काठमाडौं - आउँदो विहीबार (चैत्र ३ गते) बाट सुरु हुने यो वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० अर्थात् एसईई ग्रेड १० मा काठमाडौंकी बिमला महर्जन पनि सहभागी हुँदैछिन् । उनीमात्र नभएर कक्षा १० को यो अन्तिम परीक्षामा देशभरबाट करिब साढे ५ लाख विद्यार्थी सहभागी हुँदैछन् । त्यसको लागि विद्यार्थीको दिनचर्या पहिलाको अर्थात् गत वर्षको एसएलसीमा सहभागी भएका विद्यार्थीको जस्तै छ । उनीहरु अहिले पनि एसईईलाई एसएलसीको जस्तै गरी तयारी गरिरहेका छन् ।
ललितपुरकी सर्मिन कट्वालले पनि समय तालिका बनाएरै एसईईको तयारी गरिरहेको बताइन् । भविष्यमा डाक्टर बन्ने लक्ष्य लिएकी उनी अचेल साथीसँगीसँग खेल्न र टि.भी हेर्न छोडेकी छन् । भन्छिन्,‘ एससएलसीको तयारी नगरी भएन, फेरि आफूले लिएको लक्ष्य अनुसारको पढ्न नपाइएला भन्ने चिन्ता छ ।’ उनले कक्षा १० को परीक्षालाई एसईईभन्दा पनि एसएलसी नै मानेको बताइन् ।
कक्षा १० मै अध्ययनरत विद्यार्थी अहिले पनि कोही घरमै, कोही विद्यालयमै मिहिनेत गरिरहेका छन् । कतिपय स्कुलले भने अहिले पनि विद्यार्थीलाई बोर्डस् राखेर रटाइरहेका छन् । नाम फेरे पनि एसईईको महत्व एसएलसीभन्दा कम नभएकोले तयारी नगराउँदा विद्यार्थी पढ्न र मेहनत गर्नै नमान्ने भएकाले बोडर्स राख्नुपरेका शिक्षक तथा प्रिन्सिपलहरुको तर्क छ ।
‘अझै पनि कति विद्यालयले एसईईलाई ठूलो विषय बनाएर अभिभावक र विद्यार्थीलाइ एसएलसीकै हाउगुजी देखाइरहेका छन्’ शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘यो गलत हो ।’
यस्तो तयारीले विद्यार्थीलाई परीक्षा मुखिमात्रै बनाउने तर विद्यार्थीको सृजनशिलतामा सुधार नल्याउने उनको तर्क छ । परीक्षालाई सिकाइसँग जोड्नु पर्ने मान्यता विपरीत रटाईसँग मात्रै जोड्दा झन् विद्यार्थीको क्षमतामा ह्रास आउने उनले बताए ।
परीक्षाका लागि शिक्षा मन्त्रालयकै तयारीलाई हेर्दा पनि नाम फेरिएको तर व्यवहार भने उही रहेको झल्को मिलेको छ । शिक्षा मन्त्रालयले सोमबार मन्त्रालयमा गरेको पत्रकार सम्मेलनले पनि सोही कुराको पुष्टि गर्यो । माध्यमिक शिक्षा परीक्षा कक्षा १० का तयारी सम्बन्धी पत्रकार सम्मेलनमा प्रस्तुत विवरण अघिल्लो वर्षकै निरन्तरता भएको तथ्य प्रस्तुत प्रेस विज्ञप्तिले देखाएको छ । यसले शिक्षा ऐनको आठौं संसोधनसँगै विद्यार्थी, शिक्षक, अभिभावक, प्रअ तथा शिक्षाका सरोकारवालाले परीक्षा प्रणालीमा पनि सुधार हुने आशाप्रति अझै सुधार गर्ने पक्षमा परीक्षा नियन्त्रण कार्यालय मात्र नभएर मन्त्रालय समेत नरहेको प्रष्ट छ ।
एसईईलाई एसएलसीजस्तै हाउगुजी बनाएर मन्त्रालयले परीक्षाको तयारी गरेको छ । तयारी स्वरुप मन्त्रालयले परीक्षा केन्द्र प्रवेश गर्नुअघि परीक्षार्थीको खानतलासी गर्नेदेखि परीक्षालाई व्यवस्थित र मर्यादिन बनाउन परीक्षा केन्द्रस्तरमा आचारसंहिता निर्माण गर्ने पनि जनाएको छ ।
त्यस्तै परीक्षाको केन्द्र, क्षेत्र र जिल्लास्तरबाट नियमित अनुगमन गर्ने, अनुगमनको क्रममा परीक्षाको मर्यादा विपरीत कार्य गर्ने वा गर्न उक्साउने जोकोहीलाई शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनअनुसार कडा कारबाही गर्ने पनि मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा शिक्षा ऐन २०२८ को संशोधनले राष्ट्रिय परीक्षा बोर्ड गठन भएको र कक्षा १० र १२ को परीक्षाको व्यवस्थापन राष्ट्रिय परीक्षा बोर्डले गर्ने व्यवस्था भएकोमा २०७३ असार १६ गते भएको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १० का परीक्षाको व्यवस्थापन साबिक बमोजिम नै परीक्षा नियन्त्रण कार्यालयले गर्ने निर्णय गरेबमोजिम कक्षा १० को परीक्षाको व्यवस्थापन परीक्षा नियन्त्रण कार्यालयले गर्दै आइरहेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए ।
सम्मेलनमा कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कूल ५ लाख ३८ हजार १ सय ८२ जना विद्यार्थी सहभागी हुने जानकारी दिँदै रेग्मीले परीक्षाका लागि कूल ६७ हजार ५ सय ९१ जनशक्ति परिचालित हुने बताए ।
उनले परीक्षाका लागि १ हजार ९ सय २३ केन्द्र तथा केन्द्राध्यक्ष, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, ११ हजार ७ सय १६ सहयोगी २८ हजार ८ सय ४५ सुरक्षाकर्मी परिचालित हुने बताए ।
पत्रकार सम्मेलनमा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिप्रसाद लम्सालले पनि परीक्षालाई मर्यादित र अनुसाशित बनाउनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया