Edukhabar
मंगलबार, ११ मंसिर २०८१
खबर/फिचर

‘जाँच हाम्रा नानीको कि तपाइँको पनि ?’

विहीबार, २६ फागुन २०७३

काठमाडौं– शिक्षाको गुणस्तर जाँच गर्न भन्दै शैक्षिक गुणस्तर परीक्षण केन्द्रले आज एकैपटक १० जिल्लाका २ हजार ६ सय स्कुलमा अध्ययन गरिरहेका विद्यार्थीको पठन सीप परीक्षण गरेको छ । परीक्षणमा कक्षा २ र ३ का विद्यार्थीलाई मात्र नभएर तिनका अभिभावकलाई पनि सहभागी गराइएको थियो ।
प्रारम्भिक पठन सीप लागू भएका ती जिल्लाहरुमा अध्ययनरत विद्यार्थीको पठन सीप क्षमताबारेमा अध्ययन गर्नका लागि कक्षाकोठामा आधारित प्रारम्भिक कक्षा पठन सिप परीक्षणको भइरहँदा भने त्यहाँ उपस्थित अभिभावक कक्षाको सबैभन्दा अन्तिममा बसेर खासखुस गरिरहेका थिए ।
खासखुसकै क्रममा एक अभिभावकले त मुखै खोले, यो जाँच हाम्रा नानीहरुको मात्र हो कि ? तपाइँको पनि ?’ अभिभावकको प्रश्नको जवाफ सो सहजकर्ताले दिन सकेन । मुख रातो बनाए  र मात्र ‘होइन, यो सरकारले जाँच लिन भनेकोले तपाइँहरुलाई पनि यहीँ राखेर जाँच लिएका हौं ।’ भने ।
यसरी जाँच भइरहँदा अभिभावकहरुले सन्तानकोे मात्र  नभएर शिक्षकको पनि जाँच लिनुपर्ने बताए । ‘हाम्रा शिक्षकहरु पढे, पढ नपढे नपढ जस्तै गरी पढाउनुहन्छ, अनि कसरी पढ्न जान्छन् हाम्रा नानीबाबुले, सरमिसले राम्ररी पढाउनुपर्यो नि ।’ एक अभिभावकले भने । उनले त्यसो भने पनि परीक्षणमा सहभागी हुन आएका जिल्ला शिक्षा कार्यालयका प्रतिनीधिबाट समेत कुनै प्रतिक्रिया आएन ।
विद्यार्थीको परीक्षणको सन्दर्भमा केन्द्रका प्रमुख एवं सहसचिव लेखनाथ पौडेलले सप्तरी, कास्की, कञ्चनपुर, भक्तपुर, दाङ, बर्दिया बाँके, धनकुटा, मुस्ताङ र पर्साका विद्यालयहरुमा अध्ययरत विद्यार्थीलाई पठन सीप परीक्षणमा सहभागी गराइएको बताए ।
केन्द्रका उपसचिव प्रल्हाद अर्यालले कक्षा २ र ३ मा अध्ययनरत विद्यार्थीको स्तर मूल्यांकनका लागि सो परीक्षण गरिएको जानकारी दिए ।
केन्द्रले नेपालको शिक्षामा सबैको पहुँच भइसकेको र अहिलेको आवश्यकताको रुपमा शिक्षामा गुणस्तर रहेकोले गुणस्तरको अवस्थाबारेमा अध्ययन गर्न सो परीक्षण गरिएको जनाएको छ । ‘हामीले सिकाइको गुणस्तरका बारेमा अध्ययन गर्न स्तरीकृत प्रश्नहरु बनाएर परीक्षण गरेका छौं, यसले सिकाइको अवस्था थाहा लाग्छ ।’ उपसचिव अर्यालले भने ।
केन्द्रका अनुसार सो परीक्षणको समग्र नतिजा ३ महिनापछि सार्वजनिक गरिनेछ ।

 

प्रतिक्रिया