Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

श्रीपञ्चमीको नाममा निजी विद्यालयहरुद्वारा ‘ब्ल्याकमेलिङ’

बुधबार, १९ माघ २०७३

काठमाडौं – श्रीपञ्चमी अर्थात् सरस्वतीको पूजा र आराधना गर्ने दिन । हिन्दू परम्परामा सरस्वतीलाई विद्याकी देवीको रुपमा पुजिन्छ । अधिकांश विद्यालयहरुले श्रीपञ्चमीको दिनमा सरस्वती पूजा गर्ने गरेका छन् । यो बर्ष बुधबार परेको श्रीपञ्चमीको दिनलाई विद्यालयहरुले आआफ्नै तरिकाले मनाइरहेका छन् ।

श्रीपञ्चमीको दिनमा बालबालिकाको अक्षराम्भ गराएको खण्डमा बच्चाको पढाइ ज्यादै राम्रो हुने मान्यता पनि छ । सरस्वतीको पूजा–आराधना गरे पढाइमा सफलता मिल्ने ठान्छन् अभिाभावकहरु ।

राजधानी लगायत देशभर सञ्चालनमा रहेका निजी विद्यालयहरुले यो दिनलाई आराधना र मुल्य मान्यता भन्दा पनि पर ब्यापारसँग जोडेका छन् । यो दिनको मौका छोपी निजी विद्यालय मात्र नभएर प्रारम्भिक बालविकासको लागि खुलेका विभिन्न नामका मन्टेश्वरी र किड्नरगार्डेनलगायतले विद्यार्थी बढाउने र तान्ने अवसरका रुपमा उपयोग गरेका छन् । ती विद्यालयहरुमध्ये कुनैले आजकै दिन स्कुल भर्ना गरे भर्ना शुल्क नलाग्ने त कुनैले भर्नामा ५० प्रतिशत छुट दिने, विभिन्न उपहार दिनेजस्ता प्रलोभनमा अभिभावकलाई पारेका छन् ।

अर्थात् निजी विद्यालयले विद्यार्थी संख्या बढाउने अवसरका रुपमा श्रीपञ्चमीलाई उपयोग गरेका छन् । निजी विद्यालय सञ्चालकहरु भने अवसर भएकोले बच्चा बढाउने उपाय खोजेको भन्दा अभिभावकलाई दिएको सहुलियत भएको दाबी गर्छन् ।

उनीहरुले त्यस किसिमको दाबी गरे पनि शिक्षासँग सरोकार राख्ने अभिभावक तथा मनोविद्ले भने श्रीपञ्चमीको नाममा भएका यस्ता कृयाकलापलाई अभिभावकको मनोभावनासँग खेलेको खेलको रुपमा लिएका छन् । निःशुल्क भर्ना निजी विद्यालयहरुको व्यापार गर्ने काईदा भएको भन्दै सरोकारवालाहरुले आलोचना समेत गरेका छन् ।

विद्यालयको प्रचारप्रसार मात्र नभएर यो दिन बालबालिकालाई पठनपाठन गराए चाँडै पढ्न÷लेख्न जानिन्छ भन्ने मान्यतालाई प्राइभेट स्कुलहरुले अभिभावकहरुसँग इमोश्नल ब्ल्याकमेलिङ गरेको बताउँछिन् मनोविद् गंगा पाठक । ‘त्यसरी भर्ना गरेका मण्टेश्वरीहरु कुन स्टायण्डर्डबाट चलेको छ ? भन्नेसम्म पनि हेर्ने चलन छैन, न अभिभावक सचेत, न त सरकार नै । यो बेमौसमी तरकारी खेतीजस्तै गरी मौलाइरहेको छ ।’ पाठकले भनिन् । त्यसैले अभिभावक सजग हुनुपर्नेमा उनको जोड छ ।

अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले यस्ता कृयाकलापको नियमन गर्न अत्यावश्यक भइसकेको भए पनि सो विषयमा जिल्ला शिक्षा कार्यालयका अधिकारीहरु मौन रहने गरेको सुनाउँछन् । ‘नियमन गर्नुपर्ने निकायका पदाधिकारीहरु नै सो दिन छुट पाइने लोभमा त्यस्ता मण्टेश्वरीतिर जाने गरेका छन् ।’ उनले भने ।

भगवानको नाममा विज्ञापन गरेर अभिभावकलाई लोभ्याएको बताउँछिन्, अर्की मनोविद् मिनाश्री दाहाल ।  ‘अभिभावकहरु पनि निः शुल्क भनेको नाममा लोभमा परेर केही नहेरी बच्चालाई लग्ने गरेका छन् । यो सन्दर्भमा अभिभावक नै जिम्मेवार हुनु जरुरी छ ।’ मनोविद् दाहाल भन्छिन् ।

शिक्षा क्षेत्रमा बढेको विकृति र विसंगतिलाई नियमन गर्ने निकायहरुले आँखा चिम्लँदा निजी विद्यालयहरुले गर्ने मनोमानीको पछिल्लो उदाहरण हो श्रीपञ्चमी । चाहे भगवानको नाम बेच्न नै किन नपरोस् शिक्षामा ब्यापार गर्नेहरु त मौकाको पर्खाईमा भै हाल्छन्, उनीहरुको चलाखीमा अभिभावकहरु सजग हुनु आवश्यक छ ।

प्रतिक्रिया