Edukhabar
सोमबार, २९ पुस २०८१
विचार / विमर्श

सा : विद्या या विमुक्तयेको मर्म र शिक्षाको व्यापारमा संलग्न माननीयहरु

“सा : विद्या या विमुक्तये” यो प्रसिद्ध वाणीको उद्गम नेपाल हो । शायदै कमैलाई मात्र जानकारी होला, यो भेदको । यो वाणी सर्व प्रथम व्यक्त गर्ने व्यक्ति हुन् ऋषि याज्ञवल्क्य । याज्ञवल्क्य मिथिलाका राजा जनकका गुरु पुरोहित हुन् । यो “साःविद्यायाविमुक्तये” वाणीको अर्थ हो – विद्याआर्जन कुनै वन्धन वा स्वार्थबाट हुनु हुँदैन । स्वतन्त्र र निर्भय रुपमा हुनु पर्दछ ।

पूर्विय दर्शनमा मनुस्मृतीको जति महत्व छ, त्यति नै महत्व शिक्षा जागरणको क्षेत्रमा  याज्ञवल्क्य स्मृतिको मानिन्छ । शिक्षालाई कसरी सर्वव्यापी र सर्वकल्याणकारी बनाउने भन्ने चिन्तन आजको नभएर तत्कालिन समयकै हो । जुन कुराको पुष्टी याज्ञवल्क्य स्मृतिको अध्ययनबाट हुन्छ ।

ऋषि याज्ञवल्क्यको महिमा राजा जनकको आर्दश राज्यको जगमा पाईन्छ । उनी हालको मिथिला अर्थात जनकपुर राज्यमा वस्थे । आफ्ना गुरु (ऋषि) ले उनको ज्ञान र वाकपटुताका कारण राजा जनकको दरवारमा यज्ञवाही गर्न पठाउँथे । एक दिन यज्ञ हमनका निम्ती उनी मिथिला दरवार पुग्दा राजा सभामा रहेछन् । उनले गुरु पुरोेहित आगमन भएको खवर नै पाएनछन् । याज्ञवल्क्यले त्यो विहानीको प्रहार दरवारमा प्रतिक्षामा विताउनु परेछ ।

त्यसले गर्दा उनमा केही नमिठो अनुभव भएछ । यज्ञहवनका लागि गुरु पुरोहित आएको समेत कुनै वास्ता नभएको ठानेपछि उनी दुःखी हुनु स्वाभाविक पनि हो । धेरै लामो प्रतिक्षा पछि फर्किन लागे छन् । दरवारका एक सेवकले उनलाई अझै केहीबेर बस्न आग्रह गरेछन् । तर उनी आफ्नो वेवास्ताका कारण वस्न भन्दा फर्किनु नै उचित ठानेछन् । फर्किने क्रममा आफैले ल्याएको नैवेद्य सामाग्री दरवार कै आँगनमा मिल्काएर हिडेँछन् । त्यो नैवेद्य एउटा सुकेको काठको मुढोमा परेछ । नैवेद्य पर्ने वित्तिकै त्यो मुढो पल्लवित (आकंकुरित) भएछ ।

सभा सम्पन्न पश्चात राजा जनक बाहिर निस्किएछन् । बाहिर सुकेको काठको मुढो पल्लवित भएको देख्दा उनी आश्चर्य चकिंत भएछन् ! कारण सोधखोज गर्दा सेवकले त्यही घटनाको स–विस्तार जानकारी गराएछ ।

यता याज्ञवल्क्य आफ्नो गुरु समक्ष आइ पुगेछन् र दरवारमा आफुलाइ गरिएको व्यवहार जस्ताको तस्तै सुनाएछन् । त्यो सुनेर गुरुले दरवारमा अनिष्ट हुने भय प्रकट गरेछन् । आर्दशवादी राजाको राज्यमा उनैको मानोमा गुरुकुल चलेको र त्यही गुरुकुलबाट याज्ञवल्क्य प्रशिक्षित थिए । तर पनि उनले ती सबै कुराको हेक्का नै राखेनन् । आफुले खाएको मानोमा बेवास्ता नगर्न गुरुले आग्रह समेत गरे ।

तर उनलाई फर्किएर दरवारमा जान मन लागेनछ । शिक्षा र ज्ञानले परितोषित याज्ञवल्क्यले त्यतिवेला भनेछन् । विद्या त कुनै बन्धनबाट प्रवाहित गरिनु हुँदैन । बरु म दरवारमा जानुको सट्टा अन्त कतै जान्छु र यस्तै गुरुकुल चलाउँछु, भन्ने निर्णय गरेछन् । त्यसै वेला उनले भनेको वाणी हो –   साः विद्या या विमुक्तये ।

त्यस पछि उनी त्यस राज्यवाट वाहिरएर अन्त कतै शिक्षा प्रवाहको प्रवन्धमा जुटेछन् ।  उनले पढेको गुरुकुल दरवारको मानोमा संचालित भएकोले राज आज्ञाको पालना गर्नुपर्ने बन्धन थियो । तर उनले चलाएको गुरुकुलमा कुनै वाचा बन्धनको अपेक्षा थिएन । विशुद्ध सर्वजन हिताय, सर्वजन सुखायःसहित  विमुक्तज्ञानको अपेक्षा मात्र थियो ।

उनले शिक्षणशाला अर्थात गुरुकुलको मन्त्रनै साःविद्या या विमुक्तये बनाएर शिक्षा प्रदान गरिरहे । विद्या, कला र कौशलका पारंगत याज्ञवल्क्यको उक्त कार्यको पूर्विय दर्शन शिक्षाशास्त्रमा महिमाका रुपमा उल्लेख छ । अहिले सम्म पनि उक्त वाणीको स्मरण गरिन्छ मुक्त कण्डले प्रशंसा गरिन्छ ।

त्यसो त अहिले पनि उक्त वाणीको चर्चा नेपाल तथा भारतका केही गुरुकुलमा गरिन्छ । तर नेपालको शिक्षा नीति निर्मातालाई यस बारे खासै ज्ञान भएको पाइँदैन । नेपाली माटोको ज्ञान परम्परा र शिक्षा पद्धती भिल्लका देशको मणी बन्दै गैरहेको छ ।

भनिन्छ गुरुकुलीय शिक्षाबाट नै भगवान राम र कृष्ण पनि प्रशिक्षित थिए । राम वशिष्ठ र विश्वमित्रका शिष्य थिए भने कृष्ण सांदीपानी ऋषिका शिष्य थिए । पूरातन कालको ज्ञान कै कुरा गर्ने हो भने, पाणिनी, याज्ञवलक्य र व्यास पनि नेपाल कै सन्तान हुन् । जसको आर्दश विद्या र कर्मको क्षेत्रमा पूर्विय दर्शन र भारत वर्षमा उचो स्थान छ । नेपाली नेता र शासक   भारतका कलुषित नेताको सुक्तिबाट आचमन गरेर राजधर्म निर्वाह गर्न लालयित रहेपनि पूरातन भारत भने नेपाली भुमीका पुत्रहरुको दिव्यवचन र स्मृतीवाणीमा निर्भर थियो भन्न सक्ने आधार छन् ।

दान र कर्तव्य भावनाले शिक्षा प्रवाह हुन्थ्यो । तर आजको समाजमा शिक्षा व्यापारको हिस्सा बन्नपुगेको छ । सन्तान बजारका 'कमोडिटी' बन्नपुगेका छन् । आर्दश राज्यको कल्पना गर्ने नेताहरु नै शिक्षालाई निजीकरण गर्ने ध्येय र स्वार्थमा छन् । जहाँ शिक्षा बजारको उत्पादन भन्दा महंगो भएपछि आत्म पुलकित आन्नदमा लिप्त छन् भने कसरी समाज समृद्ध बन्ला ? भन्नु को तात्पर्य शिक्षा मौलिक र राज्यको दायित्वको हुनु पर्छ भन्ने मान्यता हो ।

हामी स्मसान घाटका नर मानव बन्ने की ? पवित्र र स्वतन्त्र भूमिका नागरिक ? हामीले आफै आफूलाई इतिहासको कसीमा राखेर तौलने की ? वर्तमान शिक्षामा कस्तो परिवर्तनको आवश्यकता छ ? शिक्षाको दायित्व समाज, सरकार वा धनाढ्यको कस्को हो ? यी सबै कुरामा विमुक्त भएर चर्चा गर्नु पर्ने भएको छ । शिक्षालाई समाजसँग कसरी स्थापित गर्ने ? शिक्षाको विभेदलाइ कसरी मुक्त गर्ने भन्ने चिन्तनको आवश्यकता छ ? नकी शिक्षामा गरिएको व्यापारबाट थैली बुझाएर लोकतन्त्रको धरोहर संसदमा प्रवेश गर्नु ।

शिक्षाको व्यापारमा संलग्न माननीयहरुलाई अवगत होस्, शिक्षाले व्यक्ति, व्यक्तिले कुटुम्ब, कुटुम्बले समाज, समाजले राष्ट्र निर्माण हुन्छ । यदि तपाइहरुको कर्तव्य राष्ट्र निर्माण हो भने शिक्षालाई व्यापारिक सोचबाट विमुक्त गर्नु आवश्यक छ । त्यो नै तपाइहरुको पहिलो कर्तव्य बन्न सक्नु पर्दछ ।

व्यापारबाट विमुक्त विद्याबाट राष्ट्र निर्माणको कल्पना गर्न सक्नुहोस् । अनि मात्र राष्ट्र र राष्ट्रियता बलियो हुनेछ । हैन भने शिक्षाबाटै गुलामी शुरु भएको छ । त्यो गुलामीले अन्नतः पहिचानको अस्तित्व नैं संकटमा ल्याइदिने छ । दाताको अनुग्रहमा मन्त्री र कर्मचारीको विदेश मोहबाट मुक्त भएर मौलिक शिक्षाको संरक्षण गर्न सकेनौ भने हाम्रा सन्तती आर्दश र स्वाभिमानी नागरिक नभएर कृपा पात्र मात्र हुने छन् ।
त्यसैले मुलुकको शिक्षा पद्धती र प्रणालीमा ध्यान दिन आवश्यक छ । साथै समय सापेक्ष  परिमार्जित गर्दै राष्ट्र र राष्ट्रियताको पहिचान एवं बोध गराउन सक्नुपर्छ । हाम्रो शिक्षामा मस्तिष्क, हात र हृदय तीनै अवयवको उपयोग हुने गरी विकास गर्न आवश्यक छ । अनि मात्र हामी आत्मनिर्भरको दिशामा अघि बढ्न सक्नेछौं । शैक्षिक ज्ञान कला र कौशलले परिपूर्ण साथै दृढ संकल्पित र आत्म विश्वासी बनाउन आवश्यक छ । ज्ञान धारामा भाषा ठूलो बनाइनु हुदैन ।

भाषाको कुरा गर्दा चीन, रुस, जर्मन र जापानले गरेको विकासलाई स्मरण गरे पुग्छ । उनीहरुको विकास भाषाले रोकिएन । उनीहरुको भाषा भन्दा पूरानो भाषाको जगमा हाम्रो भाषा छ । पूरानो भाषा र ज्ञानलाई जग र आधार बनाएर हाम्रो भूमीको ज्ञानलाई पुर्नताजगी गर्न मात्र सक्यौ भने, हाम्रा सन्तती निरीह नभएर ज्ञानले शुसोभित र दातव्य समेत बन्न सक्ने छन् ।

पूरातन ज्ञान धारालाइ समेत अन्वेषण गर्दै आधुनिक सभ्यताको यर्थाथतालाई आत्मसात् गरेर शिक्षाको विकासमा नीति निर्माण गर्नु आवश्यक छ । त्यसका लागि स्वदेश–विदेश वा प्रवासमा जो जहाँ छौ, त्यहीँबाट योगदान गर्न हामी सबैले ध्यान दिने की ?

प्रतिक्रिया