काठमाडौं ९ फागुन /नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रजातन्त्र दिवसको अवसरमा तेस्रो राष्ट्रिय पुस्तक मेला सुरु गरेको छ । प्रतिष्ठान र नेपाल पुस्तक विक्रेता तथा प्रकाशक संघको आयोजनामा बिहीबारदेखि प्रतिष्ठानको भवन परिसरमा मेला सुरु भएको हो ।
मेलाको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मेलाले पाठकहरूलाई आकर्षित गर्नुका साथै पठन संस्कृतिको विकासमा सहयोग पुर्याउने बताए । संघका अध्यक्ष पदम सिवाकोटी, प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, सदस्यसचिव डा. जीवेन्द्रदेव गिरी, संघका पूर्वअध्यक्ष वसन्त थापा, महासचिव लिखत पाण्डे लगायतले पुस्तक मेलाका बारेमा धारणा राखे ।
मेलामा प्रतिष्ठानका साथै साझा प्रकाशनसँगै विभिन्न निजी प्रकाशन गृहहरूको पनि सहभागिता छ । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको आयोजकले दाबी गरेको छ । मेला अवधिभर पुस्तक लोकार्पण तथा साहित्यिक विमर्शका विभिन्न कार्यक्रम समेत हुने बताइएको छ । मेला फागुन १४ सम्म चल्नेछ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया