Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

पाठ्यपुस्तकमा पाठ अभाव

शनिबार, २२ माघ २०७३

काठमाडौं–विद्यालय तहको पाठ्यपुस्तकअन्तर्गत स्वास्थ्य तथा जनसंख्या शिक्षामा राखिएको ‘महिनावारीसम्बन्धी पाठ’ अपुग हुँदा महिनावारीबारेमा विस्तृतमा पढाउन नसकिएको शिक्षकले गुनासो गरेका छन् ।  

‘महिनावारीसम्बन्धी जति मात्रामा जानकारी हुनुपर्ने हो, त्यति नहुँदा विद्यार्थीले सोसम्बन्धी धेरै जानकारी पाएका छैनन् भने शिक्षकले पनि दिन सकेको अवस्था छैन ।’ कोटेश्वरको कोटेश्वर सरस्वती माविका जनसंख्या, स्वास्थ्य र वातावरण विषय शिक्षक भीमप्रसाद घिमिरेले भने । उनले विद्यालयका छात्राहरुका लागि महिनावारी स्वास्थ्य शिक्षा अत्यावश्यक भएर पनि सरकारले त्यो बारेमा ध्यान पु¥याउन नसकेको आरोप पनि लगाए ।

विद्यालयमा पनि सम्बन्धित शिक्षकले महिनावारी स्वास्थ्यको बारेमा शिक्षणको अवस्थामा समेत खुलेर कुरा नगर्नु, यसलाई लाज र फोहर कुराको रुपमा लिएको र महिनावारी स्वास्थ्यसम्बन्धी विद्यार्थीलाई चेतनामूलक नियमित कक्षाको अभाव हुँदा सामाजिक प्रताडनाको सिकारमा पर्न बाध्य भएको शिक्षकको भनाइ छ । महिनावारी स्वास्थ्यसम्बन्धी पाठको अभावमा छात्राहरु कालान्तरमा विविध स्वास्थ्य समस्यामा पर्न बाध्य हुने भएकोले महिनावारीसम्बन्धी अझ थप पाठ आवश्यक भएको शिक्षकहरुको भनाइ छ ।

‘विद्यालयमा हुने विदाका दिनहरुबाहेक महिनावारीको कारणबाट मात्र छात्राहरु एक वर्षमा थप ४० दिन विद्यालयमा अनुपस्थित हुने गरेका छन् । एक शैक्षिक वर्षमा जम्मा २०० दिन विद्यालयमा पठनपाठन कार्य हुन्छ, जुन ४० दिन भनेको २०% हुन आउँछ ।’ काठमाडौंको नीलबाराही माविका प्रअ जानुका नेपालले भनिन्, ‘यस हिसाबले विद्यालय तहको पाठ्यपुस्तकमा महिनावारीबारे पाठको अभाव भएको छ ।’

ललितपुरको बुङमतिस्थित आदर्श शौल युवक माविका शिक्षक टंकप्रसाद गौतमको भोगाइ पनि उस्तै छ । पाठ अभावले छात्राहरुलाई जानकारी दिन अप्ठ्यारो भएको उनी बताउँछन् । भक्तपुरको मेधा माविका प्रधानाध्यापक गंगाधर हाडाले पनि विद्यालयमा महिनावारी शिक्षासम्बन्धी पाठको अभाव भएको बताएका छन् ।

सोही सन्दर्भमा काम गरिरहेको वियोन्ड नेपालले महिनावारीकै कारण मात्र पनि विद्यालय जाने किशोरीहरुको पढाइ र सिकाइ दर ऋणात्मक बनिरहेको भन्दै विद्यालय–विद्यालयमा महिनावारी शिक्षालाई अझ व्यापक बनाउनु जरुरी रहेको औंल्याएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी महिनावारी शिक्षा कार्यक्रम गरिरहेको वियोन्ड नेपालले उपत्यकाका ७० वटा विद्यालयहरुमा महिनावारी शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै महिनावारीसम्बन्धी अझै पनि थुप्रै किसिमका भ्रम, मिथ्या, अन्धविश्वास रहेको उल्लेख गरेको छ । ‘महिनावारी हुँदा विद्यालय तहका छात्राहरु पीडित बन्नुपरेका छन्, संस्थाकी कार्यक्रम संयोजक सचितलोचन झाले भनिन् ।

महिनावारी सम्बन्धी जानकारी पाएकै कारण आफ्नो पढाइ सहज बनेको र महिनावारी हुँदा गर्नुपर्ने सरसफाइबारेमा पूर्ण जानकारी पाएको कोटेश्वर उमाविका कक्षा १० कि छात्रा रोशनी श्रेष्ठले बताइन् । ‘महिनावारी हुँदा मलाई आमाले समेत मैले प्रयोग गरेको प्याड घाममा सुकाउन दिनुहुन्नथ्यो’, विद्यार्थी श्रेष्ठले थपिन्, ‘तर, महिनावारीबारेमा मैले पूर्ण जानकारी पाएपछि भने मलाई केही सहज भएको छ ।’

वियोण्डका अनुसार उपत्यकाका तीन जिल्लामध्ये ललितपुरका १७, भक्तपुरका १७ र काठमाडौंका १५ गरी कूल ४९ वटा स्ुकलहरुमा महिनावारी सरसफाइ शिक्षा कार्यक्रम सञ्चालन गरेर ५ हजार छात्राहरु  लाभान्वित भइरहेका छन् ।

सो कार्यक्रम ललितपुरका विद्यालयहरुमा आदर्श कन्या निकेतन उमावि, सरस्वती उमावि, पद्म प्रकाश मावि, श्रीशान्ति उमावि, गम्भीर समुद्र सेतु उमावि, चन्डी आदर्श सरल मावि, मदन स्मारक उमावि, श्रमिक शान्ति उमावि, पाटन उमावि, जाल्पा मावि, आदर्श शौल युवक उमावि, उदय खर्क मावि रहेका छन् भने भक्तपुरमा मेधा मावि, पद्म उमावि, आदर्श आजाद उमावि, जागृति मावि, महेन्द्रग्राम उमावि, वागीश्वरी उमावि, सरस्वती विद्यँ गृह, पंचकन्या मावि, समाज सुधार मावि, आदर्श लायकु उमावि, बासु उमावि, बागेहिणी मावि, शान्ति निकेतन उमावि, तारा माविलगायत रहेका छन् । काठमाडौंका भने कान्ति इश्वरी राज्यलक्ष्मी मावि, शारदा उमावि, पद्मोदय उमावि, कोटेश्वर सरस्वती मावि, निलबाराही उमावि, शान्ति शिक्षा मन्दिर मावि, कन्या उमावि, सरस्वती निकेतन मावि, पद्मकन्या उमावि र बाल व्यवसायी केन्द्र माविहरुमा महिनावारी शिक्षा कार्यक्रम लागू भएको छ ।

‘विशेषतः पहिलो महिनावारीको समयमा एउटी किशोरीमा आउने शारीरिक, मानसिक तथा संवेगात्मक परिवर्तनले जीवन प्रतिको बुझाइमा नै फरक मोड दिने गर्दछ ।’ अनुसन्धाता झा भन्छिन् ‘यस बारेको अनभिज्ञाता वा असचेतनताले किशोरीहरु अनावश्यक रुपमा प्रताडित भइ डरलाग्दो मानसिक पीडा समेत भोग्न बाध्य भएका छन् ।’

उनले महिनावारीप्रतिको सकारात्मक ज्ञान, सीप र धारणाको अभावमा आफू माथि आइपर्ने नयाँ परिवर्तनलाई सहज रुपमा ग्रहण गर्न नसकी एकातिर शारीरिक विकृति वा रोगव्याधी ठानेर पीडा लुकाउने गरेको  र अर्कोतिर लाज र संकोचले भित्रभित्रै गुम्सिएर कुण्ठित हुन पुगेको नेपाली समाजलाई उठाउन पनि महिनावारी शिक्षाको आवश्यकता महसुस गरी वियोण्ड नेपालले विद्यालय–विद्यालयमा महिनावारी शिक्षा कार्यक्रम सञ्चालन आवश्यक बन्दै गइरहेकोमा जोड दिइन् ।

प्रतिक्रिया