Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

त्रिवि सेवा आयोगमा अख्तियारको छापा

विहीबार, ०५ फागुन २०७३

काठमाडौं ५ फागुन/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा छापा मारेको छ । सेवा कार्यालय स्रोतका अनुसार अख्तियारको टोलीले त्रिविले विशेष आन्तरिक तथा खुला प्रतिस्पर्धाका लागि आह्वान गरेको उपप्राध्यापक पदका विभिन्न २२ वटा विषयको उत्तरपुस्तिका नियन्त्रणमा लिएको छ । अख्तियारबाट एक महिला र एक पुरुष बेलुका पाँच बजेतिर ‘केही कागजात अध्ययन गर्नु छ' भन्दै सेवा कार्यालय गएका थिए ।

कागजात अध्ययन गरिसकेपछि उनीहरूले ती विषयको उत्तरपुस्तिका तथा अन्य कागजात लिएर गएको त्रिविका एक कर्मचारीले बताए । अख्तियार टोलीले लगेको २२ वटा विषयका कागजातमध्ये १४ वटा विषयको लिखित परीक्षा र अन्तर्वार्ताको नतिजासमेत सार्वजनिक भइसकेको उनको भनाइ छ । यी विषयमा पत्रकारिता, समाजशास्त्र, मानवशास्त्र, फिजिक्स, केमेस्ट्री, फुड टेक्नोलाजीलगायत छन् ।

लिखित परीक्षाको नतिजा सार्वजनिक भएर अन्तर्वार्ता हुन बाँकी आठ विषयको उत्तरपुस्तिका पनि अख्तियार टोलीले लगेको छ । त्यसमा नेपाली, गणित, विज्ञान, गणित, तथ्यांकशास्त्र, कानुनलगायत विषयका कागजपत्र छन् । यी सबै विषयका लागि गतवर्ष नै लिखित परीक्षा भए पनि गत साउनमा मात्र नतिजा सार्वजनिक भएको थियो । लिखित परीक्षाको उत्तरपुस्तिका र अन्तर्वार्तामा समेत नियमविपरीत परीक्षार्थी उत्तीर्ण गराएको उजुरीका आधारमा अख्तियारले छापा मारेको आशंका गरिएको छ ।

अख्तियारको टोलीले ‘केही कागजात अध्ययन गर्नु छ' भनेर लगेको त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्माले बताए । बुधबार त्रिविअन्तर्गतका सम्पूर्ण कार्यालय बिदा रहे पनि सेवा आयोगले भने पूर्वनिर्धारित तालिका भन्दै अन्तर्वार्ता सञ्चालन गरेको थियो । विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष सूर्यलाल अमात्यको निधन भएको शोकमा सम्पूर्ण क्याम्पस तथा कार्यालय बुधबार बन्द गरिएको थियो ।

अख्तियारले यसअघि पनि पटकपटक गरेर त्रिविमा क्याम्पस सम्बन्धनको नाममा आर्थिक चलखेल हुने गरेको उजुरीका आधारमा थुप्रै कागजपत्र नियन्त्रणमा लिएको थियो । गतवर्ष नै नियन्त्रणमा लिइएका ती कागजातमध्ये केही अझै फिर्ता गर्न बाँकी छ ।

त्रिविमा कर्मचारी तथा उपप्राध्यापकको खुला र आन्तरिक प्रतिस्पर्धाबाट नियुक्ति गर्ने क्रममा आफन्त, नातोगाता र आर्थिक प्रलोभनका आधारमा उत्तीर्ण गराइएको गुनासो सार्वजनिक हुँदै आएको छ । यसपटक त्रिविले विभिन्न संकायका गरेर ६८ विषयमा विशेष आन्तरिक र खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक नियुक्ति गर्न लागेको छ ।
सूर्यप्रसाद पाण्डेले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

प्रतिक्रिया