काठमाडौं १९ फागुन/ विद्यार्थी संगठनहरूको अवरोधले प्रमुख क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अवरुद्ध हुन पुगेको छ । प्रमुख दलका भ्रातृ संगठनहरूले आफ्नो पकड जमाउने र पकडबाहिर रहेका क्याम्पसमा चुनाव हुन नदिने रणनीति लिएपछि त्रिविका अधिकांश आंगिक क्याम्पसमा चुनाव स्थगित भएको हो । फागुन १८ गते तोकिएको तालिकाअनुसार त्रिविका ६० आंगिक क्याम्पसमध्ये २१ वटामा मात्र चुनाव भएको छ ।
‘भरमग्दुर प्रयासपछि आंगिकमध्ये २१ वटा क्याम्पसमा मात्र स्ववियु चुनाव गराउन सफल भयौं,’ त्रिवि शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीले भनिन्, ‘आज (बुधबार) एउटा क्याम्पसको मात्र नतिजा सार्वजनिक हुन सक्यो । बाँकीमा भोलि बिहीबार हुन्छ । सम्बन्धनका क्याम्पसमा पनि चुनाव भएको छ ।’ बुधबार देशभरिका करिब दुई सय क्याम्पसमा स्ववियु चुनाव भएको त्रिविले जनाएको छ । चुनाव भएका आंगिक क्याम्पसमध्ये पुल्चोक इन्जिनियरिङ क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले विजय पाएको छ ।
राजधानीका त्रिवि केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, शंकरदेव, पद्मकन्या, सरस्वती, पब्लिक युथ, अमृत साइन्स, महेन्द्ररत्न ताहाचल, नेपाल कमर्स, पाटन संयुक्त, नेपाल ल, विश्वभाषालगायत आंगिक क्याम्पसमा चुनाव हुन सकेन । सबैभन्दा बढी विद्यार्थी चाप हुने भएकाले आंगिकलाई महत्त्वका साथ लिने गरिएको छ । बानेश्वर क्याम्पस, पशुपति क्याम्पस, वाल्मीकि, ग्रामीण आदर्श, एनआर कलेजमा पनि चुनाव स्थगित भयो । उपत्यका बाहिरका मधेसी विद्यार्थी संगठनहरूको अवरोधले गर्दा जनकपुरस्थित रारा बहुमुखी क्याम्पस, पर्साको ठाकुरराम क्याम्पस, विराटनगरको महेन्द्र मोरङ क्याम्पस, राजविराजको महेन्द्र विन्देश्वरी क्याम्पस, नेपालगन्जको महेन्द्र क्याम्पसमा स्ववियु चुनाव हुन नसकेको आरोप लगाएका छन् । पोखराको पृथ्वीनारायण क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, कञ्चनपुरको सिद्धनाथ बहुमुखी क्याम्पसमा समेत चुनाव भएन ।
विद्यार्थी संगठनले आफ्नो पकड कमजोर रहेका क्याम्पसमा अवरोध गरेकाले महत्त्वपूर्ण ठानिएका क्याम्पसमा चुनावी प्रक्रिया अघि बढ्न सकेन । ‘विद्यार्थी संगठनले पराजय स्विकार्नुपर्छ भनेर चुनावी प्रक्रिया अवरुद्ध गरे,’ एक पूर्वविद्यार्थीले भने, ‘अर्कोतर्फ नेविसंघको आन्तरिक गुट/उपगुटमा भागबन्डा नमिलेकाले पनि आंगिक क्याम्पसहरूमा चुनाव हुन सकेन ।’
नेविसंघ महामन्त्री सरोज थापाले आन्तरिक कारणले केही क्याम्पसमा चुनाव हुन नसकेको स्विकारे । ‘नेविसंघ मात्रै दोषी छैन, तराईमा मधेसी मोर्चा सम्बद्ध विद्यार्थीहरूले अवरोध गरे,’ उनले भने । नेत्रविक्रम चन्द तथा मोहन वैद्य निकट विद्यार्थी संगठन, नयाँ शक्ति, सेमेस्टरवाला विद्यार्थीसमेतले तालाबन्दी गरेको उनले बताए । अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले नेविसंघको आन्तरिक द्वन्द्वले गर्दा चुनाव हुन नसकेको बताइन् ।
अखिल (क्रान्तिकारी) का प्रवक्ता सुरेन्द्र बस्नेतले आफ्नो संगठनले कुनै पनि क्याम्पसमा अवरोध पुर्याउने नीति नलिएको दाबी गरे । ‘हाम्रो संगठनले कुनै क्याम्पसमा तालाबन्दी र अवरोध पुर्याएको छैन,’ उनले भने, ‘कतिपय क्याम्पसमा हामीले जित्ने भएपछि अन्य संगठनले अवरोध गरे ।’ बुधबार साँझसम्म प्रमुख तीन संगठनले सार्वजनिक गरेको नतिजाअनुसार नेविसंघले स्ववियु अध्यक्षमा ७२ वटा क्याम्पस, अनेरास्ववियुले ६१ क्याम्पस र क्रान्तिकारीले ३५ वटा क्याम्पसमा विजय पाएको दाबी गरेका छन् । त्रिविले आधिकारिक घोषणा गर्न बाँकी छ ।
आधा मात्र मत खस्यो
भक्तपुर– भक्तपुरका २ क्याम्पसमा भएको स्ववियु चुनावमा आधा मात्र मत खसेको छ । १ हजार ६ सय ५६ मतदाता संख्या रहेको भक्तपुर बहुमुखी क्याम्पसमा ९ सय ८० मत खसेको क्याम्पस प्रशासनले जनाएको छ । सौहार्दपूर्ण वातावरणमा मतदान सम्पन्न भए पनि अपेक्षाअनुरूपको मत नखसेको क्याम्पस प्रमुख कृष्णप्रसाद पोखरेलले बताए । ‘कम्तीमा ७५ प्रतिशत मत खस्ने अपेक्षा गरेका थियौं, करिब ६० प्रतिशत मात्र खस्यो,’ उनले भने ।
सोमबार राति आगलागीपछि तनावग्रस्त सानोठिमी क्याम्पसमा पनि सामान्य रूपमै स्ववियु चुनाव सम्पन्न भएको छ । १ हजार ६ सय ५१ मतदाता रहेको सानोठिमी क्याम्पसमा ८ सय ६४ मत खसेको छ । ‘चुनावको अन्योलकै कारण पनि मतदान गर्ने विद्यार्थीको उत्साह कम भएको हो,’ क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले भने, ‘नियमित आउने विद्यार्थी कम हुनुले पनि मत थोरै खसेको हुनसक्छ, धेरै विद्यार्थी परीक्षा दिनका लागि मात्र पनि कलेज भर्ना हुने गरेका छन् ।’
कान्तिपुरमा प्रकाशित खबर
प्रतिक्रिया