काठमाडौं ४ फागुन/ दृष्टिविहीन शिक्षिकाका लागि आएको राहत कोटा नै ‘हराएको’ सुन्दा अचम्म लाग्न सक्छ । तर, यस्तै भएको छ जिल्ला शिक्षा कार्यालय कञ्चनपुरमा । ८ वर्षअघि आएको उक्त कोटा खोज्न शिक्षा कार्यालयलाई निकै समस्या परेको छ ।
२०६५ मा दृष्टिविहीन शिक्षिका नियुक्त गर्न कोटा आएपछि जिल्ला शिक्षा कार्यालयले झलारीको असिग्राम निमाविलाई पत्राचार गर्यो । असिग्रामले एक वर्षसम्म पनि नियुक्त गर्न नसकेपछि फेरि शिक्षा कार्यालयमै कोटा फिर्ता पठायो । त्यसपछि शिक्षा कार्यालयले बेलडाँडीको कालिका प्राविलाई उक्त कोटामा शिक्षिका भर्ना गर्न पत्राचार गर्यो । त्यहाँ पनि शिक्षिका भर्ना नगरिकनै उक्त कोटा शिक्षामै फर्काइयो ।
‘त्यसपछि त्यो कोटा कहाँ गयो भन्ने पत्ता लाग्न सकेको छैन’ दृष्टिविहीन संघ सुदूरपश्चिमका क्षेत्रीय संयोजक बलराम पन्तले भने, ‘कालिकामा शिक्षिका नियुक्त हुन नसकेपछि अर्काे जिल्ला सार्न खोजिएको थियो, त्यो हुन नसकेपछि लुकाइएको हो ।’ शिक्षा कार्यालयमा कागजात हेर्न खोज्दासमेत अवरोध गरिएपछि अख्तियार गएको उनले जानकारी दिए । अख्तियारको निर्देशनपछि अहिले खोजी भइरहेको छ ।
जुन समुदायका लागि कोटा आएको हो त्यसबाहेकलाई नियुक्त गर्न नपाइने भए पनि शिक्षा कार्यालय र केही शिक्षक नेताको मिलेमतोमा कोटा लुकाइएको हुन सक्ने दृष्टिविहीन अगुवाको भनाइ छ ।
शिक्षा कार्यालयका कर्मचारीलाई समेत उक्त कोटाबारे जानकारी छैन । शिक्षा कार्यालयले कोटा खोजी गर्न समिति नै गठन गर्नुपरेको छ । शाखा अधिकृत रूपराम तिरुवाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले बताए ।
भवानी भट्टले कान्तिपुरमा कञ्चनपुरबाट लेखेको खबर ।
प्रतिक्रिया