काठमाडौं - सुर्खेतको शिक्षा क्याम्पसमा बीएड अध्ययनरत रमेश शाहीले शिक्षक सेवा आयोग सानोठिमीको सम्पर्क नंं ०१–६६३७८७३ मंसिर यतामात्र तीन पटक फोन गरे ।
पहिलो पटक फोन गरेर उनले सोधेका थिए, शिक्षक सेवा आयोगको विज्ञापन कहिले खुल्छ ? जवाफमा आयोगका कर्मचारीबाट जवाफ आएको थियो, ‘एकमहिना पछि खुल्ला कि ?’
आयोगबाट त्यस किसिमको जवाफ आए पनि परीक्षाको तयारीमा लागेका उनको एक महिना पनि त्यतिकै बित्यो, कुनै पनि पत्रिकामा शिक्षक सेवा आयोग खुलेको खबर उनले पाएनन । त्यसपछि फेरि त्यही नम्बर डायल गरे, त्यो बेला पनि उनले पहिलेकै जवाफ पाए, त्यो बेला भने उनले प्रतिप्रश्न पनि गरे, पहिला पनि तपाइँहरुले एक महिनापछि खुल्ला कि भन्नुभएको होइन र ?’
उनले जवाफ पाए, ‘हो, शिक्षामन्त्रीले १५/२० दिनभित्रमा शिक्षा नियमावली आउँछ भनेको कारण त्यो भनेको हुँ, अहिलेसम्म शिक्षा नियमावली आएको छैन, अहिले भन्न सकिने अवस्था छैन ।’
उक्त जवाफबाट आफू निराश भएको उनले बताए । शिक्षक नै बन्ने लक्ष्य बोेकेर कालिकोटदेखि शिक्षा क्याम्पस सुर्खेतसम्म पढ्न आएका उनी शिक्षक सेवा आयोगले विज्ञापन नगर्दा निराश भएका छन् ।
उनीमात्र नभएर शिक्षक नै बन्न शिक्षा शास्त्र पढिरहेका, मानविकीमा अंग्रेजी, गणित पढिरहेका विद्यार्थी पनि शिक्षक सेवा आयोगको विज्ञापन पर्खिरहेका छन् ।
शिक्षा ऐनको संशोधनले अस्थायी शिक्षक ब्यवस्थापनमा नीतिगत स्पष्टता गरेको छ । सोको आधारमा अस्थायीको विदाई र नयाँ विज्ञापन खोल्नु पर्ने भएपनि शिक्षा मन्त्रालयले ऐन जारी भएको ९ महिना सम्म नियमावली ल्याउन नसक्दा पनि आयोग खोल्ने कुरा अलमलमा परेको हो ।
शिक्षा (आठौं ससोधन) ऐन, २०७३ को दफा ११ ख(१) मा ‘सामुदायिक विद्यालयहरुमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार रिक्त शिक्षक तथा कर्मचारी पदको नियुक्ति तथा त्यस्तो पदमा नियुक्त शिक्षक र कर्मचारीको बढुवाको लागि सिफारिश गर्न एक शिक्षक सेवा आयोग गठन हुनेछ’ भन्ने व्यवस्था छ । तर सो व्यवस्था भए पनि शिक्षक सेवा आयोगले भने अहिलेसम्म पनि विज्ञापन गर्न सकेको छैन ।
ऐन अनुसार आयोगले खुला प्रतियोगिताबाट स्थायी पदपुर्ति र बढुवाका लागि सिफारिश गर्दा तहगत रुपमा विद्यालयहरुमा स्वीकृत दरबन्दीअनुसार रिक्त पदको विवरण सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट लिने व्यवस्था भएकोमा शिक्षक सेवा आयोग नियमावली २०५७ को नवौं संसोधनबाट खुला विज्ञापनका लागि शिक्षा विभागमार्फत् दरबन्दी प्राप्त गर्ने प्रावधान राखिदाँ आयोग खोल्न अलमल भएको आयोगका पदाधिकारी बताउँछन् । विभागबाट विवरण प्राप्त नभईञ्जेल सम्म आयोगले मात्रै विज्ञापन गर्न नसक्ने उनीहरु बताउँछन् ।
‘रिक्त पदको विवरण सम्बन्धित निकायबाट प्राप्त भएपछि आयोगले सोका आधारमा प्रतिशत निर्धारण र पदपुर्तिका लागि विज्ञापन गर्दछ, तर अहिलेसम्म पनि विभागले विवरण पठाएको छैन ।’ आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले भने । विवरण पठाउनका लागि विभागसँग पटकपटक ताकेता गरेको पनि उनले बताए ।
उनले शिक्षकको रिक्त पदपुर्तिका लागि प्रत्येक वर्ष सबै तहको नियमित रुपमा खुला विज्ञापन हुन नसकेका कारणले आयोगमा दिनहुँजसो फोन आउने गरेको बताउँदै आयोगको आफ्नो ऐन नहुँदा पनि समस्या भएको बताए ।
प्रतिक्रिया