काठमाडौं - संयुक्त विद्यार्थी संघर्ष समितिले पूर्ण समानुपातिक र समावेशी सिद्धान्तको आधारमा स्ववियु निर्वाचन नभए निर्वाचन नै बहिष्कार गर्ने चेतावनी दिएको छ ।
बिहिवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर समितिले यस्तो चेतावनी दिएको हो । समितिले अघि सारेका माँगहरुमा पूर्ण समानुपातिक–समावेशी निर्वाचन प्रणाली लागु गर्नुपर्ने, सिनेटको सिण्डिकेट खारेजी गर्नुपर्ने, फर्जी विद्यार्थीको भर्ना खारेज र सार्थक वार्ताको वातावरण निर्माण लगायत रहेका छन् । समितिले आफूहरुले अघि सारेका मागहरू पुरा नगरी त्रिविले निर्वाचन गरे प्रतिकार गर्ने चेतावनी दिएको छ ।
अखिल (क्रान्तिकारी) का उपाध्यक्ष लालबहादुर तामाङले भने, ‘हिजो रेक्टरको गाडी जल्यो, अब गाडि जलाउँदैनौ, भिसीलाई १० मिनेटभित्र गिरफ्तार गर्ने तागत हामीसँग छ, हामी स्ववियू निर्वाचन बिरोधी होईनौँ, हाम्रा जायज मागहरू पुरा गर्न किन त्रि.वि आलटाल गरिरहेको छ ? आफ्ना मागहरुको अवज्ञा गर्ने जो कोहीलाई नछाड्ने उनको दावी छ ।
त्यस्तै संघीय विद्यार्थी यूनियन लिम्बुवानका अध्यक्ष जेन्टल लावतीले समितिले अघि सारेका मागहरूमा त्रि.वि बेखबर भएकाले आगामी फागुण ८ गतेदेखि सघर्ष समिति बाध्य भएर आन्दोलनमा उत्रिने बताए ।
राप्रविसंघका अध्यक्ष उज्ज्वल पोखरेलले स्ववियू निर्वाचनको मिति सार्नुपर्नेमा जोड दिए । विगतमा नेपाली काँग्रेस, एमालेका महाधिवेशनको समयमा स्ववियू निर्वाचन सारेको ईतिहास सम्झाउँदै उनले आफ्नो पार्टी राप्रपाको एकता महाधिवेशनका कारण निर्वाचनको मिति सार्न माग गरे ।
कार्यक्रममा नेपाल विद्यार्थी मञ्चका अध्यक्ष रोशनकुमार राय, समाजवादी विद्यार्थी संघका अध्यक्ष रामविर यादव, विद्यार्थी मञ्चका अध्याक्ष केशी यादव, आदिवासि जनजाति विद्यार्थी संगठनका अध्यक्ष दोझाङ् शेर्पा, नेपाल विद्यार्थी मोर्चाका अध्यक्ष पूर्ण रानामगर, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रनटका अध्यक्ष जेपी यादव लगायतले आफ्ना बिचार राखेका थिए ।
प्रतिक्रिया