काठमाडौं २७ फागुन / इन्जिनियरिङका विद्यार्थीको आन्दोलनका कारण सुदूरपश्चिम विश्वविद्यालय तीन सातादेखि ठप्प छ । उनीहरू विश्वविद्यालयमा ताला लगाएर रिले अनशनमा छन् । कक्षाकोठा, ल्याब, विषयगत प्राध्यापक र शैक्षिक क्यालेन्डर माग्दै विद्यार्थीले फागुन पहिलो साता महेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमा ताला लगाएका हुन् । हप्ता दिनसम्म पनि माग सुनुवाइ नभएपछि छैटौं सेमेस्टरका ओमप्रकाश ओझा र उमेश पन्त फागुन १२ देखि अनशन बसेका हुन् ।
उनीहरूले उपकुलपति भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टसँग लिखित र मौखिक रूपमा माग राखे पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको बताए । ‘एउटै कक्षामा पालोपालो लगाएर पढ्नुपर्ने अवस्था छ,’ ओझाले भने, ‘दुई वर्षदेखि आग्रह गर्दा पनि नमानेपछि अनशन बस्नुपरेको हो ।’
अनशनको दुई साता बित्दा पनि विश्वविद्यालय प्रशासनले माग पूरा गर्न पहल नथालेको विद्यार्थी बताउँछन् । दुई दिनअघि उपकुलपति र रजिस्ट्रारले छलफलका लागि बोलाए पनि सीधै सहमतिको ड्राफ्ट अघि सारेको भन्दै विद्यार्थी झनै आक्रोशित छन् । ‘हाम्रा मागबारे कसैले कुरा उठाएनन्,’ पन्तले भने, ‘उनीहरूले तयार पारेको सहमतिपत्रमा हस्ताक्षर गर्न मात्रै बोलाएको देखियो, त्यसैले बाहिरियौं ।’
इन्जिनियरिङ विद्यार्थीले पर्याप्त कक्षाकोठा, व्यवस्थित ल्याब र शैक्षिक क्यालेन्डरलगायत माग अघि सारेका छन् । डेढ महिनाअघि पनि उनीहरूले १५ दिनसम्म विश्वविद्यालय ठप्प पारेका थिए । उपकुलपति र रजिस्ट्रार आन्दोलन सुरु भएलगत्तै काठमाडौं हिँडेका थिए । पदाधिकारी अधिकांश समय राजधानी बस्ने भएकाले विश्वविद्यालयका समस्या झन् बढदै गइरहेको विद्यार्थी बताउँछन् । ‘महिनामा २०/२५ दिन काठमाडांैमै बस्छन्,’ एक विद्यार्थीले भने, ‘४/५ दिन मात्रै यहाँ आउँछन् ।’
यसपटक पनि माग पूरा नगरे रजिष्ट्रार र उपकुलपतिको राजीनामा माग्ने योजना उनीहरूले सुनाए । पदाधिकारी नियुक्तिदेखि भौतिक संरचना निर्माणलगायत काममा समेत लापरबाह िभइरहेको विद्यार्थीको आरोप छ । प्रशासनको आफ्नै दाबी विश्वविद्यालय प्रशासनले भने विद्यार्थीका माग सम्बोधन हुने गरी एक वर्षदेखि विभिन्न काम भइरहेको दाबी गरेको छ । प्रशासनले बिहीबार पत्रकार सम्मेलन नै गरेर इन्जिनियरिङ संकायको विकास र सुदृढीकरणमा भइरहेका गतिविधि जानकारी
गराएको हो ।
विश्वविद्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा इन्जिनियरिङ संकायको उपप्राध्यापकका लागि लिइएको परीक्षाको नतिजा प्रकाशन गर्न सेवा आयोगलाई अनुरोध गरी पठाउने निर्णय गरिएको उल्लेख छ । उपकुलपति श्रेष्ठ र रजिस्ट्रार भट्टले बीई सिभिल इन्जिनियरिङतर्फका प्रयोगशाला स्थापना गर्न तदरुकतासाथ काम भइरहेको दाबी गरेका छन् ।
्‘उपकरण खरिद र जडान कार्य तीव्र गतिमा भइरहेको छ,’ भट्टले भने, ‘तालाबन्दीका कारण खरिद भएर आएका उपकरण पनि जडान हुन सकेको छैन ।’ उनका अनुसार केही उपकरण भैरहवा भन्सारमा आइपुगेको छ । उनीहरूले विशेषज्ञ शिक्षक अभाव हुन नदिन संयोजकको सिफारिसमा बाहिरबाट व्यवस्था गर्ने कामसमेत अघि बढेको जानकारी दिए । ‘इन्जिनियरिङ संकायको नयाँ भवन दु्रत गतिमा निर्माण भइरहेको छ,’ उपकुलपति श्रेष्ठले भनिन्, ‘सोही भवनमा ल्याब स्थापना गरिँदै छ ।’
चित्रांग थापा र भवानी भट्टले कान्तिपुरमा लेखेका छन् ।
प्रतिक्रिया