काठमाडौं १८ फागुन/त्रिभुवन विश्वविद्यालयले मतपत्रकै आधारमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गराउने भएको छ । फागुन १८ गते बुधबार बिहान ९ बजेबाट हुने स्ववियु चुनाव मतपत्रबाट हुन लागेको हो । विद्यार्थी संगठनहरूले छिटो, छरितो र विश्वसनीय ढंगले मतदान हुने भन्दै विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोग गर्न माग गरेका थिए । त्रिविले आफ्ना ६० आंगिक क्याम्पस देशका विभिन्न ठाउँमा रहेकाले विद्युतीय मेसिन प्रयोग गर्न नसकेको हो ।
‘सम्बन्धित क्याम्पसले उम्मेदवार र मतदाताका आधारमा मतपत्र छपाउँछन्,’ त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सचिव गंगाबहादुर मगरले भने, ‘उम्मेदवारी मनोनयन भएका आंगिक र सम्बन्धनका क्याम्पसले मतपत्रकै आधारमा चुनाव सम्पन्न गर्दैछन् ।’ स्ववियु चुनावलाई लिएर तालाबन्दी गरेपछि अधिकांश क्याम्पसमा चुनाव स्थगित भएको छ । बुधबार हुने स्ववियु निर्वाचनमा आंगिक क्याम्पसमध्ये राजधानी उपत्यकाका ९ र उपत्यका बाहिरका १५ वटा क्याम्पसमा स्ववियु चुनाव हुने तयारी छ । उपत्यकाभित्र भक्तपुर बहुमुखी, सानोठिमी, थापाथली क्याम्पस, पुल्चोक क्याम्पस, महाराजगन्ज क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, जनप्रशासन, आयुर्वेद र ललितकला क्याम्पसमा स्ववियु चुनाव हुनेछ ।
सानोठिमी क्याम्पसमा आगलागी
भक्तपुर– भक्तपुरको सानोठिमी क्याम्पसमा मंगलबार बिहान आगो लागेको छ । क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा भएको आगलागीबाट महत्त्वपूर्ण कागजपत्र, टेबल, कुर्सीलगायत सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्ववियु चुनावको संघारमा भएको आगलागी शंकास्पद भएको र छानबिन भइरहेको महानगरीय प्रहरी वृत्त प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । बुधबार हुने स्ववियु चुनावलाई भने आगलागीले केही असर नगर्ने र नरोकिने क्याम्पस प्रशासनले जनाएको छ । आगलागीको घटनाप्रति विद्यार्थी संगठनहरूले भने एकअर्कालाई अरोप लगाउँदै आएका छन् ।
प्रहरीले आगलागीको खास कारण थाहा नभएको बताए पनि स्थानीय र विद्यार्थीहरूले भने आगलागी नभई आगो लगाइएको बताए । स्ववियु चुनावलाई प्रभावित पार्न आगो लगाइएको उनीहरूको भनाइ छ । सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी (प्रचण्ड) र नेविसंघले संयुक्त प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । यसैगरी एमाले निकट अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) ले संयुक्त गठबन्धन बनाएका छन् ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया