Edukhabar
शनिबार, १५ मंसिर २०८१
विचार / विमर्श

गुरु, कक्षा रोज्ने कि राजनीति ?

विहीबार, १० भदौ २०७२

- रुपक अधिकारी /  नेपालको विद्यालय तहको सामुदायिक शिक्षा किन सुध्रेन ? भनेर प्रश्न गर्ने हो भने अधिकांशको पहिलो उत्तर हुन्छ, शिक्षकले गर्ने चरम राजनीति र कामचोर व्यवहार । यी दुवै कुरा शिक्षाको सुधारको नीतिसित प्रत्यक्ष जोडिएका छन् । सामुदायिक विद्यालय सुधारको अभियानमा लागेकाहरु त के भन्छन् भने, कम्तीमा शिक्षकले निम्न तहको दलगत राजनीति छाडेर कक्षामा पढाउने मात्रै हो भने सामुदायिक शिक्षाको सुधार सुरु हुन्छ । किनभने विद्यालय, विद्यार्थी, शैक्षिक स्तर र सिकाइ सुधारको मेरुदण्ड शिक्षक हो । मेरुदण्ड आफ्नो स्तरमा थेगिएर बस्न सकेन भने त्यसको भरमा थेगिएको ज्यान ठीकसित उभिन सक्दैन ।

यसो भनेर राजनीति खराब चिज हो भन्न खोजिएको पक्कै होइन । राजनीति हरेक नीतिहरुको नीति हो । राज्यका हरेक प्रणाली राजनीतिका सहायक प्रणाली मात्रै हुन् । त्यसो भए के शिक्षकले राजनीति गर्नै हुन्न ? वा शिक्षक राजनीतिमा लागेर विद्यालय, विद्यार्थी, पढाइ, सिकाइ सबै लथालिंग पारिदिए हुन्छ ? उत्तर सजिलो छैन ।

अन्य क्षेत्रमा जस्तै पेशागत हकहितको नाममा शिक्षकका पनि दर्जनौं संगठन छन् । खासमा ती शिक्षकको अधिकारका लागि भन्दा दलको गुलामी गर्न र केही मुठ्ठी भरका शिक्षकले राजनीतिक फाइदा लिन थालेका प्रपञ्च हुन् । साना वा ठूला हरेक दलका शिक्षक संगठनका गतिविधिले यसको पुष्टि गर्छ । पछिल्लो केही समयदेखि सबै दलका शिक्षकहरुको साझा मञ्च शिक्षक महासंघ गठन भएको छ । महासंघ गठनको बेलामा देखिएका विवाद कुनै पनि शिक्षक संगठन शिक्षकको पेशागत भन्दा राजनीतिक स्वार्थले प्रेरित छन् भन्ने सग्लो उदाहरण हो ।
महासंघ होस् वा दलको भातृ संगठनका रुपमा खडा शिक्षक संघ संगठन, त्यसमा आबद्ध शिक्षकहरु शिक्षक कम भद्दा राजनीतिका कच्चा कच्चा

खेलाडी बर्ता लाग्छन् । कक्षामा विद्यार्थीसित विषयवस्तुको छलफल गर्नु र सिकाइलाई प्रभावकारी बनाउनु भन्दा उनीहरु कुनै अमुक दलको भण्डा बोकेर हिंड्नुमा गर्व गर्छन् । शिक्षक हुनुभन्दा उनीहरुलाई कुनै दलको कार्यकर्ता हुनुमा गर्व छ । शिक्षण पेशा भन्दा पनि नियमित तलब आउने एउटा वाटो भएको छ । शिक्षकले जबसम्म शिक्षक भएकोमा गर्व गर्न सक्दैनन् ती कहिल्यै शिक्षक हुदैनन् । ती जबसम्म शिक्षक हुदैनन् तबसम्म देशको सामुदायिक विद्यालयको उँधो गति कहिल्यै सुध्रिदैन ।

‘शिक्षक नेता’ का क्रियाकलाप हेर्दा लाग्छ उनीहरु ठेकेदार हुन् । दलाल हुन् । तिनका राजनीतिक  भागबण्डा केन्द्रित पटके आन्दोलन देख्दा लाग्छ, यी विचारहीन पटमूर्ख गोटीहरु हुन् जो कुनै अमुक दलको अमुक योजना सफलका लागि विद्यालय बन्द गर्छन् । केटाकेटीको पढ्न पाउने अधिकारको हत्या गरेर रमाउँछन् ।

यदि तेसो हुँदैनथ्यो भने उनीहरुले पढाएरै पनि त आन्दोलन गर्न सक्थे । आम नागरिकको करबाट तलब खाने काम अमुक राजनीतिक दलको गर्ने । गुरुहरु, यसले तपाईहरु प्रतिको सम्मान घट्दै गएको छ । जब समाजमा शिक्षकको मान रहन्न ठान्नुस् अब तपाइ सम्माननीय रहि रहनु भएको छैन ।

सबै शिक्षक राजनीति गर्छन र कामचोर छन् भन्न खोजिएको होइन । जो इमानदार भएर लागेका छन् उनीहरुले आफ्नो विद्यालयको नतिजा प्रभावकारी देखाएका छन् । सिकाइलाई प्रभावकारी बनाएका छन् । विद्यालयको उपस्थिति समाजमा सम्मान योग्य बनाएका छन् ।  नतिजा ठूलो कुरो त होइन तर अहिलेसम्म दाँज्दै आइएको सामुदायिक विद्यालयको कक्षा १० मा लिइने एसएलसीको नतिजा हेर्दा पनि त्यो कुरा प्रष्ट हुन्छ । जहाँ शिक्षक कम राजनीतिमा लागेका छन्, कक्षामा नियमित पढाउन गएका छन् र विद्यालय तथा विद्यार्थीका लागि मेहनत गरेका छन् त्यहाँको नतिजा राम्रो भएको छ । पक्कै नतिजा सफलता असफलताका अन्य पनि कारण हुन्छन् । तर शिक्षक त्यसको प्रमुख कारण हो । किनभने सिकाइको अग्रभागका शिक्षक हुन्छ । वर्षौ सम्म विद्यार्थीसित शिक्षकले बिताएको हुन्छ ।

गुरुहरु ! यसो पनि भन्न खोजिएको होइन, तपाई आफ्ना्े विचार राख्न प्रतिबन्धित हुनुहुन्छ । त्यसो त हुदै होइन । संसारमा विचार विहीन शिक्षकहरु छन् भने ती लठैत हुन् । मात्रै कुरा कति हो भने आफूले आस्था राख्ने विचारले कक्षा प्रभावित भयो कि भएन ? पढाइ प्रभावित भयो कि भएन ? विद्यार्थी प्रभावित भए कि भएनन् ?

शिक्षकले कुनै राजनीतिक दलप्रति आस्थावान हुन पक्कै पाउँछन् । राजनीति प्रति आस्था राख्नु र राजनीति गर्नु बिल्कुल अलग कुरा हुन् । शिक्षकको पहिलो काम के हो ? कक्षा छाडेर झण्डा बोक्नु हो कि पाठ्यभार अनुसार कक्षा योजना बनाएर विद्यार्थीको सिकाइ प्रभावकारी बनाउनु ? शिक्षकको काम भित्ते लेखनमा जानु हो कि विद्यालयको सुधार योजनामा सहभागी हुनु ? शिक्षण समयमा शिक्षकको काम पार्टी कार्यालय धाउनु हो कि पुस्तकालय ? समग्रमा भन्दा शिक्षकको काम शिक्षक हुनु हो कि कुनै अमुक दलको कार्यकर्ता ?

शिक्षकले भन्न सक्छन्, शिक्षकलाई सेवा सुविधा छैन । शिक्षक हेपिएको छ । विद्यालयको भौतिक अवस्था गतिलो छैन । राज्यले पाठ्यपुस्तक बेलामा उपलब्ध गराउन सक्दैन । पक्कै हो, शिक्षकलाई सेवा अनुसार सुविधा कम होला । वर्षौ पढाएर अस्थायी वा ज्यालादारी भएर बस्नु परेका पीडा पक्कै होलान् । तर के देशको समग्र बजेट अनुसारको सुविधा कम हो ? शिक्षा त्यस माथि पनि विद्यालय शिक्षामा छुट्टयाइने बजेटको ८० प्रतिशत शिक्षक तलबमा खर्च हुन्छ । त्यो असी प्रतिशत खर्चको उपलब्धि समाजलाई तपाईले दिन सक्नु भएको छ ? मूख्य काम छाडेर राजनीतिमा लाग्नु निन्दनीय नै छ । त्यही भएर हो शिक्षकको आलोचना हुने ।

सरकारी बिद्यालयको खस्किदो स्तरको जिम्मेवार त्यहाँका शिक्षकनै हुन् । आफू सामुदायिकमा दुनियाँका छोराछोरीलाई पढाउने आफन छोराछोरी निजीमा पढाउने । यो कुन नैतिकताले दिन्छ ? आफ्नो पढाइ प्रति आफैलाई विश्वास छैन भने आजैका मितिबाट तपाईंले शिक्षण पेशा छाड्दा आम नागरिकका छोराछोरीको कल्याण हुन्छ । अर्को कुरा सरकारी तलब खाने र निजी विद्यलायको सञ्चालक बन्ने ? यो कुन नैतिकताले दिन्छ ? नतिजामा उत्कृष्ट देखिएका केही निजीको भन्दा भौतिक सुविधा दोब्बर रहेका सामुदायिक विद्यालयको शैक्षिक स्तर गतिलो नहुनुको कारण शिक्षक नभए अरु को हुन्छ ?

फेरि कुरा राजनीतिकै आउँछ । यसरी जानाजान सामुदायिक माथि प्रहार गरिरहेका शिक्षकलाई कारबाही गर्न खोज्दा तिनको संरक्षक बनेर तिनै दलका शिक्षक संगठन आउँछन् । उनीहरु नकाम गर्नेलाई दन्ण् होइन पुरस्कृत गर्न चाहन्छन् सधैँ । शिक्षक दबरन्दी मिलान राजनीतिक दलका तिनै भातृ संगठनको असहयोगले अहिले सम्म हुन सकेको छैन । खेताला शिक्षक राखेर आफू अन्य व्यवसाय गर्ने, विदेशिने वा पूर्णकालीन भएर राजनीतिमा लाग्ने काम शिक्षकलेनै गरेका छन् । तिनलाई कारबाही ? माथि नै उल्लेख गरियो त्यसको संरक्षण दलका तिनै भरौटे शिक्षकबाट हुन्छ । शिक्षकहरु कक्षा छाडेर राजनीतिमा यस्तै शक्ति देखाउन लाग्छन् । शिक्षक हुदाँ आउने सम्मान भन्दा यस्तै डनगिरी र दलालीबाट उनीहरु सन्तुष्ट भइरहेका छन् ।

सर्वमान्य सिद्धान्त हो मानिस राजनीतिक प्राणी हो । सत्य पनि यहि हो  । तर ‘राजनीतिक प्राणी’ हुनु र ‘राजनीति गर्नु’ बिल्कुल फरक बिषय हुन् । राजनीतिक प्राणी को मतलब राजनीतिक रुपले सचेत हुनु वा आफ्नो अधिकारको खातिर खराब पद्धति संग लड्नु पर्छ भन्ने बुझाई हो भने राजनीति गर्नु भनेको चाँही राजनीतिलाईनै पेशा बनाएर कुनै दल बिशेषको झण्डामुनि गोलबद्ध हुनु हो  ।

राजनीतिसंग सम्बन्धित यी दुवै परिभाषा भित्र रहेर क्रियाकलाप गर्न पाउनु हरेक व्यक्तिको नैसर्गिक अधिकार हो । तर जनताले तिरेको राजश्वबाट तलब सुबिधा लिएर तोकिएको कार्य नगरी राजनीति गर्नु चाँही पेशा प्रतिको गद्दारी हो । यो अपराध हो । मान्यता के छ भने नैतिक आचारणमा यसरी पतन हुने र अपराधमा संलग्न हुनेहरु शिक्षकजस्तो गरिमामय पदका लागि अक्षम हुन्छन् । तिनले त्यो सम्मानित पद छाडेर मन लागको पेशा व्यवसायमा लाग्नु राम्रो हुन्छ ।

आदरणीय शिक्षक ! यसको अर्थ यो होइन साराका सारा शिक्षक राजनीतिमै लागे र काम चोर भए । जो शिक्षणको मर्यादामा बसेर शिक्षक भइरहेका छन् उहाँहरुप्रति मेरो सादर सम्मान छ । जो काम चोर छन् ती राजनीतिमा लागेका छन् । दलको भातृ संगठनका रुपमा शिक्षक संगठन बनाएका छन् । पढाइ छाडेर दलको झण्डा बोकेर आफ्नो नैतिकतामाथि आफै प्रहार गरिरहेका छन् ।

आम जनताले कर तिरेका छन् । त्यसको एक हिस्सा शिक्षकको तलब भएर तपाईँको खल्तीसम्म आएको छ । त्यहि करको सम्मानका लागि, आफ्नो गाँसका लागि नै सही आएको त्यही रुपैयाको सम्मानका लागि आम नागरिकका सन्ततिको भविष्यप्रति खेलबाड नगर्नुस् । अभिभावक आफु पसिना बगाएर आफ्ना सन्ततिलाई शिक्षाको उज्यालो देखाउन चाहन्छन् । उसले तपाईंको राजनीति बुझ्दैन ।

उसलाई तपाइको झण्डाको पनि मतलब छैन । उसलाई त बस आफ्नो सन्ततिको उन्नति हेर्नु छ, कथम् कदाचित तिनले पढी बढी आफुलाई दुखको सागरबाट पार लगाऊलान् कि भन्ने झिनो आश छ । उसको त्यो झिनो आशाको त्यान्द्रो चुडाउने कार्यमा नलाग्नुहोस् । राजनीति छोडेर शैक्षिक गुणस्तर अभिबृधिमा लाग्नुहोस । सामुदायिकमै सोचेजस्तो र खोजेजस्तो शिक्षा पायो भने कोही पनि महंगो शुल्क तिर्न निजीको ढोका चाहार्दैन । यो सत्यको बोध तपाईं शिक्षकले गर्नु जरुरी छ ।

त्यसका लागि तपाईंले जम्मामा गर्नु पर्ने एउटै काम हो, आफूलाई शिक्षक हूँ भन्ने नबिर्सिदिए पुग्छ । शिक्षक शिक्षकमात्रै भइदिए पुग्छ ।

(क्यानडा स्थित एडमण्टनमा पावर ईञ्जिनीयरिङ् अध्ययनरत अधिकारी नेपालमा शिक्षण पेशामा संलग्न थिए)

प्रतिक्रिया