Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

कलेज हैन अब देखि बैंक लिमिटेड !

विहीबार, २७ माघ २०७३

भक्तपुर– चाँगुनारायण नपा वडा नं. ११ स्थित नेपाल इञ्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीेले शैक्षिक हड्तालको क्रममा कलेजको नामै फेरेका छन् ।

गत आइतबारबाट कलेजको मुख्य गेटमा ताला लगाएर आन्दोलनमा उत्रिएका विद्यार्थीले आफ्नो मागप्रति कलेज प्रशासनले बेवास्ता गरेको भन्दै बिहीबार कलेजको नामै फेरेका हुन् । उनीहरुले कलेज छिर्ने गेटमा कार्डबोर्ड पेपरमा नेपाल इञ्जिनियरिङ कलेजको सट्टा नेपाल इञ्जिनियरिङ कलेज बैंक लिमिटेड नामाकरण गरिदिएका छन् ।

‘कलेजले हामीसँग विभिन्न नाममा शुल्क उठाउने तर जे का लागि शुल्क उठाको हो, त्यसका लागि खर्च नगरेको कारण हामीले नामै फेरका हौं ।’ इलेक्ट्रोनिक्स, ०१४ समूह तेस्रो वर्ष अध्ययनरत विद्यार्थी निरज पाण्डेले भने । उनले कलेजले हरेक वर्ष खेलकुद कार्यक्रमका लागि प्रति विद्यार्थी २ हजार ५ सयका दरले रकम उठाएको तर सो अनुसार काम नगरेको बताए ।

‘कलेजले विद्यार्थी भर्ना हुने बेलामा नै खेलकुदको लागि भनी प्रत्येक विद्यार्थीसँग रकम उठाएको छ तर यहाँ खेलकुद नगरेकै तीन वर्ष बितिसकेको छ, पैसा मात्र थुपार्ने काम गरेकोले कलेजको नाम फेरेका बैंक राखेका हौं ।’ सोही कलेजको आर्किटेक्चर ०१३ समूह, चौथो वर्षमा अध्ययनरत विद्यार्थी अर्जुन कुँवरले भने ।

आन्दोलनरत विद्यार्थीले भूकम्पले चर्किएकै भवनमा आफूहरुलाई पठनपाठन गराइरहको र आफूहरुलाई चाँगुनारायणस्थित भवनमै पढाउने भनेर भर्ना गरेको तर आफूहरुलाई भने अन्यत्रै पढाएकोले पनि आन्दोलन गर्न बाध्य भएको बताए । कलेजले ठाउँ अभाव भएको भन्दै महालक्ष्मीस्थान र प्रज्ञापोखरी लगनखेलमा कक्षा सञ्चालन गरिरहेको छ । ‘यो विषयमा हामीले पटकपटक क्याम्पस प्रसासनको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नगरेकोले हड्ताल गर्न बाध्य भएका छौं,’ विद्यार्थी पाण्डेले भने, ‘पटक पटक प्रशासनसँगको वार्तामा आश्वासन बाँड्ने तर कार्यान्वयन भने गरेन ।’

उक्त आन्दोलनलाई अन्य विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनले पनि ऐक्यवद्धता जनाइसकेका छन् । आन्दोलनरत विद्यार्थीले कलेजमा बढेको विभिन्न अनियमितताको विरोध गर्दा आन्दोलन दबाउन क्याम्पसले प्रहरी प्रशासन गुहारेर दमन गर्न खोजेको आरोप समेत लगाए ।

आन्दोलनको क्रममा विद्यार्थीले कलेजका केही कक्षमा तोडफोड गर्दा वार्तासमेत हुन नसकेको कलेजका प्राचार्य शोभाकान्त देव बताउँछन् । सो कलेजमा अहिले इलेक्ट्रोनिक्स, इलेक्ट्रिक, सिभिल, कम्प्युटर, सिभिल एन्ड रुलर, आर्किटेक्चरका कार्यक्रमहरु सञ्चालित छन् ।

प्रतिक्रिया