ललितपुर - नीलप्रसाद दुलाल शिक्षक भएको बेला अहिलेको जस्तो अवस्था थिएन अर्थात्, एसएलसी पास गरेका मान्छेहरु नै कम थिए । यही कारण पनि ४० को दशकमा एउटा विद्यालयले शिक्षक पाउनु पनि गा¥हो कुरा थियो । अझ टेस्ट पास भएर एसएलसी दिइरहेको विद्यार्थीलाई शिक्षकका रुपमा पाउनुलाई त स्कुलले ठूलो उपलब्धिकै रुपमा लिन्थे । त्यस्तै बेला शिक्षक बनेका थिए, ललितपुरका दुलाल । ‘त्यो बेलामा स्कुलमा चार/पाँच कक्षा पास गरेका व्यक्तिहरु शिक्षक हुनुहुन्थ्यो । त्यही कारण टेस्ट पास गरेको शिक्षक पाउनु भनेको एउटा प्रावि स्कुलको लागि त ठूलो कुरा पाउनु नै हुन्थ्यो ।’
आफ्नो आवश्यकता र इच्छाले भन्दा पनि स्कुल र स्कुल चलाउने अभिभावकहरुको इच्छा र आवश्यकताको पछि लागि शिक्षक बनेको बताउने दुलालका लागि एसएलसी दिनु नै शिक्षण सेवामा प्रवेश गर्ने ढोका बन्यो ।
‘चालिस सालमा एसएलसी दिएर बसेको थिएँ, त्यही बेला गिम्दी गाविसको एउटा सामुदायिक विद्यालयका अभिभावकहरु घरसम्मै लिन आउनुभयो ।’ आजभन्दा ३३ वर्षअघिको सम्झना गर्दै शिक्षक दुलाल भन्छन्, ‘घरमै लिन आएका भएर २८ जनामध्ये १४ जना टेस्ट पास भएका सबैले जागिर पाएका थियौं ।’
गोटीखेलको महांकाल माविबाट एसएलसी दिएका उनले मात्र नभएर त्यो बेला धेरैको रोजाइ नै थियो, स्कुलमा माष्टरी गर्नु । त्यही माष्टरी गर्ने रोजाइसँगै घरसम्म लिन आएका अभिभावकको चित्त नदुखाइकन शिक्षक बन्न गएका उनले त्यहाँ ११ महिना काम गरे ।
आफू १७ वर्षको हुँदा नै शिक्षक बनेका उनले अहिले पनि शिक्षणलाई नै निरन्तरता दिइरहेका छन् । एउटा प्राविबाट सुरु भएको उनको शिक्षण अहिले उमाविका विद्यार्थीसम्मलाई पढाउने क्रम जारी छ । २०४१ साल बैशाख १० गतेबाट शिक्षण पेशामा औपचारिक रुपमा छिरेपछि शिक्षण गर्दा प्राप्त भएको आनन्दीले सन्तुष्टि दिन थाल्यो ।
महिनामा दुई सय पचासी रुपैंया पारिश्रमिक ।
‘दुई महिनाको तलब एकैपटक लिएर घरमा बुझाउँदा त.... घरमा खुसीको सिमै रहेन । त्यत्रो लगानी गरेर छोरो पढाएको खेर गएन भनेर कामको सम्मान गर्दा थप सन्तुष्टि मिल्यो ।’ उनले फेरि सम्झिए । त्यसपछि भने सो स्कुलमा अर्को एसएसलसी दिएका टिम आयो । उनी भने पढ्नका लािग पाटन संयुक्त क्याम्पसमा आए ।
आइए पढ्नका लागि भनी पाटनमा आएर उनी भर्ना त भए तर भर्ना भएकै क्षणदेखि उनलाई दुर्गम गाउँको स्कुलका बालबालिकाहरुसँग बिताएका, अभिभावक, सहपाठी शिक्षकसँग विताएका क्षणको याद आयो । अझ भन्नुपर्दा शिक्षक हुनुको लत लागिसकेको थियो । त्यही भएर उनले क्याम्पस भर्ना भएकै भोलिपल्ट भेटिएका विज्ञान पढाउने शिक्षकलाई पढाउन मन लागेको बताए । शिक्षकले पनि कक्षामा दोस्रो हुने, फेरि पढाइ पनि सकेका दुलाललाई ‘लौ, भोलि आऊ, जागिर भैहाल्छ’ भनेपछि एकातिर जागिरको खाँचो पनि टर्यो भने अर्कोतिर पढाउने लत पनि नटुटने भो । त्यसपछि उनले पाटनमा आइए पढ्दै एकान्तकुनाको महेन्द्र भृकुटीमा पढाउन पनि थाले । यसरी शिक्षणमा लागेका उनी शिक्षण पेशामा भने भित्रैदेखि लागेको बताउनुपर्ने धारणा राख्छन् । र, अरुलाई पनि भित्रदेखि नै लाग्न अनुरोध गर्छन् । ‘शिक्षामा नै केही गर्नुपर्छ, केही गर्ने हो भने यही क्षेत्र उत्तम हो भन्ने हिसाबले लागेँ, अरु नभए पनि आत्मसन्तुष्टि बढी छ यसमा, यही कारण उनको सुझाव पनि छ, ‘खाली जागिर खाने मात्र सोच यदि कोहीले बनाएको भए, आजैबाट शिक्षण छोडे हुन्छ ।’
महेन्द्र भृकुटीमा २०४२ सालदेखि २०४७ को चैत १५ गतेसम्म पढाउने क्रममा २०४६ सालमा प्राविमा स्थायी भए । स्थायी भएपछि झनै उत्साह बढेको सम्झना गर्दै उनले त्यसपछि पनि आफूलाई ‘पहाडको एउटा स्कुल बिग्रियो’ भन्दै घरसम्म लिन आएको बताए । ‘स्कुल कोल्याप्स होलाजस्तो छ, तपाइँ गएर हेरिदिनुपर्यो, तपाइँले गर्न सक्नु हुन्छ भनेर सबैले भने ।’ त्यही आधारमा कालेश्वरी निमाविमा गएका उनले नभन्दै
विद्यालयलाई 'क्यान्सिल' हुनबाट पनि बताए । उनले त्यहाँ सोह्र वर्ष प्रअको जिम्मेवारी सम्हाले ।
कालेश्वरीमा पहिलोपल्ट पुग्दाको त्यहाँ बच्चाहरु थिएनन्, त्यसमाथि को हेडमाष्टर हुने भन्ने द्वन्द्व । त्यस्तो बेला उनी सुरुमा त निराश पनि भए । त्यही कारण १२÷१३ दिन अलमलिए । शिक्षा कार्यालयबाट हेडमाष्टरको चिठ्ठी हातमा भए पनि गर्न सक्ने कि नसक्ने भन्ने अवस्था पनि देखापर्दै थियो । भर्खरै भर्खरमात्र पञ्चायती व्यवस्था गएको समय भएकोले अझै पनि पञ्चायतको धङधङी एकातिर थियो भने अर्कोतिर प्रजातन्त्र ल्याएको उन्माद । त्यस्तो परिस्थितिका बाबजुद् पनि त्यहाँको परिस्थितिसँग जुध्दै, समन्वय गर्दै उनले स्कुललाई कोल्याप्स हुनबाट बचाए ।
२०१४ सालमा बनेको त्यो विद्यालयमा उनी नै सबैभन्दा लामो समय प्रअ भए । काम गर्दै गएपछि विद्यार्थी संख्या पनि बढ्यो, कक्षा आठको रिजल्ट पनि राम्रो भयो, जिल्लामै राम्रो रिजल्ट ल्याउने स्कुल भनेर पनि चिनियो । ‘४०/४५ जनामा झरेको विद्यार्थी संख्यालाई बढाएर १ सय ७३ जनासम्म पु¥याएँ ।’ उनले सम्झे ।
२०६३ मा भने उनी माविमा स्थायी भए, त्यसपछि ललितपुरको पहाडी क्षेत्रमा दरबन्दी भएको स्कुल भेटाउन नसकेपछि उनी मदन स्मारक माविमा आए । त्यहाँ उनले लगभग १० वर्ष पढाए । त्यसपछि उनी अहिले लुभुको महालक्ष्मी माविको प्रअको जिम्मेवारीमा सम्हालिरहेका छन् ।
दुर्गम र सुगम गरी दुबै ठाउँका विद्यालयहरुको अनुभव संगालिसकेका उनले गाउँ र नगरका स्कुलहरुबीच फरक देखेका छन् । ‘पहिला सरकारी स्कुलमा विद्यार्थी धेरै थिए, दरबन्दीहरु प्रशस्त थियो, त्यहाँ १६ वर्ष हेडमाष्टर हुँदा मैले ७ घण्टी पढाउनुपथ्र्यो, तर जब म मदनस्मारक आएँ, त्यहाँ तीन घण्टी पढाएर चट्ट बसेर खान पाइयो ।’ गाउँ र नगरका विद्यालयबीच उनले पाएको पहिलो भिन्नता यही हो । ‘यता दरबन्दी त कति, कति, गाउँमा अहँ....’ उनले अर्को भिन्नता औंल्याए ।
उनको यो अनुभवका आधारमा शिक्षाको मापदण्ड अनुसार सामुदायिक विद्यालयमा कुनैमा पनि विद्यार्थी छैनन् अहिले । शिक्षामा बजेट खेर गइरहेका यथार्थलाई उनी दरबन्दीमा रहेका शिक्षकसँगै जोड्न रुचाउँछन् । भन्छन्, ‘दरबन्दी बढी, काम छैन, काम दिनुपर्यो नि त, यसरी दरबन्दी बढी हुनुहुँदैन भन्ने पक्षमा छु म ।’
सामुदायिक विद्यालयमा पढाउने शिक्षकमा लापरबाही गर्ने, समयमा नआउने, समयसम्म नबस्ने, सरकारी स्कुलमा पढाएका शिक्षकमा कसले छुन सक्छ र भन्ने एउटा दम्भ रहेको उनको अनुभव छ । ‘यही दम्भले शिक्षकहरु अराजक बनिरहेका छन्, स्कुल सिद्धिदैछ क्रमशः ।’ त्यसो हुनुमा शिक्षक पहिलो, विद्यालयका प्रअ/सहायक प्रअ दोस्रो, जिशिका, विभाग तेस्रो र मन्त्रालय तथा सरकार चौथो नम्बरमा रहेको भनी उनले ¥याकिंङ गरेका छन् । यसैले उनी भन्छन्, ‘सबैभन्दा पहिले शिक्षक आफैले जिम्मेवारी बोध गर्नुपर्छ ।’
प्रत्येक शिक्षकले सरकारले मलाई के जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारी अनुरुप मैले काम गर्नुपर्छ कि पर्दैन ? मेरो उत्तरदायित्व के हो ? म कसरी विद्यालयमा प्रस्तुत हुनुपर्छ । मैले के के जिम्मेवारी पूरा गरे भने म असल शिक्षक हुन्छु ? भनेर प्रश्न गर्नैपर्छ, त्यो प्रश्नले नै शिक्षकललाई जिम्मेवार बनाउन सघाउनेमा उनी सहमत छन् । शिक्षक आफै जागृत नहुने हो भने शिक्षक आफै सिद्धिदै जाने खतरा देखेका छन् उनले । ‘जिम्मेवारी बोध नगर्ने शिक्षकमा हिनताबोध पलाउँछ, त्यो हुन नदिन आफू नै जिम्मेवार हुनु जरुरी छ । असल ढंगले काममा जुट्नुपर्छ । सरकारलाई मात्र दोष दिएर हुन्न ।’
किन किन अहिलेका शिक्षक बढी त सरकारी जागिर हो भन्ने मानसिकतामा पुगिसकेका छन् । यही मानसिकताले शिक्षण पद्दतिमा परिवर्तन नभएको निश्कर्षमा पुगेका उनी सिक्ने र सिकाउने कुरामा लाज मान्नु नुहुने बताउँदै शिक्षक अध्ययनशील हुनुपर्नेमा जोड दिन्छन् ।
उनको निश्कर्ष छ : ‘आखिरमा सामुदायिक विद्यालयलाई राम्रो बनाउने जिम्मा त शिक्षकलाई नै छ, यसैले यो काम गर्नुपर्छ भन्ने कुरा शिक्षकले मनन् गर्नुपर्छ । शिक्षक नै ठीक हुनुपर्छ ।’
प्रतिक्रिया