Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

प्रअको लापरबाही र राजनीतिक खिचातानीले विव्यस गठनमा बाधा

विहीबार, ०५ फागुन २०७३

काठमाडौं ५ फागुन/शिक्षा विभागले तोकेको समयसीमाभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न जिल्लाका सामुदायिक विद्यालय अटेरी देखिएका छन् । माघ मसान्तसम्मको समयसीमा घर्किसक्दा अझै तीन दर्जन विद्यालयले समिति गठन गरेका छैनन् ।

समिति गठन नगरेका विद्यालयलाई अनुदानसम्मको सेवा रोक्न विभागको परिपत्र आएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । पाँचगाछीस्थित त्रिभुवन माविले अहिलेसम्म अभिभावक भेला नै बोलाएको छैन । बुधबारेस्थित अर्को त्रिभुवन माविले भने फागुन ५ गतेलाई अभिभावक भेला डाकेको छ । प्रधानाध्यापकको लापरबाही र राजनीतिक खिचातानीले समिति गठन अल्झिँदा विद्यालय सरकारी अनुदानबाट विमुख हुने अवस्थामा पुगेका छन् । शिक्षा कार्यालयका अनुसार झापामा ३ सय ६५ सामुदायिक र ४ सय २८ वटा संस्थागत (बोर्डिङ) विद्यालय छन् ।
१७ वटा स्रोत केन्द्रमध्ये तीनवटाका सामुदायिक विद्यालयले निर्धारित मितिभित्रै समिति गठन गरिसकेका छन् । बाँकी १४ वटा स्रोत केन्द्रका ३३ वटा विद्यालयको बाँकी छ ।
समिति गठन भए पनि असन्तुष्ट समूहले दमकस्थित सरस्वती माविको प्रधानाध्यापक कक्षमा तालाबन्दी गरेको छ । समितिमा कांग्रेस र एमालेका व्यक्ति मात्रै चयन गरिएको भन्दै समूहले पुन: अभिभावक भेला बोलाएर पुनर्गठनको माग गरेको छ । फागुन १ गते तालाबन्दी गरेको उक्त समूहले सात दिनभित्र भेला नबोलाए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।
समिति गठन हुन नसकेका अधिकांश विद्यालयमा राजनीतिक चलखेल मुख्य कारण रहेको स्रोत व्यक्ति बताउँछन् । राजनीतिक शक्तिका आडमा आकांक्षी धेरै हुँदा पाँचपटकसम्म अभिभावक भेला बोलाए पनि समिति गठन गर्न नसकिएको उनीहरूको भनाइ छ । दमक स्रोत केन्द्रमा २१ वटा सामुदायिक विद्यालय छन् ।
तीमध्ये दमक–१९ को सगरमाथा प्राविमा अझै समिति गठन हुन नसकेको स्रोत व्यक्ति गणेश पौडेलले जानकारी दिए । समिति गठन हुन नसकेका अन्य विद्यालयमा गौरादह स्रोत केन्द्रअन्तर्गत गौरादहको जनता मावि तथा कोहबराको भद्रकाली मावि र जनज्योति मावि पनि छन् ।
पाथीभरा आधारभूत विद्यालय, खजुरगाछीको भगवती प्रावि, टाघनडुब्बाको डिल्लीराज मावि, शरणामतीको चप्रामारी प्रावि, चन्द्रगढीका जीवनज्योति आधारभूत विद्यालय र कृष्ण प्रावि, बाहुनडाँगीको जनता मावि, राजगढका पशुपति मावि र अमृत आधारभूत विद्यालय, शनिअर्जुनको लक्ष्मी मावि, बुधबारेको त्रिभुवन मावि, शान्तिनगरको गणेश मावि, धाइजनको बलभद्र जनता मावि, बनियानीको शिव प्रावि, पाठामारीको जानकी आधारभूत विद्यालय र देवी प्राविमा पनि समिति बनेका छैनन् । पथरियाको आमबारी प्रावि, घेराबारीको नवदुर्गा प्रावि, बालुबाडीको शिव मावि र जनज्योति प्रावि पनि त्यही सूचीमा छन् ।
अनारमनी स्रोत केन्द्रका ७ विद्यालयमा समिति गठन हुन सकेको छैन । केन्द्रअन्तर्गत बिर्तामोड नगरपालिकाका महेन्द्र रत्न मावि र देवी मावि, गरामनी गाविसका दुर्गा मावि, महेन्द्र ज्योति मावि, लक्ष्मी आधारभूत विद्यालय, शुक्रराज आधारभूत विद्यालय, देवकोटा आधारभूत विद्यालय र चकचकी गाविसको फूलबारी मावि समितिविहीन छन् । काँकडभिट्टा स्रोत केन्द्रका २३, तोपगाछी स्रोत केन्द्रका २७ र दुधे स्रोत केन्द्रका सबै २३ वटा सामुदायिक विद्यालयमा भने माघ मसान्तभित्रै समिति गठन भएको सम्बन्धित स्रोत व्यक्तिले जानकारी दिए ।
चन्द्रगढीका स्रोत व्यक्ति प्रेमबहादुर भुजेलले केही विद्यालयमा प्रधानाध्यापकको लापरबाहीका कारण पनि समिति बन्न नसकेको बताए । अनारमनीका स्रोत व्यक्ति केशरबहादुर खवासले राजनीतिक आधारमा आकांक्षी धेरै हुँदा समिति गठनमा कठिनाइ आएको जानकारी दिए । जिशिअ योगेन्द्रप्रसाद बरालले समिति गठन गर्न बाँकी विद्यालयले फागुन १० भित्रमा गठन गरिसक्ने बताए ।

अर्जुन राजवंशीले दमकबाट कान्तिपुरमा लेखेको खबर ।
 

प्रतिक्रिया