काठमाडौं ५ फागुन/माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनियमितता गरेको आरोपमा गौशाला केन्द्रका केन्द्राध्यक्ष आमोद साह निलम्बनमा परेका छन् । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको टोलीले सिट प्लानविपरीत बोर्डिङ स्कुलका विद्यार्थीलाई एउटै कोठामा राखेर परीक्षा दिलाएको पाइएपछि उनलाई निलम्बन गरेको हो ।
केन्द्राध्यक्ष साहले मदर टेरेसा बोर्डिङ स्कुलसँग मिलोमतो गरी उक्त स्कुलका सबै परीक्षार्थीलाई एउटै कोठामा बसालेको आरोप छ । सिट प्लानअनुसार कोठामा एकभन्दा बढी विद्यालयका परीक्षार्थीलाई मिसाएर राख्नुपर्ने नियम छ ।
प्रजिअ यादवका अनुसार केन्द्राध्यक्षले नै नियम मिचेको हुँदा निलम्बन गरिएको हो । यस्तै प्रजिअ यादव नेतृत्वको अनुगमन टोलीले ४ परीक्षा केन्द्रबाट अनियमितता गर्ने ५७ छात्रासहित ७७ जना परीक्षार्थीलाई शुक्रबार निष्कासित गरेको छ । निष्कासन पर्नेमा गौशाला केन्द्रबाट ३४, खखनाबाट १८, रजखोरबाट १७ र निगौलबाट ८ परीक्षार्थी छन् । उनीहरूलाई नेपाली विषयको परीक्षाबाट मात्र निष्कासित गरिएको प्रजिअले जनाए ।
नक्कली परीक्षार्थी पक्राउ
सर्लाही– दिदीको सट्टा माध्यमिक शिक्षा परीक्षा दिइरहेकी बहिनीलाई शुक्रबार मूर्तिया केन्द्रबाट पक्राउ गरिएको छ । उमावि बरहथवाकी छात्रा रञ्जिताकुमारी पण्डितको परीक्षा उनकी बहिनी पूजा कुमारीले दिइरहेको फेला पारेपछि पक्राउ गरिएको प्रहरी निरीक्षक ललन कुर्मीले बताए । दिदीको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर पूजाले परीक्षा दिएकी थिइन् । रञ्जिता बिरामी भएकाले उनको सट्टा बहिनीले परीक्षा दिएको कुर्मीले बताए ।
कान्तिपुरामा प्रकाशित खबर ।
प्रतिक्रिया