Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

विभाग सहित शिक्षाका विभिन्न निकायहरुमा तालाबन्दी

मंगलबार, १२ साउन २०७२

क्रान्तिकारीका मागहरु सहित 

काठमाडौं १२ साउन / विभिन्न माग सहित आन्दोलनमा उत्रिएको विप्लव समूह निकट अखिल क्रान्तिकारीले शिक्षा विभाग सहित शिक्षाका विभिन्न निकायहरुमा तालाबन्दी गरेको छ । विभागका महानिर्देशक, उच्च माध्यामिक शिक्षा परिषदका उपाध्यक्ष, जिल्ला शिक्षा अधिकारीको कार्यकक्ष सहित नीजि विद्यालय सञ्चालकहरुको संस्था हिसान र प्याब्सनको  कार्यालयमा  तालाबन्दी गरिएको छ ।

सहमती कार्यान्वयनका लागि पटक पटक ध्यानाकर्षण सहित सचेत पत्र बुझाउँदा समेत वास्ता नभएपछि बाध्य भएर तालाबन्दी गरेको क्रान्तिकारीका अध्यक्ष शरद रसाईलीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

शुल्क लगायत विगतमा भएका सहमतिहरु कार्यान्वयन नभएको भन्दै गरिएको तालाबन्दी माग पुरा नभएसम्म जारी रहने सचिव एवं प्रचार विभाग संयोजक सन्तोष कोइरालाले बताए । गएको बुधबार क्रान्तिकारीले सचेत पत्र बुझाएको थियो । 

क्रान्तिकारीका मागहरु :

१.२०७२ वैशाष ६ गते भएको एकलौटी र गैह्रकानुनी ढंगले वृद्धि गरीएको शुल्क फिर्ता लगायतको १० बुँदे सहमति तुरुन्त कार्यान्वयन गर्नुपर्ने ।

२.शिक्षण संस्थाको विदेशीनाम परिवर्तन र उच्चमा.वि. मा २ अंकको छात्रवृत्ति लागु गर्ने लगायतका सहमतिहरु कार्यान्वयन गर्नुपर्ने । 

३.भूकम्पका बेला पठन पाठन नभएको समयको १५ दिनको शुल्क छुट गर्ने निर्णय कार्यान्वयन भए नभएको अनुगमन गरी सरकारको निर्देशन र भएको सहमति पालना नगर्ने शिक्षण संस्थालाई कारवाही गर्नुपर्ने । 

४.विना ईजाजत, मापदण्ड विपरीत हेपाहा प्रवृत्तिबाट संचालित विदेशी विद्यालयहरु खारेज गर्नुपर्ने । 

५.कक्षा ११ र १२ मा विभिन्न शिर्षकमा वढि शुल्क लिने विद्यालयहरुलाई कारबाही गरी शुल्कको सिलिङ्ग तोक्नु पर्ने  । 

६.शैक्षिक माफियाहरुको गलत स्वार्थसंग सचेत हुँदै कक्षा ११ र १२ मा प्राविधिक शिक्षाको पठन–पाठनलाई यसै बर्षदेखि व्यवस्थित ढंगले सर्वसुलभ रुपमा लागु गर्नुपर्ने । 

प्रतिक्रिया