Edukhabar
शनिबार, ०५ असोज २०८१
विचार / विमर्श

शिक्षक तालिम : किन पुग्दैन कक्षा सम्म ?

आइतबार, १० साउन २०७२

- लवदेव भट्ट / विद्यालयको नतिजा नराम्रो आउँदा कुनै पनि शिक्षकले आफ्नो कमजोरीको कारण यस्तो भयो भनेर स्विकारेको देखिएन जवकि राम्रा विद्यालयका शिक्षकहरुले हामीले राम्ररी पढाएर राम्रो नतिजा आएको हो भनेका थिए । अनुगमन गरेका करिब तिन दर्जन विद्यालयहरु मध्ये केहि विद्यालयमा मात्र शिक्षकहरुले सामाग्री सहितको सिकाइ सहजिकरण गरे, बाँकि सबैमा किताबकै भर, आफ्ना कमजोरि नै थाहा नपाउने व्यक्तिवाट सुधारको अपेक्षा गर्न सकिदैन । जिम्मेवार शिक्षकबाट कमजोर शिक्षकले, प्रभावशालि प्रअबाट कमजोरले र राम्रा सामुदायिक विद्यालयहरुवाट कमजोर विद्यालयहरुले सिक्ने वातावरण आवश्यक

पेशाकर्मिको पेशागत क्षमता उन्नयनको लागि तालिम एउटा महत्वपुर्ण साधन हो । शिक्षक तालिमको सन्दर्भमा सरकारले विगत देखि नै अरवौं रुपैंया लगानी गरेको देखिन्छ ।  के यसको अपेक्षित प्रतिफल प्राप्त भयो ? तालिमको सकारात्मक पाटो के ? कसरी यसलाइ अपेक्षा अनुरुप वनाउन सकिन्छ ? यसमा कमिहरु के के रहे ? सुधार्न सकिने पाटो के छ ? भन्ने सन्दर्भमा आम सरोकारवालाका थुप्रै प्रश्नहरु रहने गरेको देखिन्छ ।
सैद्धान्तिक रुपमा हेर्दा शिक्षकको पेशागत क्षमता वा सक्षमता विकासका विभिन्न  तरिकाहरु हुने गर्दछन् । त्यस मध्ये तालिम एउटा मात्र तरिका हो । नेपालमा शिक्षक तालिम प्रदायक थुप्रै संस्थाहरु रहेका छन् । उच्च माध्यमिक शिक्षा परिषद्वाट संचालित शिक्षा विषय, त्रिविवि लगायतका विश्वविद्यालयहरुले संचालन गरेका वि.एड तथा एम.एड कार्यक्रमहरु पुरा गरी प्रमाणपत्र प्राप्त गरेका जनशक्तिलाइ तालिम प्राप्त शिक्षकको रुपमा लिने गरिएको छ । यसले खास गरी पुर्व सेवाकालिन शिक्षकलाइ तालिम दिएको मानिन्छ । यो तालिम हो कि होइन ? भन्ने सन्दर्भमा पनि विवाद रहेको देखिन्छ । त्यस्तै शिक्षा मन्त्रालय अन्तरगत शैक्षिक जनशक्ति विकास केन्द्रले सेवाकालिन शिक्षक तालिमहरु संचालन गरि राखेको छ । यसवाट करिव ९८ प्रतिशत शिक्षकहरु तालिम प्राप्त भइ सकेको अवस्था छ ।

यसको अलावा शिक्षकहरुलाई छोटो अवधिका थुप्रै तालिमहरु दिइ सकेको अवस्था छ । यसले एक जना शिक्षकसंग छोटो तथा लामो अवधिका तालिमहरु गरेर दर्जनौ प्रमाण पत्र रहेको र राज्यको अरवौंको वजेट लगानी भएको अवस्था छ । यि निकायहरुले सामुदायिक विद्यालयका शिक्षकहरुलाई केन्द्रित गरेर तालिम कार्यक्रमहरु संचालन गर्ने गरेका छन् । निजी विद्यालयहरुका शिक्षकहरु यस्ता तालिमहरुवाट वञ्चित रहेको अवस्था छ ।

सामुदायिक र संस्थागत विद्यालयहरुको एसएलसीको नतिजालाइ विश्लेषण गर्दा निजी विद्यालयहरुको भन्दा संस्थागत विद्यालयहरुले अत्यन्तै राम्रो नतिजा ल्याएको देखिन्छ । यसको कारण के ? यि दुवै खाले विद्यालयहरुको विचको नतिजाको खाडलले शिक्षक तालिम कार्यक्रमहरु माथि पनि प्रश्न चिन्ह लगाउने गरेको देखिन्छ । प्राय सवै शिक्षकहरु तालिम प्राप्त हँुदा पनि वर्षेनी एसएलसीको नतिजा खस्किनाको कारण के होला ? के शिक्षकहरुलाइ तालिम नदिएको भए यो नतिजा राम्रो आउँथ्यो त ? के तालिमको अपेक्षा अनुरुप प्रशिक्षकहरुले त्यसको मर्म शिक्षकहरु सम्म पुरयाउन सकेका छन् त ? के तालिमको विषयवस्तु शिक्षकको आवश्यकतालाइ सम्बोधन गर्ने तरिकाको थियो ? के शिक्षकले तालिममा विद्यार्थीहरुको सिकाइ उपलव्धि अभिवृद्धि गर्ने सिपहरु सिकेर विद्यालयहरुमा गए ? के सिकेका सिपहरु शिक्षकले बालबालिकाको सिकाइ उपलब्धि उन्नयनमा उपयोग गर्न सफल भए त ? कि अब तालिम आवश्यक छैन ? आवश्यक छ भने कस्तो किसिमको तालिम चाहिन्छ ? यि सवै प्रश्नको उत्तरको खोजि अहिले मुख्य आवश्यकता हो ।

शिक्षकको सिकाउने क्षमता वढाउने विभिन्न तरिकाहरु हुन सक्छन् ।

पहिलो तरिका

आफुले पढ्दा खेरि पढाउने शिक्षकको तरिकावाट शिक्षकको क्षमतामा प्रभाव पार्ने गर्दछ । पढ्दा राम्रा शिक्षकहरुले पढाएको भए शिक्षकको क्षमता राम्रो हुन्छ भने नराम्रा शिक्षकहरुले पढाएको भए त्यति सक्षम शिक्षक बन्ने सम्भावना कम हुन्छ । त्यसैले हामिले अहिले राम्रा शिक्षकहरु विकास गर्न सकेनौ भने भविष्यको पुस्ता पनि राम्रा शिक्षक पाउनवाट वञ्चित हुने सम्भावना त्यति नै वढी हुन्छ । त्यसैले अहिलेको शिक्षक विकासका कार्यक्रमहरु भविष्यको शिक्षक विकाससंग पनि अप्रत्यक्ष रुपमा जोडिएका छन् ।

दोस्रो तरिका

राम्रो शिक्षकले शिक्षण गरेको कक्षा अवलोकन गरेर पनि कमजोर शिक्षकमा शिक्षण गर्ने सिपको विकास गराउन सकिन्छ ।

तेस्रो तरिका

शिक्षक आफैले स्वअध्ययन गरेर, विभिन्न शैलिको प्रयोग गरेर तथा सुचना तथा संचारका विभिन्न प्रविधिको उपयोग गरेर आफुलाइ आवश्यक पर्ने सिपको आफै विकास गराउन सक्दछ ।

चौथो तरिका

तालिम कार्यक्रमहरु मार्फत शिक्षकको क्षमता वृद्धि गराउने गरेको पाइन्छ । यसको साथसाथै तालिमको विषयवस्तु, प्रशिक्षणको तरिका, प्रशिक्षकको योग्यता र क्षमता, शिक्षकको समस्या र तालिमको अपेक्षाको तालमेल, तथा शिक्षकको तालिमलाइ हेर्ने दृष्टिकोणले तालिमको प्रभावकारिता सुनिश्चित गर्ने गर्दछ । अव नेपालको सन्दर्भमा यि सवै कुराहरुको प्रभाव लेखाजोखा गर्ने प्रयास गर्नु अपरिहार्य देखिन्छ ।

सामुदायिक विद्यालयहरुको एसएलसीको नतिजालाइ चिरफार गर्नु पुर्व हामीले केहि अनुसन्धानका तथ्यहरु मनन् गर्नु पर्ने देखिन्छ । नेपालमै भएको एसएलसी सम्बन्धि एउटा अनुसन्धानले सक्षम प्रधानाध्यापक भएको विद्यालयको एसएलसी नतिजा राम्रो पाइयो भन्ने नतिजा देखाएको थियो । त्यस्तै अर्को अनुसन्धानले प्रति दिन थोरै पिरियड पढाउने शिक्षकले भन्दा प्रति हप्ता धेरै पिरियड पढाउने शिक्षकले पढाएका विद्यार्थीको एसएलसी नतिजा राम्रो देखाएको छ । नासाको प्रतिवेदनले पचास वर्ष भन्दा धेरै उमेर भएर पढाइ रहेका शिक्षकहरुले त्यति सन्तोषजनक नतिजा देखाउन नसकेको तथ्य प्रकाशमा ल्याएको छ । त्यस्तै विद्यार्थीले राम्रो नतिजा ल्याउन सक्छन् भनेर विश्वस्त भएको शिक्षकले राम्रो नतिजा देखाउन सक्छ भनेर एउटा अन्तराष्ट्रिय अनुसन्धानले देखाएको छ । यि तथ्यहरुले नेपालको विद्यालय शिक्षामा कसरी प्रभाव पारेको छ त ? यसमा पनि मनन् गर्नु आजको टट्कारो आवश्यकता हो ।

तालिमको कक्षाकोठामा प्रयोगको अवस्था हेर्ने सन्दर्भमा तनहुँ, लमजुङ र मनाङ जिल्लाका थुप्रै विद्यालयहरु घुम्दा थुप्रै नसोचेका तथ्यहरु प्राप्त भए । ति जिल्लाहरुमा संस्थागत भन्दा राम्रो एसएलसी नतिजा ल्याउने विद्यालयहरु पनि थुप्रै रहेका छन् । राम्रा रहेका विद्यालयहरुमा प्र.अ हरु क्षमतावान, लगनशील र धेरै समय दिन सक्ने रहेका, शिक्षकहरुमा टिमवर्कको संस्कृति रहेको, प्रत्येक महिना विद्यालयले विद्यार्थीको परीक्षा लिने र विषय शिक्षकले आवश्यकता अनुसार थप परीक्षा लिने र त्यहि अनुरुप कमजोर विद्यार्थीलाइ पृष्ठपोषण सहित चेक गरेको उत्तर पुस्तिका प्रदान गर्ने गरिएको देखियो ।

कतिपय विद्यालयहरुमा त विद्यार्थीलाइ होस्टेल राखेर पढाउने व्यवस्था पनि विद्यालयले नै गरेको देखियो । अधिकांश राम्रा भनिएका विद्यालयहरुमा कक्षा दशमा अंग्रेजी, गणित र विज्ञान विषयमा हरेक दिन विहान र वेलुका कोचिङ कक्षा सञ्चालन गरिएको पाइयो । त्यस्तै कतिपय विद्यालयमा कक्षा दश सम्ममै अंग्रेजि माध्यममा पठनपाठन हुने अवस्था देखियो । यस्ता विद्यालयहरुमा शिक्षकहरु सक्षम भन्दा पनि अत्यधिक मिहेनेति, जाँगरिला र मानव भएपछि समाजको लागि केहि न केहि राम्रो काम गर्नु पर्दछ भन्ने भावना भएको पाइन्छ ।

विडम्वना राम्रा भनिएका विद्यालयहरुमा पनि तालिमका सिपहरु अांशिक रुपमा मात्र प्रयोग हुने, कक्षा शिक्षण सहजिकरणमा परिवर्तन नभएको र भाषण कै भरमा कक्षा समय विताउने, समाग्री सहित सहकार्यात्मक सिकाइ सहजिकरण प्रकृृया नहुने, शिक्षकहरुले स्वअध्ययनवाट स्व लेखाजोखा गरी आफ्नो शैली परिवर्तन मार्फत बालबालिकाहरुमा सिकाइ  सहजिकरणको वातावरण सिर्जना भन्दा शिक्षणवाट परिक्षामा केन्द्रित भएर राम्रो नतिजा निकाल्न विद्यार्थीलाई अभ्यस्त र उत्प्रेरित गरिएको देखियो । यस्ता विद्यालयहरुमा अभ्यास, लगाव र उत्प्रेरणाको माध्यमवाट केहि हद सम्म भएपनि विद्यालयको एसएलसी नतिजा सुधार गरिएको देखियो ।

एसएलसीको नतिजा नराम्रो देखिएका विद्यालयहरुमा पनि केहि विशेषताहरु रहेको देखियो । यस्ता विद्यालयहरुमा किन विद्यार्थी धेरै अनुत्तिर्ण भए त भनेर प्रश्न गर्दा अधिकांश शिक्षकहरुले विद्यालयमा गरीब र तल्लो वर्गका बालबालिकाहरुको उपस्थितिलाइ फेल हुनुको मुख्य कारणको रुपमा लिएको देखिन्छ । यसवाट विद्यालयमा शिक्षकहरु बालबालिकाको उपलव्धि प्रति सकारात्मक नरहेको देखियो अर्थात राम्ररी सिकायो भने वालवालिकाले सिक्न सक्छन् भन्ने सकारात्मक मनोवृति नै नहुनु विद्यालयमा नराम्रो नतिजा देखिनुको एउटा कारण पो हो कि ?

त्यस्तै कतिपय शिक्षकहरुले हेड टिचर राम्रो नभएर, त कतिले अभिभावकको चासो नभए, कतिले विद्यालयमा टिमवर्क को संस्कृति नभएर, कतिले पुरस्कार दण्डको व्यवस्था नभएर, केहिले शिक्षा निति नै गलत भएर, कतिले शिक्षकको घरपायक जागिर भएर, धेरै जसोले अनुगमन नभएर र कतिले शिक्षकले राम्ररी नपढाएर विद्यालयको नतिजा नराम्रो आएको कुरा व्यक्त गरेको देखियो । तर कुनै पनि शिक्षकले आफ्नो कमजोरिको कारण विद्यालयको नतिजा कमजोर भएको भनेर स्विकारेको देखिएन जवकि राम्रा विद्यालयका शिक्षकहरुले हामिले राम्ररी पढाएर राम्रो नतिजा आएको हो भनेका थिए । यसले शिक्षकहरुको स्वलेखाजोखा र स्वअध्यन गरी स्वपरिवर्तन गरी अपेक्षीत प्रतिफल प्राप्त गर्नु पर्दछ भन्ने पाटो कमजोर रहेको देखियो ।

यस्ता विद्यालयहरुमा शिक्षकका कक्षा अवलोकन गर्दा सामान्य तोरिको बिरुवाको बारेमा शिक्षण गर्न पनि भाषण विधिको प्रयोग गरेको देखियो जवकि बाहिर खेतमा पुरै तोरि फुलेको तर किताबमा तोरिको बिरुवाका भागहरु पढाउन कालोपाटिमा शिक्षकले चित्र बनाएर सम्झाएको देखियो मैले अनुगमन गरेका करिब तिन दर्जन विद्यालयहरुमा केहि विद्यालयमा मात्र शिक्षकहरुले सामाग्रि सहितको सिकाइ सहजिकरण गरेकोे देख्ने अवसर पाइयो बाँकि सबैमा किताव मात्र शिक्षण गरिएको पाइयो ।

विडम्वना म गएका करिव शतप्रतिशत विद्यालयहरुमा पाठ्यक्रम राखेको थिएन र पाठ्यपुस्तक नै पाठ्यक्रमको पर्यायको रुपमा लिएको देखियो यो संयोग हो वा देशभरि को वास्तविकता सोचनीय विषय छ । निरन्तर विद्यार्थी मुल्याङ्कन र उपचारात्मक शिक्षण मार्फत सवैलाइ सिकाएर कुनै पनि बालबालिका फेल हुने वातावरण हुनु हुदैन भन्ने मान्यता विपरित नपढाइ सवैलाइ पास गर्नु पर्छ भन्ने धारणाको विद्यालयमा विकास भएको दुराअवस्था देख्दा झन् उदेक लाग्दो अवस्था छ । प्राथमिक तह देखि विद्यार्थीको मुल्याङ्कन गरी जग देखि नै बालबालिकालाइ बलियो बनाउन सके मात्र राम्रो नतिजाको अपेक्षा गर्न सकिने हो । बिडम्वना एसएलसीमा गएर शिक्षकले धेरै मिहिनेत गर्ने र फेल भए दशमा पढाउने शिक्षक मात्र दोषि हुने परिपाटि विद्यालयमा विकास हुदै गइराखेको रहेछ ।

अझ  सोचनीय विषय यस्ता धेरै विद्यालयहरुमा विद्यार्थीलाइ होम वर्क, क्लास वर्क नदिने र दिए पनि परिक्षण नगर्ने परिपाटि रहेको पाइयो । त्यस्तै निरन्तर परीक्षा लिएर आवस्यक पृष्ठपोषण दिने व्यवस्था पनि अत्यन्तै कमजोर रहेको देखिन्छ । यसो भन्दैमा सवै शिक्षकहरु यस्ता भएको अवस्था होइन राम्रा विद्यालयमा थोरै र नराम्रा विद्यालयहरुमा धेरै शिक्षकहरुको काम यस्तै शैलिको देखिएको हो । यसमा तालिमले सिकाएका सिपहरुको कक्षाकोठामा न्युन प्रयोग भएको यथार्थ हो तर तालिम उपयुक्त नभएर वा शिक्षक जिम्मेवार नभएर यस्तो भएको हो व्यापक चिरफार गरी आगामी कार्यक्रम सञ्चालन गर्नु पर्ने अवस्था पनि त्यतिकै अपरिहार्य छ ।

समग्रमा सवै शिक्षकहरु नराम्रा र गैर जिम्मेवार छैनन् जिम्मेवार शिक्षकबाट कमजोर शिक्षकले, प्रभावशालि प्रअबाट कमजोरले र मोडेलका रुपमा हरेक जिल्लामा रहेका राम्रा सामुदायिक विद्यालयहरुवाट कमजोर नतिजा भएका सामुदायिक विद्यालयहरुले सिक्ने वातावरण वनाउनु पर्दछ । यो वातावरण निर्माणका लागि शिक्षक स्वय, विद्यालय प्रशासन र अभिभावकले अग्रसरता लिनु पर्ने हुन्छ । त्यस्तै आम सरोकारवालाले अलिकति चौडा छाति वनाएर आफ्ना कमजोरिहरु केलाएर अलिकति भए पनि सुधार गर्नु जरुरी छ । आफ्ना कमजोरि नै थाहा नपाउने व्यक्तिवाट सुधारको अपेक्षा गर्न सकिदैन । त्यस्तै अवका तालिम कार्यक्रमहरुले कमजोर विद्यालयका शिक्षकहरुलाइ समेट्न सक्नु पर्दछ ।

यसका लागि विषयगत तालिमको साथसाथै शिक्षकहरुको उत्प्रेरणा बढाउने तालिमहरु प्रदान गर्नु  जरुरी छ । साथै शिक्षकको अनुगमन माथिल्लो निकायबाट होइन हरेक बालबालिकावाट हरेक समय भइ राखेको र उनिहरुको कामलाइ पुरस्कार र दण्ड पनि सम्मानको डिग्रिले सवै बालबालिकाले दिइ राखेका हुन्छन् । राम्ररी पढाउने शिक्षकलाइ विद्यार्थी र अभिभावकले धेरै सम्मान दिने र नराम्ररी पढाउने शिक्षकलाइ बेवास्ता हुन्छ भन्ने तथ्य उजागर गर्नु पर्ने देखिन्छ ।

भट्ट शैक्षिक तालिम केन्द्र तनहुँका प्रशिक्षक हुन् ।

प्रतिक्रिया