Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

फर्जी विद्यार्थी पहिचानले पाठ्यपुस्तक खर्च बचत

आइतबार, ०८ फागुन २०७३

काठमाडौं ८ फागुन/सरकारले फर्जी विद्यार्थीका नाममा हुने पाठ्यपुस्तकको बजेट दुरुपयोग रोक्न अभियान सञ्चालन गरेपछि एकैवर्ष दुई करोड रुपैयाँभन्दा बढी बचत भएको छ । सरकारले कडाइ गरेपछि २ लाख विद्यार्थी संख्या समेत घटेको छ ।

अघिल्ला वर्षहरुमा फर्जी विद्यार्थीका नाममा रकम दुरुपयोग हुन थालेपछि वास्तविक विद्यार्थी पहिचान गर्न ‘सत्यापन प्रणाली’ लागू गरेको थियो । यो प्रणालीको सफलतासँगै पाठ्यपुस्तकको नाममा हुने दुरुपयोग कम भई पुस्तकको लागि आर्थिक भार समेत कम भएको छ ।

सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीको पाठ्यपुस्तक खरिद गर्न गत वर्ष १ अर्ब ८५ करोड विनियोजन गरेकोमा यो बर्ष १ अर्ब ८३ करोड रुपैयाँ मात्रै विनियोजन गरिएको छ ।

यो वर्ष भर्ना भएका विद्यार्थीको संख्या बढे पनि पाठ्यपुस्तको रकम घट्नुले अघिल्ला वर्षहरुमा सुविधाको चरम दुरुपयोग भइरहेको देखिन्छ । विभागले प्रत्येक विद्यार्थीका अभिभावकको नाम, ठेगाना, हाजिरी लगायतका जानकारीलाई अनलाइन प्रणालीमा राख्ने व्यवस्था सुरु गरेका कारण फर्जी विद्यार्थी र उनीहरुको पाठ्यपुस्तकका लागि उपलब्ध गराउनुपर्ने रकम घटेको हो । हाल शिक्षा विभागले प्रत्येक विद्यालयमा विद्यार्थीको अवस्था र संख्या सिडीमा सुरक्षित गरेर राख्ने गरेको छ ।

सरकारले कक्षा १० सम्मका विद्यार्थीका लागि निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने योजनाअनुसार यो बर्षका लागि सो मूल्य बराबरको रकम विद्यालयमा पठाएको हो । यो रकमले देशभरका ५७ लाख ५७ हजार विद्यार्थीका लागि पुस्तक खरिद गर्न सकिने शिक्षा विभागले जनाएको छ ।

शिक्षा मन्त्रालयले विभागलाई पुस्तक खरिदका लागि विद्यार्थी संख्याका आधारमा रकम निकासा गरी जिल्ला शिक्षा कार्यलयमा पठाउन यसअघि नै परिपत्र गरेको थियो । शिक्षा कार्यालयले पनि शैक्षिकसत्र सुरु हुने जिल्लाका विद्यालयको खातामा पठाइसकेको विभागका शैक्षिक सामग्री व्यवस्थापन शाखा उपनिर्देशक देवीराम अर्यालले बताए ।

सार्वजजिक विद्यालयका विद्यार्थीले समयमा नै पाठ्यपुस्तक पाउन् भन्नका लागि दोस्रो चौमासिकको रकम पुसमा नै निकासा गर्न ७५ वटै शिक्षा कार्यालयलाई परिपत्र गरिसकेका छौं,” उपनिर्देशक अर्यालले भने, “विद्यार्थीको संख्या व्यवस्थापन समिति, प्राध्यानाध्यापक, स्रोत व्यक्ति र निरिक्षकले यकिन गरेपछि शिक्षा कार्यलयले निकासा गर्ने गरी व्यवस्था मिलाइएको छ ।”

यसअघि विद्यार्थीको टाउको गनेर पाठ्यपुस्तकको रकम विद्यालयलाई उपलब्ध गराइँदै आएको थियो । सरकारले यो वर्ष सबैभन्दा बढी कक्षा १ का विद्यार्थीको पाठ्यपुस्तकका लागि लगानी गरेको छ ।

यस कक्षाका ८ लाख २६ हजार ८२१ विद्यार्थीका लागि प्रति सेट २७०.६० रुपैयाका दरले देशभर २२ करोड ३७ लाख ३७ हजार रुपैयाँ विद्यालयमा निकासा गरेको छ । यसरी नै कक्षा बढदै जादा बिद्यार्थी संख्या र लगानी पनि घटदै गईरहेको शिक्षा विभागले जनाएको छ ।

बिभागले कक्षा ११ र १२ का विद्यार्थीका लागि सामूहिक रुपमा पाठ्यपुस्तक खरिद गर्न समेत बजेट निकासा गरिसकेको जनाएको छ । कक्षा ११  र१२ लागि एकमुष्ठ पुस्तकालय व्यवस्थापन शीर्षकमा बजेट दिँदै आएको छ ।
गोपाल संग्रौलाले कारोबारमा लेखेको खबर ।

प्रतिक्रिया