Edukhabar
आइतबार, ०६ असोज २०८१
विचार / विमर्श

मौन सम्वाद

शनिबार, ०५ भदौ २०७२

- भावना शर्मा / मनोविज्ञान र मानवीय सम्वेदनाको विषयमा कविता लेख्ने शर्माको जुनको आतंक कविता संग्रह (२०५९ साल) प्रकाशित छ । सुन्ने बाल कथा संग्रह (२०६२ साल) भालुको बेगैंचामा स्वर समेत दिएकी शर्मा केही बर्ष अघि सम्म पत्रकारितामा कृयाशिल थिईन् । गणतन्त्रवादी नेता स्व.रामराजा प्रसाद सिंहको आत्मबृतान्त (२०६५ साल ) समेत लेखेकी छन् । विभिन्न पत्रपत्रिकामा फुटकर कविता प्रकाशित उनको कविता मौन सम्वाद यो साताको शिक्षा साहित्य अन्र्तगत प्रस्तुत गरेका छौं :


तिम्रा कलिला ओठहरु चुमेर ब्युँझन्छु
उदाइदिन्छु तिम्रा आँखाहरुमा
केवल तिम्रो निम्ति
म घाम / छाँया बाँच्छु .....

छोरा !
तिमी हाँस्छौ “टम एण्ड जेरी” सँग
रुन्छौ गेम प्याडको ब्याट्री सकिँदा
तिमीसंगै बदलिने मेरा भावहरु
कोरिएकै छैन कुनै किताबमा...
र त अधुरै छ तिम्रो पढाइ !

प्रोजेक्ट वर्क, मेरिट लिस्ट
होमवर्कको चटारो
कण्ठ गर्नुपर्ने कैयन् च्याप्टरहरु
कसरी भ्याउनु तिमीले ?

म छैन तिम्रा कोर्स बुकहरुमा
र हुने पनि छैन कहिल्यै

छोरा यति सम्झिनु !

म किताबहरुले कहिल्यै नपढाउने त्यो कथा हुँ

जसलाई नपढे अधुरै रहनेछौ तिमी...........

प्रतिक्रिया