काठमाडौं – एक स्रोत केन्द्रमा स्रोत केन्द्रस्तरीय सामाजिक विषयका शिक्षकलाई एकदिने तालिम सञ्चालन भइरहेको थियो । शैक्षिक जनशक्ति विकास केन्द्रका एक प्रशिक्षक तालिममा सहजीकरण गरिरहेका थिए ।
सोही क्रममा उनले ‘शिक्षकले तालिममा शैक्षिक सामग्री बनाउने सीप पाएको तर लागू नगरेको, पाठ योजना बनाउन सिकेको तर नबनाएकोदेखि शिक्षकको कामको सुपरिवेक्षण नभएको, कक्षा शिक्षणमा विविधता नभएको, पुरानै व्याख्यान विधिको वर्चस्व रहेको र शिक्षक विद्यार्थीसामु रोल मोडल नभएको’ कुरा बताए । शिक्षक तालिमको प्रभावकारितासम्बन्धी त्रिभुवन विश्वविद्यालयको शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) तथा फूल ब्राइट कन्सल्टेन्सीले सन् २००६ मा गरेको अध्ययनको सारको रुपमा उनले उक्त तथ्य बताउँदै थिए ।
उनको कुरा भुँईमा पर्न नपाउँदै बीचैमा एक शिक्षक जुरुक्क उठेर उनको कुरामा आपत्ति जनाए ।
‘तपाइँलाई तालिम दिन पो सजिलो, भन्नलाई पो सजिलो, तालिममा सिकेका कुरा कक्षामा प्रयोग गर्न कसलाई मन पर्दैन ? हामीलाई पनि त मन पर्छ तर के कारणले त्यो प्रयोग गर्न समस्या भइरहेको छ, त्यो बारेमा कहिल्यै तपाइँले सोधीखोजी गर्नुभएको छ ?’
उनको प्रश्न आएपछि त्यहाँ सहभागी करिब ३० जनाको हाराहारीमा रहेका शिक्षकले पनि उनको प्रश्नलाई ‘सर्पोट’ गरे ।
उनले अझ ‘रिफ्रेस’ हुन आउने, नयाँ कुरा सिक्न आउने चाहनाका साथ तालिममा आएका शिक्षकहरुमाथि ‘खाली यो गरेन, त्यो गरेन’ भनेर गुनासो मात्र गर्ने गर्दा शिक्षकले आफूसँग भएको सीपलाई पनि दिन हिच्किच्याइरहेको बताए । ‘जत्ति गरे पनि कहिल्यै जस दिने होइन, बरु नगरे हाइसञ्चो भन्ने भाव भइसकेको छ, स्कुलमा न त प्रअले ग¥यो भन्छ, न त तालिम दिने निकायले नै ।’
शिक्षकमाथि यो गरेन, त्यो गरेन भनेर गुनासो गरिरहेकै कारण शिक्षकमा हिनताबोध हुँदा पनि शिक्षकले लिएको तालिमलाई कक्षाकोठामा लागू गर्न भित्रैदेखि नचाहेको अधिकांश शिक्षकको भनाइ छ ।
शैक्षिक जनशक्ति विकास केन्द्रका अनुसार देशभरिका सरकारी दरबन्दी, राहत तथा निजी स्रोतसहित सबै गरी २ लाख १८ हजार ६ सय ३३ जना शिक्षकले तालिम पाएका छन् । त्यति धेरैले तालिम पाए पनि कतिले तालिमको प्रयोग गरिरहेका छन् भन्ने कुनै तथ्यांकको अभाव छ, केन्द्रसँग पनि ।
केन्द्रले पनि सिकाइ शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउनका लागि दिइएको शिक्षक तालिम अहिलेसम्म कक्षामा नपुगेको मात्र बताउन सकेको छ । तर यसका बाधा, अडचन् र अफ्ठ्याराका विषयमा खासै चर्चा हुने नगरेको शिक्षकहरुको आरोप छ ।
‘हो हामी तालिम प्राप्त छौं, यसमा हामीलाई गर्व छ, हामीले पाएको तालिमलाई प्रयोग गर्न नपाउँदा हामीलाई पनि त दुःख लागेको छ तर के कारणले तालिमलाई कक्षामा प्रयोग गर्न सकेनौं भन्ने विषयमा कोहीको ध्यानै छैन ।’ १० महिने तालिम लिएका प्रावि शिक्षक सहदेव साखकर्मीले भने ।
‘तालिममा सिकेका कुराहरुलाई कक्षाकोठामा प्रयोग गर्ने वातावरण नै छैन, त्यो वातावरण शिक्षकले भन्दा बढी स्कुलको शैक्षिक प्रशासनले बनाइदिनुपर्छ ।’ उनले भने । उनकै कुरामा अर्का शिक्षक शिवराम बोहजुको पनि सहमति छ । उनले पनि लिएको तालिमबाट सिकेका सीपलाई प्रयोगमा ल्याउनका लागि आर्थिक, भौतिक रुपमा गा¥हो हुने र उक्त गा¥हो कुरालाई सजिलो बनाउनका लागि स्कुल प्रशासनले खासै ध्यान नदिने गरेको बताए ।
‘तालिममा सिकेका सीप प्रयोग गर्न विभिन्न भौतिक स्रोत साधन चाहिन्छ, स्रोत साधन भनेपछि बजेटसँग जोडिन्छ, कतिपय शैक्षिक सामग्रीहरु बन्दोबस्त गर्न शिक्षकलाई आर्थिक समस्या हुन्छ ।’ शिक्षक बोहजुले भने ।
‘त्यो सामग्री जुटाउन प्रअकोमा जाँदा प्रअले लेखालाई देखाउने, लेखामा जाँदा फेरि प्रअलाई नै देखाउने प्रवृत्ति छ ।’ शिक्षक बोहजुले भने । उक्त झण्झटको सिकारमा तालिम प्राप्त शिक्षक पर्दा, तालिममा सिकेका कुराहरुलाई प्रयोग गर्नका लागि स्कुलले सहयोग गर्न झण्झट मान्दा शिक्षकले पनि तालिमलाई प्रयोगमा ल्याउन झण्झटै ठान्ने गरेको उनले सुनाए ।
शैक्षिक जनशक्ति विकास केन्द्रका अधिकारीहरु कुनै पनि बहानामा शिक्षकले तालिममा सिकेका सीपलाई प्रयोगमा ल्याउन कञ्जुस्याइँ गर्न नहुने बताउँछन् । तालिम लिनु भनेको प्रयोगका लागि र शिक्षण क्रियाकलापलाई अझ प्रभावकारी बनाउनकै लागि भएकोले शिक्षक त्यस तर्फ सजग हुन आवश्यक रहेको बताउँछन् केन्द्रका उपनिर्देशक शिवकुमार सापकोटा ।
‘जबसम्म शिक्षकले पूर्ण रुपमा जिम्मेवारी लिएर काम गर्दैन, तबसम्म शिक्षकले पनि आफूलाई भन्दा अरुलाई दोषी देख्छन्' तालिमको सन्दर्भमा पनि केही व्यवहारगत समस्या, समन्वयको अभाव रहेको स्वीकार्दै उनले भने ।
शिक्षक तालिम लिएका शिक्षकले कक्षामा जानुअघि आफूले पढाउने विषयको पाठ्यक्रम अध्ययन गरेको हुनुपर्ने, शिक्षक निर्देशिका हेरेको हुनुपर्ने, आफूले पढाउने विषयको पाठ योजना बनाउनुपर्ने र पाठ योजना अनुसार विद्यार्थीमैत्री बनाउन पाठको उद्देश्य अनुसार शैक्षिक सामग्री बनाई कक्षामा लिएर जानुपर्ने भन्ने भए पनि शिक्षकसँग समय अभाव हुँदा सो काम नगरेको काभ्रेका शिक्षक युवराज दाहालको भनाइ छ ।
‘तालिममा सिकेका कुरा लागू गर्न कक्षामा वातावरण नै छैन ।’ शिक्षक तालिमको प्रयोगको अनुगमन, मूल्यांकन गर्ने त्यसअनुसारको दण्ड वा पुरस्कार के दिने भन्ने कुरा नहुँदा पनि तालिम कक्षाकोठामा नपुगेको उनको निष्कर्ष छ ।
प्रतिक्रिया