काठमाडौं २७ फागुन / बजार क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा छात्रछात्राको संख्या कम छ । संख्या नपुग्दा केही विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । तर बुटवलस्थित केही विद्यालयमा भने निजी छाडेर भर्ना हुन आउनेको लर्को छ । पहाडी जिल्लाबाट छोराछोरी पढाउन यहाँ झर्नेले पनि सामुदायिक रोज्ने गरेका छन् । यहाँ पढ्न चाहने धेरै विद्यार्थीले अवसर पाएका छैनन् । विद्यालयले प्रवेश परीक्षा लिन्छन् । पटकपटक यस्तो परीक्षा दिँदासमेत नाम ननिस्केपछि यहाँ आएका विद्यार्थी पुन: निजीमा फर्किन बाध्य छन् ।
बुटवलको कालिका मावि एउटा उदाहरण हो । यहाँ अहिले २ हजार १ सय ९२ विद्यार्थी छन् । एउटै कक्षामा ८ वटासम्म सेक्सन छन् । कक्षा ४ सम्म अंग्रेजी भाषामा मात्रै पढाइ हुन्छ । त्यसमाथिका कक्षामा दुवै भाषाबाट पढाइ हुन्छ । कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङको पढाइ हुन्छ । प्रधानाध्यापक घनश्याम पाठकका अनुसार विद्यालयको भौतिक संरचना र मानवीय शक्तिले त्यसभन्दा बढी विद्यार्थी थेग्न सक्दैन । यसैले पढ्न चाहने धेरैलाई भर्ना नलिँदा पनि संख्या उल्लेख्य छ । ‘नेपाली माध्यममा १ हजार ५ सयले प्रवेश परीक्षा दिएकामा ५ सय १ ले भर्ना हुन पाए,’ उनले भने, ‘अंग्रेजी माध्यममा २ सय ८१ मध्ये १ सय ९० राख्यौं ।’
विद्यालयको भौतिक संरचना र मानवीय शक्तिले त्यसभन्दा बढी थेग्न नसकेकाले यसो गरिएको हो । पाठकका अनुसार, यो वर्ष नाम ननिस्केकाहरू आगामी वर्षको तयारीमा छन् ।
आगामी वर्षका लागि कहिले प्रवेश परीक्षा हुन्छ भनेर सोध्न आउनेको ताँती छ । स्थानीय कान्ति माविमा १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । कक्षा ५ सम्म अंग्रेजी माध्यममा मात्रै पढाइ हुने विद्यालयमा त्यसमाथि दुवै भाषामा पढाइ हुन्छ । त्यहाँ पढ्न चाहनेको लर्को छ । ‘गत वर्ष ५ सयभन्दा बढी विद्यार्थी फर्कायौं,’ प्रधानाध्यापक गोविन्द ज्ञवालीले भने, ‘आगामी वर्षका लागि सोध्न आउनेको लाइन लाग्न थालिसकेको छ ।’
यता, अधिकांश सुकुम्वासी अभिभावकका छोराछोरी रहेको कद्दरबहादुर रिता नवीन औद्योगिक माविमा १ हजार ४ सय विद्यार्थी छन् । कक्षा १० मा एउटा सेक्सनबाहेक सबै कक्षामा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । कक्षा ९ देखि माथि सिभिल इन्जिनियरिङसमेत पढाइ हुन्छ । गत वर्ष विद्यालयमा पढ्न चाहने ४ सयभन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सफल भएनन् । व्यवस्थापन समस्याले सबैलाई भर्ना लिन नसकेको प्रधानाध्यापक प्रेम बस्नेतले बताए ।
निजी स्तरका नाम चलेका विद्यालयले मात्रै लिने गरेको प्रवेश परीक्षा लिने तरिकालाई पछिल्लो समयमा सामुदायिक विद्यालयले अपनाएका छन् । ‘सबैलाई भर्ना लिने अवस्था छैन,’ उनले भने, ‘त्यसैले हाम्रा हैन, राम्रा विद्यार्थी लिन थालेका हौं ।’ सामुदायिकमा माथिल्लो कक्षामा अधिकांश निजी विद्यालय छोडेर आउने छन् । यहाँ अहिले अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, स्याड्जा, दाङलगायतका जिल्लाबाट आएका विद्यार्थी उल्लेख्य छन् । निजीमा महँगो शुल्क तिरेर पढाउन नसक्ने अभिभावकको बाध्यताका कारण सामुदायिकमा पढ्न आउँछन् । विद्यालय तह नि:शुल्क पढ्ने र उच्च शिक्षामा छात्रवृत्तिमा लड्न पाउने उनीहरूको चाहना हुन्छ ।
सामुदायिक विद्यालयमा सानो तहदेखि पढ्ने विद्यार्थी प्राय: विपन्न परिवारका हुन् । बुटवलमा धेरै जनसंख्या सुकुम्वासी र मौसमी कामदारको छ । यहाँका सामुदायिक विद्यालयमा पनि तिनै विद्यार्थी बढी छन् । यस्ता कतिपय बालबालिका बाबुआमाले कापी, मसीलगायतका शैक्षिक सामग्री सकिएको हप्ता दिनसम्म नयाँ किनिदिन्नन् । बेलामा खाना खान नपाउँदा भोकै स्कुल आउँछन् । दिउँसो खाजा खाने पैसा हुँदैन । कद्दरबहादुर रिता माविमा पढ्न आउने ६५ प्रतिशत बालबालिका सुकुम्वासी अभिभावकका छोराछोरी छन् । कालिका मावि र कान्ति माविमा पढ्ने ४० प्रतिशत विद्यार्थी पनि त्यस्तै छन् । उच्च तहको व्यक्ति बन्न र एसएलसीपछि महँगो विषय पढ्ने इच्छा भएका विद्यार्थी पढाइमा अगाडि छन् ।
कालिका माविका शिक्षक पाठकले भने, ‘अभिभावकले खर्च गर्न नसक्ने बुझेपछि छात्रवृत्तिकै लागि मिहिनेत गरेर पढेका विद्यार्थीले एसएलसीमा राम्रो नतिजा ल्याएका धेरै छन् ।’
रुपन्देहीमा ३ सय ६४ सामुदायिक विद्यालय छन् । यसमध्ये १ सय ४२ मावि, ९४ निमावि र १ सय २८ प्रावि हुन् । यसमध्ये १५ वटा मावि देशमै उत्कृष्ट सामुदायिक विद्यालयमा पर्छन् । अन्य कक्षाको शैक्षिक उपलब्धि र एसएलसीको नतिजामा उत्कृष्टता हासिल गरेका छन् । जिल्ला शिक्षा कार्यालयको मापनअनुसार ती बुटवलको कालिका, कान्ति, नवीन औद्योगिक कद्दरबहादुर रिता, मणिग्रामको शान्ति नमुना, गजेडीको प्रगति, लुम्बिनीको तेनुहवा, सैनामैनाको जनकल्याण माविलगायत हुन् । ‘नतिजा, शैक्षिक वातावरण, व्यवस्थापन र पूर्वाधार सबैमा टप छन्,’ जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले भने, ‘जिल्ला स्तरदेखि एसएलसी परीक्षासम्ममा निजीलाई उछिनेका छन् ।’ विद्यार्थीको मिहिनेत, शिक्षकहरूको लगाव, अभिभावकको जिम्मेवारी, विद्यालयको सबल व्यवस्थापनका कारण सामुदायिक विद्यालय उत्कृष्ट बनेका हुन् । यसले निजी विद्यालयमा आवासीय रूपमा पढ्ने विद्यार्थीबीच आफ्ना विद्यालाई प्रतिस्पर्धामा उतार्न सम्भव भएको हो । शान्ति नमुना मावि, मणिग्रामका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले भने, ‘अनुशासन, जिम्मेवारी र विद्यार्थी, शिक्षक र अभिभावकबीच पढाइ सुधार्ने तरिकाबारेको सहकार्यले शिक्षामा फडको मार्न सकेका हौं ।’
अमृता अनमोलले कान्तिपुरमा लेखेको खबर
प्रतिक्रिया