काठमाडौं ५ फागुन/केही विद्यार्थी संगठनको अवरोधका कारण अवरुद्ध हुने आशंका गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यही फागुन १४ गते नै हुने भएको छ ।
बुधबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित बसेको बैठकमा निर्धारित मितिमै निर्वाचन गर्ने सहमति भएको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का नेताका साथै तीन दलका विद्यार्थी संगठनका अध्यक्ष र त्रिभुवन विश्वविद्यालयका पदाधिकारी सहभागी थिए ।
त्रिविले फागुन सुरुदेखि लागू हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिसके पनि क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाइएपछि प्रक्रिया अघि बढ्न सकेको छैन ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा भने प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली फागुन १४ मै स्ववियु निर्वाचन गर्न एकमत देखिए ।
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले फागुन १४ मै निर्वाचन गर्ने सहमति भएको जानकारी दिए । “कार्यतालिका परिवर्तन गरेर निर्धारित मितिमै निर्वाचन गर्ने कुरा भएको छ”, अध्यक्ष महरले भने ।
उनका अनुसार निर्धारित मितिमै निर्वाचन गर्ने गरी कार्यतालिकामा हेरफेर गर्न त्रिविका पदाधिकारीलाई भनिएको छ । त्रिविले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारी फारम वितरण र बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची थियो ।
फागुन १ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । नेकपा (माओवादी)को विद्यार्थी संगठन र संघकै असन्तुष्ट पक्षले ताला लगाएपछि निर्वाचन कार्यतालिका प्रभावित भएको भन्दै सरकारले त्यसलाई तोडिदिने भएको छ ।
प्रधानमन्त्री दाहालले तोकिएको मितिमा स्ववियु निर्वाचन सम्पन्न गराउन सरकारका तर्फबाट सहयोग रहने प्रतिबद्धतासमेत जनाए । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले कार्यतालिका प्रभावित भएको उल्लेख गर्दै भने, “यसलाई विश्वविद्यालयले मिलाउँछ ।”
बैठकमा त्रिविका उपकुलपति तीर्थ खनियाँले निर्वाचन गराउने वातावरण बनाइदिन नेताहरूसँग आग्रह गरेका थिए । असार २६ गते बसेको सिनेट बैठकले फागुन १४ मा निर्वाचन गर्ने निर्णय गरेको थियो । पुस २० को सिनेट बैठकले उक्त निर्णय सदर गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।
संघको असन्तुष्ट पक्षले २८ वर्षे उमेर हद हटाउनुपर्ने र नेकपा (माओवादी)निकट विद्यार्थी संगठनले पूर्ण समानुपातिक प्रणालीमा निर्वाचन हुनुपर्ने भन्दै क्याम्पसमा ताला लगाएका थिए । त्रिविले पहिलो पटक २८ वर्षे उमेर हद लगाएर मिश्रित प्रणालीमा स्ववियु निर्वाचन गर्न लागेको हो ।
जगन्नाथ दुलालले कारोबारमा लेखेको खबर ।
प्रतिक्रिया