Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

आरआर क्याम्पसको चुनाव अन्योलमा, बाँकी क्याम्पसमा स्ववियु चुनाव नगर्न पत्राचार

सोमबार, २३ फागुन २०७३

काठमाडौं २३ फागुन/निर्वाचन आयोगले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रोक्न पत्राचार गरेको छ । आयोगको सो पत्राचारसँगै त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त बाँकी क्याम्पसमा चुनाव नहुने भएको छ । निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ कार्यान्वयन गर्न/गराउन निर्वाचन आयोगले ‘विश्वविद्यालय, विद्यालय व्यवस्थापन समिति, नेपाल सरकारको स्वामित्वमा रहेको पेसागत संघ–संगठनहरूको पूर्वनिर्धारित कार्यतालिकाबाहेक नगर्न/नगराउन नेपाल सरकारलाई निर्देशन दिने’ नीतिगत निर्णय गरेको छ । आयोगले त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई समेत पत्राचारको जानकारी गराएको छ ।

आरआर क्याम्पसको चुनाव अन्योलमा

त्रिविले १८ फागुनमा स्ववियु चुनाव गर्ने कार्यतालिका बनाएको थियो । सोअनुसार देशभरका दुई सय ५० भन्दा बढी क्याम्पसमा स्ववियु चुनाव भइसकेको छ । बाँकी क्याम्पसमा भने विद्यार्थी संगठनको तालाबन्दी र विरोधका कारण चुनाव हुन सकेको छैन । त्रिविले तोकेको समयावधिमा चुनाव हुन नसकेको रत्नराज्यलक्ष्मी क्याम्पसमा २३ फागुनमा चुनाव गर्ने तयारीस्वरूप सिलबन्दी गरिएको थियो । तर, आयोगको पत्राचारपछि अन्योल छाएको छ ।
निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालका अनुसार पूर्वनिर्धारित चुनावी कार्यक्रमबाहेक अन्यमा आचारसंहिता लाग्नेछ । रत्नराज्यलक्ष्मी क्याम्पसको स्ववियु चुनावबारे गरिएको प्रश्नमा भने उनले आफूले सैद्धान्तिक विषय मात्र भन्न मिल्ने बताए ।

आरआर क्याम्पसमा नेविसंघबाहेकका अरू संगठनले उम्मेदवारी दर्ता गरेका छन् । नेविसंघले भने आफूलाई निषेध गरेर क्याम्पस प्रशासन एकलौटी ढंगले अघि बढेकाले मनोनयन दर्ता गर्न नपाएको गुनासो गरेको छ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले नेविसंघलगायत सबै विद्यार्थी संगठनलाई समेटेर चुनाव गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । त्यस्तै, क्षेत्रपाटीस्थित पिपुल्स क्याम्पसमा २४ फागुनका लागि तोकिएको स्ववियु चुनावका लागि नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी (प्रचण्ड) लगायतका संगठनले मनोनयन दर्ता गरेका थिए । आयोगको पछिल्लो निर्देशनले सो क्याम्पसको चुनाव पनि अन्योलमा परेको छ ।
नयाँ पत्रिकामा महेश तिमल्सिनाले लेखेको खबर ।

प्रतिक्रिया