Edukhabar
बुधबार, ०५ मंसिर २०८१
गतिविधि

शिक्षा विभाग भन्छ : ‘यो कार्यक्रम डलर खेती होइन’

बुधबार, ०४ फागुन २०७३

भक्तपुर - चालू शैक्षिक सत्रदेखि सुरु भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अर्थात् नेशनल अर्ली ग्रेड रिडिङ प्रोग्राम (एनइजीआरपी)) बारे सञ्चारकर्मीहरुलाई अभिमुखीकरण गरिएको छ । प्राथमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको पठन सिपमा उल्लेख्य सुधार गर्ने उद्देश्यका साथ शैक्षिक सत्र २०७३ देखि सामुदायिक विद्यालयहरुमा सुरु सो कार्यक्रम सम्बन्धमा जानकारी दिन शिक्षा विभागले अभिमुखीकरण गरेको हो ।

अभिमुखीकरणमा शिक्षा विभागका उपनिर्देशक विष्णुप्रसाद अधिकारीले नेपालका विद्यार्थीको पठन सीप दक्षिण एसियामै कमजोर रहेको अनुसन्धानले देखाएको बताउँदै पठन सीप विकास गर्न नेपाल सरकार र अमेरिकी सरकारबीच सम्झौता भइसकेको बताए । ‘अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को नयाँ पञ्चवर्षीय कार्यक्रम अन्तर्गत यो वर्षबाट नमूनाका रुपमा ६ वटा जिल्लामा अर्ली ग्रेड रिडिङ कार्यक्रम सञ्चालन भएको छ ।’ उनले भने ।

युएसएडको ५ करोड ३८ लाख डलर सहयोगमा सञ्चालित उक्त कार्यक्रम एक वर्षअघि नै सञ्चालनमा आए पनि यो वर्षबाट मात्र विद्यालय तहमा लागू भएको हो । यसरी लागू भएको कार्यक्रमलाई विभिन्न संस्था तथा व्यक्तिहरुबाट डलर खेती गरिएको भनी आलोचना गरे पनि उनले भने डलर खेती नभएको दाबी गरे । उनले नमूनाको रुपमा काठमाडौं उपत्यकाको भक्तपुर सहित कास्की, कञ्चनपुर, बाँके, मनाङ र सप्तरी गरी ६ वटा जिल्लामा लागू भएको सो कार्यक्रमलाई सफल बनाउन सञ्चारकर्मीहरुको पनि भूमिका आवश्यक रहेको बताउँदै कार्यक्रमका राम्रा पक्ष, नराम्रा पक्ष र सुधार्नुपर्ने पक्षका बारेमा सरकारलाई जानकारी दिन आग्रह गरे । नेपालको पहिलो राष्ट्रव्यापी अर्ली ग्रेड रिडिङ मूल्याङ्कनले कक्षा २ मा अध्ययनरत ३४ प्रतिशत र कक्षा ३ मा अध्ययनरत १९ प्रतिशत बालबालिकामा नेपाली पठन सिप अत्यन्तै न्यून रहेको तथ्य फेला परेको थियो । उक्त मूल्याङ्कन अनुसार अधिकांश विद्यार्थीको पठन सीप अन्तर्राष्ट्रिय मापदण्ड भन्दा निकै कम रहेको छ ।

६ जिल्लामा कार्यक्रम भए पनि यो वर्षबाट १६ जिल्लामै कार्यक्रम भइरहेको विभागका उपनिर्देशक अधिकारीले बताए । अभिमुखीकरणमा इजिआरपीका हितकुमारी गुरुङले कार्यक्रम अन्तर्गत समुदाय परिचालन समेत भइरहेको बताउँदै ६ जिल्लाका ५ हजार समुदाय परिचाचलन भई ७ लाख विद्यार्थी, १५ हजार प्रावि शिक्षक र ५ हजार प्रअ लाभान्वित भइरहेको जानकारी दिइन् ।

कार्यक्रमले विभिन्न स्थानीय भाषाका पाठ्य तथा सिकाइ सामग्रीहरूको गुणस्तरको सुधारमा जोड दिइरहेको छ । पठन सिपअन्तर्गत सुनाइ, पढाइ, लेखाइ र बुझाइ(बोध) ती चारवटा सिकाइका आधारहरुलाई सुधार गर्ने लक्ष्य कार्यक्रमको रहेको छ ।

भक्तपुरका जिशिअ अर्जुनबहादुर रायमाझी, विद्यालय निरीक्षक सविता दंगाल, सामाजिक तथा व्यवहार परिवर्तन सञ्चार सल्लाहकार प्रबोध आचार्य लगायतले कार्यक्रममा बोलेका थिए । सहभागि सञ्चारकर्मीहरुले कार्यक्रमको नाममा विदेशी रिझाउने काम गर्न नहुनेतर्फ शिक्षा मन्त्रालय सचेत हुन जरुरी रहेको बताएका थिए ।

प्रतिक्रिया