काठमाडौं २७ फागुन / पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहका सम्पूर्ण पाठ्यक्रम, पाठ्यपुस्तक र सन्दर्भ सामग्रीलाई डिजिटल बनाउने भएको छ । २०२१ देखि हालसम्म प्रकाशित सम्पूर्ण सामग्रीलाई समेटिने केन्द्रका पुस्तकालय अधिकृत अरुणकुमार राईले जनाए । चालू आर्थिक वर्ष २०७३/७४ मा आठ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
२०२८ भदौ ५ गते स्थापित पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण, सन्दर्भ सामग्रीहरूको विकास गर्दै आएको छ । सानोठिमीस्थित केन्द्रको पुस्तकालयमा नेपालको शैक्षिक इतिहासका स्रोत सामग्रीहरू, पाठ्यक्रम बन्नुअघि भए/गरिएका अध्ययन–अनुसन्धानका सामग्रीहरू, स्रोत सन्दर्भ, पाठ्यक्रम, पाठ्यसामग्री, शिक्षक निर्देशिका, बाल सन्दर्भ सामग्री, शिक्षक स्रोत सामग्री रहेका छन् ।
त्यस्तै साधारण शिक्षा, संस्कृत, मातृभाषा, गुरुकुल, गुम्बा, बौद्धिक अपंगता भएकाहरूका निम्ति निर्मित पाठ्यक्रम रहेका छन् । शिक्षा ऐनअनुसार कक्षा १२ सम्म विद्यालय तह भएकाले सबै पाठ्यक्रमलाई डिजिटाइज गरिनेछ ।
‘पाठ्यक्रमको इतिहासदेखि वर्तमान अवस्थाबारे अध्ययन अनुसन्धानमा जुटेकाहरूलाई लक्षित गरेर डिजिटाइज गरिएको हो,’ कार्ययोजनाअनुसार काम भइरहेको उल्लेख गर्दै अधिकृत राईले भने, ‘अब संरक्षण मात्र होइन, सबैको पहुँच पुग्ने गरी यी सामग्रीलाई वेबसाइटमा राखिनेछ ।’
पुस्तकालयमा विभिन्न विधाका २० हजार पुस्तक छन् । लेख्य, श्रव्यदृश्यमा उतारिने ती सामग्रीको संरक्षण, संवद्र्धन र वितरण गर्ने लक्ष्य राखिएको छ ।
‘पुस्तकालय सूचनाविज्ञानअनुसार डिजिटाइजेसन भइरहेको छ,’ उनले भने, ‘आगामी वैशाखमा पूरा हुनेछ ।’
ती सामग्रीलाई केन्द्रको वेबसाइटमा राखिने छ भने डिजिटाइज हरेक सामग्री लेखक वा लेखको शीर्षक वा विषयका आधारमा फेला पार्न सकिने उनले जनाए ।
कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया