Edukhabar
मंगलबार, ११ मंसिर २०८१
विचार / विमर्श

गुरु

शनिबार, २६ असार २०७२

कविकै आवाजमा वाचन सहित 

- देवी नेपाल गजल र छन्द कविता लेखन र वाचनमा प्रतिनिधि नाम हो । सुरिलो र गहकिलो स्वरमा उनले छन्द कविता वाच गर्दा स्रोता दर्शक सास रोकेर उनको कविता सुन्छन् । शिक्षण पेशामा आवद्ध नेपालका माटो र मुटु, छन्द पराग, * लगायत दर्जनौं सिर्जनात्मक तथा विद्यालय विश्वविद्यालयका सहायक पुस्तक प्रकाशित छन् । यसपटक हामीले उनको गुरु कविता प्रस्तुत गरका छौं ।

 

 

गुरुमा ज्ञानको ज्योति चम्किलो जब बन्दछ

धर्तीले जन्मको सार पूर्ण भो अनि भन्दछ 

एक एक गरी ज्ञान शिष्यमा सर्न थाल्दछ

त्यागको तेज हो कस्तो ! ढुङ्गो पनि पगाल्दछ ।

 

आफू जलेर धर्तीमा उज्यालो गुरु छर्दछन्

आफू गलेर मट्टी झैँ मूर्ति निर्माण गर्दछन् 

जसको स्नेहका सामु अरूको स्नेह व्यर्थ छ

जसको त्याग देखेर धर्ती माथ झुकाउँछ ।

 

दृष्टिहीन भानु गुरु आँखा दिलाउँछन्

बोल्न सक्दैन त्यो चन्द्र गुरु बोल्न सिकाउँछन् 

हिँड्न सक्दैन यो धर्ती गुरु खुट्टा लगाउँछन्

गुरु, आमा समानै हुन् दोस्रो जन्म दिलाउँछन् ।

 

उनी हुन् रविका छाया उज्यालो नित्य छर्दछन्

मान्छे ! मानवका लागि बन मानव भन्दछन् 

दुःखकष्ट परे सामु जलाई भष्म पार्दछन्

अपमान सही लाखौँ मान्छेलाई सपार्दछन् ।

 

गुरुका मनमा चोट परे हिमाल झुक्दछ

गुरुका नेत्रमा आँसु देखे समुद्र सुक्दछ 

गुरुशिष्य भए द्वेषी छातीमा चल्छ हुन्डरी

सिसा झैँ फुट्छ त्यो नाता फेरि जोडिन्न क्यै गरी ।

 

गुरु रातसँगै लड्छन् उज्यालो दिन पार्दछन्

गुरु ढुङ्गासँगै खेल्छन् अनि माटो बनाउछन् 

उजाड भूमिमा आई फूल रोप्छन् निरन्तर

गुरु हुन् सृष्टिका गाथा गुरु हुन् ज्ञानसागर ।

 

गुरु हुन् कार्यले माझी डुङ्गा तार्छन् निरन्तर

छोड्दछन् पसिना धारा यात्री उद्धार खातिर 

माझी हो वृद्ध भै ढल्छ, डुङ्गा डुब्छ कुनै दिन

सम्झिनै पर्छ यात्रीले दियो सुन्दर जीवन ।

 

छन्द : अनुष्टुप्

कवि नेपालकै स्वरमा यो कविता सुन्न चाहनु हुन्छ भने तलको लिंकमा क्लिक गर्नुस्

https://www.youtube.com/watch?v=rfCvw4SJYgE

* कवि नेपालको पुस्तकमा, सुसेली र सुस्केरा पनि पर्न गएकोले सच्याईएको छ । स.

प्रतिक्रिया