Edukhabar
सोमबार, २६ कार्तिक २०८१
विचार / विमर्श

यार्चागुम्बा टिपिरहेकी केटी

शनिबार, १९ भदौ २०७२

- भोजराज न्यौपाने / दुई दशकदेखि नेपाली कवितामा चिनिएको नाम हो भोजराज न्यौपाने । दोलखाका न्यौपाने सरल शब्दमा प्रभावशाली कविता लेख्ने कविका रुपमा चिनिएका छन् । हालै प्रकाशित उनको कविता संग्रह छुटेको जुत्ता चर्चामा छ । यही संग्रहबाट कवि न्यौपानेको कविता यार्चागुम्बा टिपिरहेकी केटी यसपटक :

त्यही हिमालको फेदीमा
ऊ टिप्दै छे यार्चागुम्बा
हिउँजस्तै स्निग्ध मन लिएर ।

गाउँ केटाकेटीविहीन छ
किनभने मास्टरले स्कुल पनि
लेकतिरै सारेका छन् ।
साथीसँगै लेकमा उकालो लाग्दा
झोला भरिएको छ सामलले
मन भरिएको छ घरको मायाले
तैपनि ऊ भोलि फर्कने आशामा
आफ्नै गन्तव्य रेखामा
आफैँलाई डो¥याउँदै छे ।

उसलाई थाहा छैन
केको औषधी हो यार्चागुम्बा ?
मात्र थाहा छ—
यार्चागुम्बा टिप्नु भनेको
पैसा कमाउनु हो ।
उसलाई त्यही पैसाले
किताब किन्नु छ ।
उसलाई त्यही पैसाले
नयाँ जामा लगाउनु छ ।
दुईचारवटा चकलेट भाइबहिनीलाई
र, अलिकति नुनतेल बाआमालाई दिनु छ ।

हिउँ–पहिरोको छातीमै छे ऊ
हिउँको चिसोले
कठ्याङ्ग्रिएका उसका पैताला
र, कलिला हातहरूमा
बालअधिकारका कुनै दस्तावेज छैनन् ।
बालबालिकाले श्रम गर्नु नपर्ने
उज्याला भविष्यका सुदूर मार्गचित्र छैनन्
त्यसैले ऊ व्यस्त छे
यार्चागुम्बा टिप्न
र, यार्चागुम्बासँगै गाँसिएको भविष्य टिप्न ।

प्रतिक्रिया