिकाहरुले एसएलसीको नाममा कोच्याएइका ट्यूसन, गेसपेपर, गाइड चर्का दबाबहरु पचाउन सकिरहेका छैनन् । उनीहरु सामान्य प्रश्नको जवाफ दिन पनि सक्दैनन् । अनि ५३ प्रतिशतलाई असफल बनाएर परीक्षा नियन्त्रण कार्यालय आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ । तर, समस्याको जरो पहिचान गर्न शिक्षकहरुले कुनै चासो दिएका छैनन् ।

अब केही दिन एसएलसीको चर्चा चल्नेछ । गाउँगाउँमा शिक्षकहरु प्राथमिक तहलाई वेवास्ता गर्दै एसएलसी मन्त्र जप्न थालिसकेका छन् । यस्तो लाग्छ, शिक्षकहरु विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिने, उनीहरुको भविष्य निर्माणमा सहायक हुने भन्दा पनि शिक्षा मन्त्रालयलाई खुशी पार्न मात्रै ब्यस्त छन् ।

अहिलेकै एसएलसीमा पनि राम्रो शैक्षिक वातावरण पाएका विद्यार्थीले राम्रै परिणाम ल्याएका छन् । शिक्षकहरुको हौसला र राम्रो शिक्षण शैलीबाट लाभाविन्वत विद्यार्थीहरुलाई एसएलसी अत्यन्तै सामान्य कुरा हो । तर, शिक्षक हुन अयोग्य व्यक्तिहरु “वरिष्ठ शिक्षक” भएको अवस्थामा राम्रो परिणामको आशा लामो समयसम्म राख्न सकिंदैन ।

कुन शिक्षकले कसरी पढाइरहेका छन् भनेर रेखदेख गर्ने, राम्रो गर्नेलाई हौसला र पुरस्कार दिने, कमजोरहरुलाई सुध्रन समय दिने र नसुध्रिए पदमुक्त गर्ने वातावरण कसरी बनाउने होला ? केही व्यक्तिको जागिरका लागि लाखौं बालबालिकाहरुको भविष्य कहिलेसम्म दाउमा राख्ने ?

थापाको फेसबुकबाट । थापा शिक्षा पत्रकार समूहका पूर्व अध्यक्ष हुन् ।

प्रतिक्रिया