भक्तपुर - मध्यमाञ्चलका जिल्ला बाहेक अन्य क्षेत्रमा कक्षा १० को अन्तिम परीक्षा माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि आवश्यक प्रश्नपत्र पुर्याई सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
'मनाङ्मा आजै लम्जुङ्बाट पुर्याईदैंछ, पाल्पामा भर्खरै पुर्याईयो' सोमबार विहान एडुखबरसँग कुरा गर्दै उप नियन्त्रक गेहनाथ गौतमले भने, 'मध्यमाञ्चलका लागि आवश्यक प्रश्नपत्र छपाईको काम जारी छ, अन्य क्षेत्रमा पुर्याईसकियो ।'
प्रश्नपत्र छाप्न जनक शिक्षा सामग्री केन्द्रको गोप्यमा एक महिना अघि छिरेका नियन्त्रक अम्बिकाप्रसाद रेग्मी मध्यमाञ्चलको सबै प्याकिङ् सकेपछि एक दुई दिनमै बाहिर आउने गौतमले बताए ।
आगामी चैत ३ गतेबाट शुरु हुने कक्षा १० को अन्तिम परिक्षा यस अघिकै जस्तो क्षेत्रीय रुपमा सञ्चालन हुने छ । जसका लागि यस अघि जस्तै हरेक क्षेत्रको फरक फरक प्रश्नपत्र तयार गरेर ढुवानी गरिएको हो ।
केन्द्रमा तयार हुने प्रश्नपत्रको हरेक प्याकेटमा लाह छाप लगाएर सम्बन्धित जिल्लामा पठाईन्छ । प्रहरीको सुरक्षा स्कटिङ्मा परीक्षा नियन्त्रण कार्यालय र जिल्ला परीक्षा समन्वय समितिका प्रतिनिधि सहितको उपस्थितीमा जिल्लाका लागि आवश्यक प्रश्नपत्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सुरक्षित तवरमा राखिन्छ ।
उक्त भण्डारणको भर्पाई जिल्ला शिक्षा अधिकारीलाई बुझाईन्छ । परीक्षा अघि समितिका प्रतिनिधि सहितको उपसिथ्तीमा बल्ल उक्त पकेट खोलेर सम्बन्धित केन्द्रमा प्रश्न पत्र पठाईन्छ ।
शिक्षा ऐनले विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुने ब्यवस्था गरे पनि ऐन लागू भएको पहिलो बर्ष अन्य आवश्यकीय तयारी नसकिएको भन्दै पुरानै पद्धतीबाट परीक्षा र नतिजा प्रकाशन गर्ने गरी शिक्षा मन्त्रालयले निर्णय गरेको थियो । यो बर्ष कक्षा १० को अन्तिम परीक्षामा झण्डै ५ लाख विद्यार्थी सहभागि हुँदै छन् ।
प्रतिक्रिया