काठमाडौं २७ फागुन / कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) नाम मात्रै परिवर्तन गरी पुरानै एसएलसीको शैलीमा सञ्चालन हुने भएको छ । पुरानै शिक्षा नियमावली, निर्देशिकाका आधारमा परीक्षा सञ्चालनको तयारी भएको हो । शिक्षा ऐनअनुसार कक्षा १० को परीक्षा क्षेत्रीयस्तरमा हुनुपर्नेमा केन्द्रीकृत रूपमा हुन लागेको हो ।
शिक्षा ऐनको आठौँ संशोधनबाट कक्षा १२ सम्म विद्यालय तहमा पुनर्संरचना गरेपछि पहिलोपटक हुन लागेको कक्षा १० को एसइई पुरानै शैलीमा हुने भएको हो । प्रारम्भिक अवस्था भएकाले परीक्षा नियन्त्रण कार्यालयले केन्द्रीकृत रूपमा परीक्षा लिन लागेको नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए ।
क्षेत्रीयस्तरको संरचना नबन्दा पुरानै शैली
ऐनले राष्ट्रिय परीक्षा बोर्डले क्षेत्रीयस्तरमा परीक्षा गर्ने उल्लेख भए पनि बोर्डका क्षेत्रीयस्तरका स्थायी संरचना नबनेका कारण यथास्थितिमै परीक्षा सञ्चालन हुन लागेको हो । पहिलेको उच्च माध्यमिक शिक्षा परिषद्का जिल्लास्थित कार्यालयलाई परीक्षा बोर्डका रूपमा स्थापित गरे पनि पूरै संरचना भने तयार भएको छैन । बोर्डका स्थायी संरचना नबनेका कारण पहिले एसएलसीका नामबाट सञ्चालन हुने कक्षा १० को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले दिएको अधिकार प्रयोग गरी साबिकको परीक्षा नियन्त्रण कार्यालयले गर्न लागेको हो ।
नामकरण मात्र फरक
परीक्षा सञ्चालनका लागि राष्ट्रिय परीक्षा बोर्ड गठन भएको छ । शिक्षा मन्त्रालयको निर्देशनअनुसार बोर्डले कक्षा १२ को परीक्षालाई एसएलसी ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ (एसएलसिई) र शिक्षा मन्त्रालयले कक्षा १० को परीक्षालाई ‘माध्यमिक शिक्षा परीक्षा, कक्षा १०’ (एसइई) नामकरण गरेको छ । साबिकको एसएलसी परीक्षा सञ्चालन गरेको परीक्षा नियन्त्रण कार्यालयले नै देशभरको कक्षा १० को परीक्षा सञ्चालनको तयारी पूरा गरेको हो ।
नियमावली नबन्दा नाम मात्र फरक
आठौँ संशोधनपछि शिक्षा ऐनमा माध्यमिक तहको कक्षा १० को परीक्षा क्षेत्रीयस्तरमा र माध्यमिक तहको अन्तिममा हुने परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट हुने उल्लेख छ । तर, नियमावली नआएको र नयाँ कानुन नबनेका कारण पुरानै तरिकाले परीक्षा सञ्चालन गर्न लागेको परीक्षा नियन्त्रक रेग्मीले बताए । अहिलेको एसइई पुरानै शिक्षा नियमावली र पुरानै एसएलसी परीक्षा सञ्चालन तथा व्यवस्थापिका निर्देशिकाअनुसार काम भइरहेको छ । पनिकाले पहिलेजस्तै गरी क्षेत्रीय रूपमा फरक–फरक प्रश्नपत्र निर्माण गरी पढाएको छ ।
नियमित विद्यार्थी बढे, समग्रमा घटे
यस वर्षको कक्षा १० को परीक्षामा समग्रमा विद्यार्थी संख्या घटेको छ । नियमित विद्यार्थीको संख्या भने केही बढेको पनिकाले जनाएको छ । रेग्मीका अनुसार यस वर्ष एसइईमा कुल पा“च लाख ३८ हजार एक सय ८२ ले परीक्षा आवेदन फारम भरेका छन् । जसमध्ये नियमित चार लाख ६८ लाख चार सय, एक्जाम्टेड १८ हजार नौ सय ९ र आंशिक ग्रेड वृद्धि गर्ने ५० हजार आठ सय ७३ विद्यार्थी रहेका छन् । अघिल्लो वर्ष एसएलसीमा नियमितमा चार लाख ५२ हजार आठ सय ८१, एक्जाम्टेडमा एक लाख ५९ हजार चार सय १७ परीक्षार्थी रहेका थिए ।
यस वर्षको एसइई आगामी ३ देखि ११ चैतसम्म साधारण विषय र १४ चैतसम्म प्राविधिक धारको परीक्षा हुने कार्यतालिका रहेको छ । यो वर्ष अघिल्लो वर्षभन्दा २० वटा परीक्षा केन्द्र कम निर्धारण भएका छन् । देशभरमा एक हजार नौ सय २३ परीक्षा केन्द्र निर्धारण भएका छन् । अघिल्लो वर्ष एक हजार नौ सय ४३ केन्द्र कायम गरिएको थियो । विगतमा जस्तै एउटा केन्द्रका लागि १५ जना सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।
नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।
प्रतिक्रिया