Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

एसईईमा अयोग्यहरु ! तथ्यांकै छैन शिक्षा मन्त्रालयसँग

विहीबार, ०३ चैत्र २०७३

काठमाडौं - सल्यानको जनसिर्जनशील माविका कक्षा १० का सञ्जय साह (वर्ष १६) आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० अर्थात् एसईई ग्रेड १० को पहिलो दिनको परीक्षा अन्तर्गत अंग्रेजी विषयको जाँच दिँदैछन् । ‘साथीहरु एसएलसी जाँच दिन निधारमा टीका लगाएर गए होलान्, म भने...’ भक्तपुरको ताथलीस्थित श्वेतभैरब इँटा उद्योगमा इँटा बोकिरहेका १६ वर्षकै विष्णु साहले सम्झे । सञ्जय विष्णुका मिल्ने साथी हुन् ।

‘अघिल्लो साल पनि दाइदिदीहरु निधारभरी टीका लगाएर जाँच दिन गएका थिए’ खलामा बनाइएको इँटको चाङमाथि भारी बनाउँदै उनले गएको वर्ष आफू कक्षा ९ मा पढिरहेका दिन सम्झे । त्यो बेला उनले सपना देखेका थिए, ‘म पनि निधारभरी टीका लगाएर एसएलसी दिन जान्छु । पढेर ‘ठूलो’ मान्छे बन्छु ।’ गत वर्ष नै साँचेको त्यही दिन त आयो तर निधारमा टीका लगाउने क्षण भने आएन उनको । कारण, मंसिर लागेसँगै उनी काम खोज्न भक्तपुर आए, इँटा भट्टामा इँटा बोके । आज उनको पढ्ने, एसएलसी दिने सपना इँटाको भारीले थिचेको छ । ‘साथीहरु जाँच दिन गए होलान्, म यता भएर दिन पाइँन’ उनले फेरि त्यही वाक्य दोहोर्याए ।

उनीमात्र नभएर सोही उद्योगमा इँटा बोकेर ‘बोकनियाँ’ नाम पाएका रोल्पा होलेरीको महेन्द्र माविका विद्यार्थीले पनि आजबाट सञ्चालन भएको एसईई परीक्षाको मुख देख्न पाएनन् । लजाएर कुरा गर्दै उनले आफ्नो नामै नभनी भने, ‘पढ्न त मन थियो तर दाइ, दिदी र मिल्ने साथी नै कमाउन भनेर इण्डिया लागे मचाहिँ इँटा बोक्न भक्तपुर आएँ ।’

त्यस्तै सल्यानकै सुनचौर मार्के गाविसदेखि भक्तपुरसम्म कामका लागि पढ्नै छोडेर आएकी अञ्जना कुँवर पनि गाउँमै भएको भए एसईई परीक्षामा सहभागी भएर जाँच दिँदै हुने थिइन् । तर, पढाइलाई भन्दा बढी कामलाई विश्वास गर्ने परिवार भएकोले उनले पनि कक्षा १० मा पढ्दापदढ्दै इँटा बोक्न भन्दै भक्तपुर आउने बसमा हुइँकिन् । उनी हाँसेर भन्छिन्, ‘साथीहरु, संगीता र सपना पुनले पनि एसएलसी दिइन् कि पोइला गइन् थाहा छैन ।’

कलिलो उमेरमै ‘बोकनियाँ’ बनेकी अञ्जनालाई जस्तै गरी कति विद्यार्थी एसईईका लागि अयोग्य भए भन्ने कुरा शिक्षा मन्त्रालयलाई समेत थाहा छैन । कति विद्यार्थीले कक्षा १० पढ्दापढ्दै बीचैमा पढाइ छाडे, अनि कति विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयले निर्धारण गरेको ७५ प्रतिशत हाजिरी पूरा गरेनन् भन्ने पनि थाहा छैन मन्त्रालय र परीक्षा सञ्चालनको मुख्य जिम्मेवारी बहन गरेको मन्त्रालय मातहतको निकाय परीक्षा नियन्त्रण कार्यालयलाई पनि । ‘कति विद्यार्थी एसईईको लािग अयोग्य भए भन्ने हामीसँग अहिले तथ्यांक छैन ।’ परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भने ।

उनले कूल ५ लाख ३८ हजार १ सय ८२ जना विद्यार्थी सहभागी भएको त बताए तर त्यसमध्ये कति विद्यार्थी, के कारणले अयोग्य भए भन्ने थाहा नभएको बताउँदै जिल्ला–जिल्लाबाट तथ्यांक नआएको जनाए ।
जिल्ला शिक्षा अधिकारीहरुले भने परीक्षा नियन्त्रण कार्यालयले एसईईमा सहभागी हुन ७५ प्रतिशत हाजिरी अनिवार्य भएको आधारमा मात्र अयोग्य भने पनि अन्य कारणले पनि विद्यार्थी अयोग्य हुने गरेको बताए ।
‘कतिको हाजिरी पुग्छ तर प्रवेश पत्र पाउनका लागि भर्नुपर्ने फारम भर्न पैसा नहुँदा पनि अयोग्य भएका छन् भने कति विद्यार्थीलाई हाजिरी पु¥याउनुपर्छ भन्ने नै थाहा छैन ।’ पाँचथरका जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले भने ।

‘काम गर्दै पढ्ने विद्यार्थी जाँच दिनमात्र स्कुल आउँछन्, कक्षा १० को जाँच पनि त्यसरी नै दिने सोच्दा विद्यार्थीको हाजिरी पुग्दैन ।’ जिशिअ विश्वकर्माले भने ।  उनले पाँचथरमा कूल ३६४७ विद्यार्थीमध्ये २२४ जना अयोग्य रहेको बताए ।

जिल्ला शिक्षा अधिकारीहरुले एसईई दिन अयोग्य भने तापनि गरिबीको कारण विद्यार्थीले कक्षा १० को बीचैमा पढाइ छाड्ने गरेको बताए । ‘छात्रहरु कामको लागि यताउति लाग्छन्, विहेका कारण छात्राहरुको पढाई छुट्छ ।’ भोजपुरका जिशिअ सीताराम श्रेष्ठले बताए ।

विभिन्न जिल्लाबाट एसईई परीक्षामा सहभागी हुने विद्यार्थीमध्ये अर्घाखाँचीमा १२५, पाल्पामा १८५, रुपन्देहीमा २३८, नवलपरासीमा ३४२, चितवनमा ९७, पर्सामा २६१, ताप्लेजुङमा १६९, इलाममा २०२, तेह्रथुममा ११४, भोजपुरमा १९, गुल्मीमा ११७ र कास्कीमा १७१ जना अयोग्य भएका जिशिकाहरुले जनाएका छन् ।

प्रतिक्रिया