Edukhabar
आइतबार, ०६ असोज २०८१
विचार / विमर्श

जीवन जाँच्ने कसी हैन एउटा परीक्षा

शनिबार, ३० साउन २०७२

- ज्ञानकुन्ज नुवाकोटबाट प्रकाशन हुने रूपायन साहित्यिक त्रैमासिकको सम्पादक हुन् । विभिन्न पत्रपत्रिकामा उनका कविता एवं फुट्कर लेख रचना प्रकाशित छन् । चण्डी मा वि, बुधसिङ, नुवाकोटमा अद्यापनरत  ज्ञानकुमार श्रेष्ठ, साहित्य सृजनामा ज्ञानकुन्जको नामबाट सकृय छन् । २०३९ सालमा नुवाकोटमा जन्मेका उनी  चित्रकारितामा रुचि राख्छन् । साहित्य र शिक्षा दुवैलाई बुझेका नाताले उनले परीक्षा प्रणाली र सिकाईलाई विश्लेषण गरेका छन् । यस पटकको शिक्षा साहित्यमा उनको कविता :

तिमी असफल भएका हैनौ ।
तिमिले पढ्नु छ बर्षैभरी
अरुले लेखेका कुराहरु,
तिमिले सुन्नु छ बर्षैभरी
अरुले बोलेका कुराहरु
र सम्झेर लेख्नुछ
तीन  घन्टामा अरुले सोधेका
प्रश्नका जवाफहरु ।

तिमी असफल भएका हैनौ !
एकदुई परीक्षामा अनुत्तीर्ण भयौ भन्दैमा
एकदुई विषयमा नराम्रो नम्बर आयो भन्दैमा
कसले भन्छ तिमीलाइ असफल ?
तिम्रो सिङ्गो जीवन त बाँकिनै छ
तिम्रो अरु क्षमता त बाँकिनै छ

तिमीले बाआमाबाट सिकेको
खेतबारीको काममा त असफल भएका छैनौ
तिमीले पास गरेका अरु विषयमा त
असफल भएका छैनौ

तिमी असफल भएकी हैनौ !
तिमीले विद्यालयको कार्यक्रममा
बिना तालिम कलाकारले झैं नाचेको
कसले बिर्सेको होला र ?

तिमी असफल भएका हैनौ !
विद्यालयमा बिजुली बिग्रदा
सबै दङ्ग परिरहेका बेला
बिजुलीको खम्बामा चढेर तिमीलेनै बनाएका हैनौ ? 

तिमी असफल भएकी हैनौ !
विद्यालयमा भएको
कबिता र निबन्ध प्रतियोगितामा
तिमिनै प्रथम भएकी हैनौ ?
परीक्षाको समयमा गम्भीर विरामी भएर
लेख्न सकेनौ भन्दैमा,
कसले भन्छ तिमिलाइ असफल ?
सिङ्गो जीवन त बाँकि नै छ

एउटा परीक्षा तिम्रो जीवन जाँच्ने कसि हैन
बरु असफल त भएको छ
सिङ्गो परीक्षा प्रणाली !
बरु असफल त भएको छ
देशको मुल्यांकन प्रणाली !

प्रतिक्रिया