Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

संसदमा दर्ता भएको विधेयक टेबुल गर्न शिक्षा मन्त्रीलाई कस्को आदेश चाहियो ?

बुधबार, २६ माघ २०७३

भक्तपुर - ख्वप विश्वविद्यालय विधेयक टेबुल गर्न आफूलाई आदेश नभएको शिक्षा मन्त्री धनिराम पौडेलले बताएको एक सांसदले खुलासा गरेका छन् । स्थानीय तहले सञ्चालन गर्ने गरी तयार ख्वप विश्वविद्यालय विधेयक संसदमा दर्ता भएको तीन महिना भयो । तर, अझै संसदमा टेबुल हुन सकेको छैन । किन ढिलाई भईरहेको हो ? शिक्षा मन्त्री पौडेलसँग जानकारी माग्दा उक्त कुरा बताएको  ख्वप कलेज तथा उच्च मावि सञ्चालक समितिका अध्यक्ष समेत रहेका सांसद प्रेम सुवालले बताए ।

‘संसदमा दर्ता भएको तीन महिनासम्म पनि छलफलको लागि अघि बढ्न सकेन, यो सम्बन्धमा शिक्षा मन्त्रीसँग भेट्दा विधेयक टेबुल गर्न मलाई आदेश छैन भन्नु भयो ।’ सुवालले भने । तर शिक्षा मन्त्रीले कस्को कस्तो आदेशको कुरा गरेका हुन् सुवालले स्पष्ट पारेनन् ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माविको सत्रौं, ख्वप कलेजको पन्ध्रौं र शारदा क्याम्पसको छब्बीसौं वार्षिकोत्सवको अवसरमा आयोजित शैक्षिक प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेंले पनि शिक्षामन्त्री पौडेलकै कारण संसदमा छलफल नभएको आरोप लगाए । गत कात्तिक २६ गते ख्वप विश्विद्यालय विधेयक संसदमा दर्ता भएको थियो ।

‘ख्वप विश्वविद्यालय स्थापनाको काम निरन्तर अगाडि बढिरहने छ । यसलाई कसैले रोक्न सक्तैन । ख्वप विश्वविद्यालय स्थापनाको विधेयक सरकारले पारित गर्दैन भने सरकारको अवज्ञा गर्ने अधिकार जनतालाई छ ।’ सांसद बिजुक्छेंले भने ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राडा राममान श्रेष्ठ, चीनको लागि नेपालको पूर्व राजदूत प्रा.डा.राजेश्वर आचार्यले ख्वप उच्च मावि र कलेजको प्रगति सराहनीय रहेको बताए भने निर्वाचन आयोगका आयुक्त दोलखबहादुर गुरुङले ख्वप उच्च मावि र ख्वप कलेज भक्तपुरको मात्र शिक्षालय नभई नेपालकै शिक्षालय भएको चर्चा गरे ।

कलेजका प्राचार्य रुपक जोशी र ख्वप उच्च माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा उत्कृष्ट विद्यार्थी, वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीलाई अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुलाई ख्वप विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने उद्देश्य राखी ख्वप विश्वविद्यालयको अवधारणा तयार गरिएको हो ।

प्रतिक्रिया