भक्तपुर – शिक्षा व्यापार हो कि सेवा ? भन्ने बहस भइरहेको बेला राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(एनप्याब्सन)ले भने शिक्षा ब्यापारै भएको दाबी गरेको छ ।
अभिभावकसँग रकम उठाएरै विद्यालय सञ्चालन गरिरहेको निजी विद्यालय सञ्चालकहरुको संगठन एनप्याब्सनले सो ठोकुवा गरेको हो । शनिबार एनप्याब्सन भक्तपुरको चौथौं साधारणसभामा सहभागी हुन आएका विद्यालय सञ्चालकहरुले शिक्षा ब्यापार नै भएको उल्लेख गर्दै ब्यापार नै भनेर विद्यालय सञ्चालन गर्नुपर्ने जनाएका हुन् ।
कार्यक्रममा एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाही, बरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी, केन्द्रीय सदस्य एवं पूर्वाञ्चल अध्यक्ष पाण्डब हमाल, उपत्यका समन्वय समितका मनोज घिमिरे, काठमाडौं एनप्याब्सनका अध्यक्ष सीपी आचार्य, ललितपुर एनप्याब्सनका राजेश महर्जन, पूर्व महासचिव ऋतुराज सापकोटा, काभ्रे एनप्याब्सनका अर्जुन बञ्जारालगायतका वक्ताहरुले आफूहरुले गरिरहेको काम व्यापार नै भएको बताए ।
कार्यक्रममा एनप्याब्सन अध्यक्ष शाहीले भने, ‘हामीले गरिरहेको कामलाई व्यापार नै हो भनेर जानुपर्छ, व्यापार भनेर भनिन्छ भनेर जाने होइन ।’ सोही क्रममा उनले प्याब्सनले भने निजी रुपमा सञ्चालित विद्यालयहरुले व्यापार नभएर सेवा गरिरहेको अभिव्यक्तिप्रति आपत्ति प्याब्सनलाई पनि यसरी सुझाव दिए,‘प्याब्सन, निजी विद्यालयहरुको कामलाई सेवामूलक व्यवसाय हो भन्न छाड्नूस् ।’
विद्यालयहरुमा पनि आर्थिक कारोबार हुने र विद्यालयहरुलाई कम्पनीमा दर्ता गराउने नियम ल्याएदेखि नै व्यापारमा परिणत भएको उल्लेख गर्दै अध्यक्ष शाहीले आर्थिक रुपमा अघि नबढे देशको समृद्धि असम्भव भएको बताए । शिक्षा ऐनले कम्पनीमा दर्ता गन नपाउने प्रावधान ल्याएर सिण्डिकेट लागू गर्न खोजेको बताउँदै शिक्षा ऐनमा भएको संसोधनलाई पुरानै कुराहरुको निरन्तरता मात्र भएको उनको भनाइ थियो ।
कार्यक्रममा एनप्याब्सनका वरिष्ठ उपाध्यक्ष अधिकारीले नेपालको शिक्षाको विकासका लागि निजी विद्यालयहरुले खेलेको भूमिका उल्लेखनीय भए पनि राज्यले भने सो विषयमा ध्यान नदिँदा निजी विद्यालयहरुको योगदान ओझेलमा परिरहेको बताए ।‘हामीलाई व्यापार गरेको आरोप मात्र लगार कसरी हुन्छ हामीलाई नियमन गर्न खोजिरहेको छ ।’ उनले भने । त्यस्तै वक्ताहरु पूर्वाञ्चल अध्यक्ष हमाल, उपत्यका समन्वय समितका घिमिरे, काठमाडौं एनप्याब्सनका अध्यक्ष आचार्यले भने शिक्षा ऐन र निययमावलीपछि संस्थागत विद्यालयहरुको समस्या अझ वढेकोले सांगठनिक एकतालाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा उपस्थित जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीबाट शिक्षा ऐन र नियमावलीको विषयमा थप प्रष्ट पार्नका लागि वक्ताहरुले अनुरोध गरे पनि जिशिअ रायमाझीले भने सो विषयमा कुनै जवाफ नै दिएनन् । उनले निजी विद्यालयहरुले राम्रो काम गर्नुपर्ने भनेर छोटोमात्र भनाइ राखेका थिए ।
कार्यक्रम आयोजक संगठनका अध्यक्ष जिबी खड्काको सभापतित्वमा भएको सो कार्यक्रममा एनप्याब्सनसँग सम्बन्धित विभिन्न व्यक्तिहरुले आआफ्नो भनाइ राखेका थिए ।
यसैबीच अधिवेशनले एनप्याब्सन भक्तपुरको जिल्ला अध्यक्षमा जिबि खड्काको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । खड््का नगरकोटस्थित क्वालिटी स्कुलका प्रिन्सिपल हुन् ।
समितिको उपाध्यक्षमा क्रियटिभ स्कुलका विश्वराम दुवा, सचिवमा इमेज स्कुलका शिवकृष्ण कवां, सहसचिवमा सेकरिट हार्टका श्रीराम सुवाल, कोषाध्यक्षमा हिमशिखरका दिनेश शाक्य, सहकोषाध्यक्षमा रोशनका रत्न राई चुनिएका छन् ।
सदस्यहरुमा भने क्रमशः एसएस सदनका मुकेश योञ्जन, सेन्ट जोनका देव भट्ट, विमल मेमोरियलका कुमार थापामगर, पारागनका पुण्यराम कवां, सिरीनकेनका कमल सुवाल, ग्रिनभ्यालीका विक्रम थापा र इडेन गार्डेनका जयप्रसाद राई चुनिएका छन् ।
प्रतिक्रिया