Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

विद्यालय तहको अन्तिम परीक्षा : ऐनमा एउटा, व्यवहारमा अर्को

आइतबार, २२ फागुन २०७३

भक्तपुर - ऐनले विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ का लागि तोकेको छ । ब्यवहारमा भने कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई विद्यालय तहको अन्तिम परीक्षा भन्दै तयारी तिब्र छ । यति मात्रै हैन, गत बर्ष देखिनै गे्रडिङ्मा नतिजा प्रकाशन शुरु भएको छ । तर कतिपय विद्यालयका शिक्षकहरु पुरानै ढाँचामा विद्यार्थीलाई परीक्षाको तयारी गराईरहेका छन् ।

खास गरी निजी विद्यालयहरुले विद्यार्थीलाई विद्यालयमै थप कक्षा सञ्चालन गराएर बन्द प्रशिक्षण शैलिमा परीक्षा तयारी गराईरहेका छन् ।

'दुई चार बर्ष अघिसम्म त स्कुलमै खाना खाजा, सुत्ने बस्ने सारा प्रवन्ध गराउँथे अहिले त्यो क्रम त घटेको छ तर उही एसएलसीकै जस्तो गरेर विद्यार्थीलाई दवाव साथ परीक्षाको तयारी भईरहेको छ' एक अभिभावकले भने, 'परीक्षा प्रणालीमा सुधार गरी विद्यार्थीको सिकाइ स्तरमा वृद्धि गर्ने गरी ऐन परीवर्तन भएको भन्ने सुनेको त हो तर ब्यवहारमा त्यस्तो भएन ।'

शिक्षा ऐनमा भएको आठौं संशोधनसँगै विद्यार्थी, शिक्षक, अभिभावक तथा शिक्षाका सरोकारवालाले परीक्षा प्रणालीमा पनि सुधार हुने आशा गरेका थिए । ‘ऐनमा सुधारसँगै परीक्षा प्रणालीमा पनि सुधार हुने सोचेका थियौं, तर अहिले पनि एसएलसी परीक्षा छ, त्यही नाम मात्र फेरियो’ माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी गराइरहेका एक प्रअले भने । अन्य विद्यालयले पनि सोही अनुसार तयारी गराइरहेको बताउँदै  उनले नाम मात्र फेरिएको परीक्षाको लागि आफू पनि त्यही तरिकामा अघि बढेको निर्धक्क बताए ।

‘शिक्षक, प्रअ, विद्यार्थीले एसईई परीक्षालाई एसएलसी जस्तै नै ठानिरहेका छन्, यस्तो हुनुमा राष्ट्रिय परीक्षा बोर्डको कमजोरी हो ।’ उनले भने ।

शिक्षा ऐन जारी भएपनि अन्य ब्यवस्थापकीय कार्य सम्पन्न हुन नसक्दा यो बर्ष परीक्षा बोर्डले नगरी साविकको परीक्षा नियन्त्रण कार्यालयलेनै कक्षा १० को परीक्षा सञ्चालन गर्ने गरी शिक्षा मन्त्रालयले निर्णय गरे अनुसार परीक्षा सञ्चालनको काम अघि बढेको हो । सोही अनुसार यो वर्षको कक्षा १० को परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ लाख ८३ हजार ६ सय ५२ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसईई परीक्षा सञ्चालनको  जिम्मा पाएको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार यो वर्षको परीक्षा अन्तर्गत नियमिततर्फ ४ लाख ६४ हजार ७ सय ४३ र एक्जाम्टेडतर्फ १८ हजार ९४९ जना विद्यार्थी सहभागी हुने भएका हुन् ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षामा २ लाख ३८ हजार २ स ८९ छात्र र २ लाख ४५ हजार ३ सय ६६ छात्रा सहभागी हुने जानकारी दिए ।

चैतको ३ गतेदेखि हुने परीक्षाको तयारी अन्तर्गत जिल्ला जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पठाइसकेको जनाउँदै उनले जिल्लामा परीक्षा सञ्चालनको लागि आवश्यक तयारी गर्न निर्देशन दिएको दिइसकिएको बताए । गत वर्षबाट ग्रेडिङ परीक्षा प्रणालीबाट नतिजा निकालिएको थियो । सो नतिजाबाट असन्तुष्ट भएर ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीले पनि परीक्षामा सहभागिता जनाउँदैछन् । ग्रेड वृद्धिमा सहभागी हुने विद्यार्थीलाई पनि समान प्रकृतिको प्रश्नपत्र दिइने परीक्षा नियन्त्रक रेग्मीको भनाइ छ ।

प्रतिक्रिया