Edukhabar
बुधबार, ०५ मंसिर २०८१
गतिविधि

शिक्षा नियमावलीमा 'पर्ख र हेर'

सोमबार, १६ फागुन २०७३

काठमाडौं - निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) ले शिक्षा नियमावलीका सम्बन्धमा 'पर्ख र हेर' को नीति अख्तियार गर्ने भएको छ । राज्यले तय गर्ने नीति निजी क्षेत्रको लगानी संरक्षण र सम्बर्धनका सन्दर्भमा मैत्री हुनु पर्ने भन्दै तत्कालका लागि प्याब्सनले कुनै पनि अवधारणा सार्वजनिक नगर्ने नीति लिएको नवनिर्वाचित अध्यक्ष विजय सम्बाहाम्फेले बताए । प्याब्सनले यस अघिनै निजी क्षेत्र मैत्री नियमावली बनाउन भन्दै मन्त्रालयमा लिखित सुझाव बुझाईसकेको छ ।

शिक्षा ऐन जारी भएको ९ महिना सम्म पनि शिक्षा मन्त्रालयले नियमावली बनाउन सकेको छैन । अर्थ मन्त्रालयको राय आएपछि नियमावली कानून मन्त्रालयमा पुगेको छ । नियमावली आउन नसक्दा शिक्षा क्षेत्र अन्यौलमा छ । यही कारण आफूहरु पनि अन्यौलमा रहेको भन्दै प्याब्सनले निजी क्षेत्र प्रति उदार नियमावलीको अपेक्षा सहित पर्ख र हेरको नीति लिएको हो ।

प्याब्सनको १३ औं महाधिवेशनद्धारा निर्वाचित कार्यसमितिको पहिलो पत्रकार सम्मेलनमा प्याब्सनले उक्त धारणा सार्वजनिक गरेको हो ।

'निजी क्षेत्रको लागि अत्यन्तै प्रतिक्षित बनेको शिक्षा नियमावलीको अन्तिम प्रारुप तयार हुँदै गर्दा सम्पन्न महाधिवेशनले निर्माणाधिन शिक्षा नियमावलीमा निजी क्षेत्रको लगानीको सुरक्षा र लगानीमैत्री वातावरणको अपेक्षा सहित पर्ख र हेर भन्ने नीति तय गरेको छ' पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तब्यमा भनिएको छ, 'शिक्षा नियमावलीमा निजी क्षेत्र सम्बन्धि हुने ब्यवस्था र महाधिवेशनको सोही म्याण्डेड बमोजिम यो कार्यसमिति निर्देशित हुने छ ।'

समाज र राष्ट्र, शैक्षिक एवं सामाजिक विकासका विभिन्न क्षेत्रहरुमा प्याब्सन र सदस्य विद्यालयहरुले गरेको योगदान, लक्षित बर्गलाई सरकारी नीति नियमबमोजिम १० प्रतिशत छात्रवृत्ति, कर्णाली क्षेत्रको शैक्षिक उन्नयनका लागि १ प्रतिशत शिक्षा सेवा शुल्क, सार्वजनिक विद्यालयको व्यवस्थापन, विपद् व्यवस्थापन, जनताको अधिकारका लागि भएका आन्दोलनमा सक्रिय सहयोग गर्न कृयाशिल रहने प्याब्सनले जनाएको छ ।

चुनावका बेला आफूले उठाएका ऐजेण्डालाई राष्ट्रिय  परिषद्को बैठकबाट अनुमोदन गरेर नीति अख्तियारी गर्ने सम्बाहाम्फेले बताए ।

'चुनावका बेला हामीले उठाएका एजेण्डाका बारेमा बृहत छलफल आवश्यक छ, सबैको फिडब्याक लिएर २ बर्षे कार्यनीति बनाउने हाम्रो योजना छ' उनले भने 'शिक्षा मन्त्रालय र विभागसँग सहज ढंगले सहकार्य गर्दै अघि बढ्न चाहन्छौं, हामी राज्यबाट सम्मान हुन चाहन्छौं, राज्यलाई सहयोग पुर्याउँदै पेशा ब्यवसायको संरक्षणको निमित्त कृयाशिल हुने हाम्रो योजना छ ।'

प्याब्सनले फागुन २७ र २८ गते काठमाडौंमा परिषद् बैठक राख्ने तय भएको महासचिव राजेन्द्र बानियाँले बताए । प्रदेश र जिल्लाका अध्यक्ष र सचिवको सहभागिता रहने उक्त बैठकले नीतिगत विषय पारित गर्ने उनले बताए ।   

पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष डीके ढुङ्गानाले ब्यवसायिक र पेशागत मर्यादा बुझेको टिम निर्वाचित भएकोले प्याब्सन थप गतिशील हुने दावि गरे । गत ९ र १० गते काठमाडौंमा भएको प्याब्सनको महाधिबेशनले आगामी २ बर्षको लागि सम्बाहाम्फेको नेतृत्वमा ६७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो ।

प्रतिक्रिया