Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

नयाँ पुस्ता उत्साहका साथ चुनावमा

बुधबार, १८ फागुन २०७३

काठमाडौं – सुरज लामाले आधा घण्टा लाममा बसेर मतदान गरे । कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत उनी मतदानका लागि पहिलेदेखि नै उत्साहित थिए । मतदान गरिसकेपछि उनी थप उत्साहित भए । ‘जीवनकै पहिलोपटक मतदान गरियो, त्यही भएर सुरुमा कस्तो, कस्तो लागे पनि पछि भने सहज भयो ।’

सितलमा बस्दा चिसो चिसो हुने घाममा बस्दा चरक्क हुने, हिउँद सकिएर तात्न थालेको फागुनको घाम !  बुधबार दिउँसो चर्केको घामको परवाह नगरी नयाँ पुस्ता नयाँ उत्साहका साथ स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सहभागि भएको छ ।

मध्य दिनको टण्टलापुर घाममा लाइन लागेपछि अन्तिम रुजु गर्ने ठाउँ पार गरेर हातमा मतपत्र लिएर भित्र जाँदा सुरुमा मतपत्र देखेर अलमलिएका उनी पछि भने आफूले खोजेको विद्यार्थीको नाम देखेपछि उत्साही भएको बताए । उनले विद्यार्थी र क्याम्पसको हितको लागि विद्यार्थीले उठाएका मुद्धाका विषयमा आफूले बुझेर राम्रो गर्ने सोच र अवधारणा ल्याएका विद्यार्थीको पक्षमा मतदान गर्न पाउँदा खुसीको सीमा नरहेको पनि बताए ।

उनले मात्र नभएर सानोठिमी क्याम्पसमा एमएड अध्ययन गरिरहेका अर्का विद्यार्थी सोना श्रेष्ठले पनि स्ववियु चुनावका कारण आफूलाई उत्साह मिलेको बताइन् । ‘८ वर्षपछि भएकोले पनि उत्साह मिलेको हो ।’ उनले भनिन् । उनले केही क्याम्पसहरुमा तालाबन्दीका कारण चुनाव नभए पनि आफ्नो क्याम्पसमा भने चुनाव भएकोबाट खुसी लागेको जनाइन् ।

‘अरुमा जस्तै गरी यहाँ पनि तालबन्दी होला कि भन्ने लागेको थियो, धन्न त्यो भएन, त्यसैले कारण पनि उत्साह मिलेको छ ।’ उनले विद्यार्थीको नेता चुन्न पाउने मतदानमा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् ।

भक्तपुर बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत विद्यार्थी प्रमोद फुयाँलले पनि  चुनावकै कारण आफू उत्साहित भएको बताए । ‘चुनाव भन्ने कुरा  पहिला आफूले सुनेको मात्र थिएँ, आज आफैले हेर्न पाइरहेको छु,’ उत्साहित हुँदै उनले भने, ‘चुनाव जित्नका लागि के के गर्दो रहेछ, बुझ्दैछु ।’

भक्तपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सरोजकुमार तिमिल्सिनाले पनि विद्यार्थीको बाक्लो उपस्थिति देखिएको बताउँदै उत्साहजनक सहभागिता रहेको जनाए ।

थापाथली क्याम्पसका विद्यार्थी विकास थापाले भने ‘स्ववियु निर्वाचनमा मत हाल्न पाउनु क्याम्पसमा अध्ययन गर्ने हरेक विद्यार्थीको अधिकारको कुरा हो । स्ववियु विद्यार्थी कै हकहित र अधिकार रक्षा गर्ने विद्यार्थीकै संस्था हो । त्यसकारण त्यस्तो संस्थाका कार्यसमिति चुन्ने अधिकार विद्यार्थीमै हुनुपर्छ । निक्कै खुसी लागेको छ, आफू पढेदेखि नै चुनाव नभएको, अहिले भएको चुनावले खुसी लागेको छ ।’

चुनाव जित्नका लागि सबै संगठनहरुले भरमगदुर प्रयास गरिरहेका छन् । क्याम्पस– क्याम्पसहरुमा विद्यार्थी मात्र नभएर पार्टीका व्यक्तिहरु, युवा संगठनका व्यक्तिहरुको पनि बाक्लो उपस्थिति रहेको देखिएको छ । उनीहरु क्याम्पसमा आउनेहरुलाई फलानोमा भोट है भन्दै पर्चा पम्प्लेट दिने काम पनि गरिरहेका छन् ।

मतदान केन्द्रको अनुगमनमा क्याम्पस क्याम्पस घुमिरहेकी त्रिविकी रेक्टर गीता त्रिपाठीले चुनावमा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको बताइन् । ‘चुनावको आवश्यकता विद्यार्थीले गरेका छन् भन्ने कुरा क्याम्पसको माहौलबाट बुझ्न सकिन्छ, विद्यार्थी उत्साहित छन् ।’ उनले भनिन् ।

प्रतिक्रिया