Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

प्रधानाध्यापक नियुक्तिमा दलीय राजनीति, पठनपाठन अस्तब्यस्त

आइतबार, १६ माघ २०७३

भक्तपुर– दलीय राजनीतिका कारण प्रधानाध्यापक नियुक्ति विवादले तीन महिनादेखि जिल्लाको एक विद्यालयमा पठनपाठन अस्तब्यस्त भएको छ । आफू निकट शिक्षक राख्न दलका कार्यकर्ता तारन्तार विद्यालय आउन थालेपछि शैक्षिक वातावरण पनि प्रभावित भएको छ । ‘यो विवादले शिक्षकले तलब खान पाएका छैनन्, विद्यालयमा विभिन्न दलनिकटका व्यक्तिहरु आएपछि शैक्षिक वातावरण पनि बिग्रिएको छ’, विद्यालयमा कार्यरत एक शिक्षकले भने ।

ठिमीस्थित आदर्श लायकु माध्यमिक विद्यालयकी निमित्त प्रअ विद्यादेवी चित्रकारले उमेर हदका कारण गत मसिर १९ गते अवकास पाए पछि सो विद्यालयमा कसलाई निमित्त दिने भन्ने विषयमा विवाद बढेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगारम श्रेष्ठको अध्यक्षतामा मंसिर १२ गते बसेको बैठकले शिक्षक बुद्धिकुमार घोलाई निमित्त प्रअ बनाउने निर्णय गरेको थियो । सोही विद्यालयका अर्का शिक्षक धु्रब हमाललाई प्रधानाध्यापक बनाउन ुपर्ने भन्दै अर्को समूहले उक्त निर्णयको विरोध गरेपछि विद्यालयका विद्यार्थीदेखि शिक्षकसम्म विभक्त भएका छन् ।

स्रोतका अनुसार शिक्षक घो एमाले निकट र हमाल कांग्रेस निकट शिक्षक हुन् । प्रअ बन्ने विषयमा एमाले र कांग्रेसबीचको लडाइँको मारमा शिक्षक र विद्यार्थी परेका छन् । यसले गर्दा पढाइ पनि प्रभावित भएको विद्यार्थीको भनाइ छ ।

‘सर आउनुहुन्छ, तर पहिलाजस्तो गरी पढाउनुहुन्न, कक्षा चलिरहेकै बेला पनि ल, पढ्दै गर भन्दै बाहिर जानुहुन्छ, फेरि कक्षामा फर्कनु हुन्न, हामीलाई क्लासवर्क र होमवर्क पनि दिएका छैनन् ।’ कक्षा १० का एक विद्यार्थीले भने ।

‘परीक्षा आउन लागिसक्यो, अहिलेसम्म कोर्स सकाउनेतिर शिक्षकले ध्यान दिएका छैनन्, कक्षामै हामीसँग हेडसर को भए हुन्छ ? भनेर सोध्नुहुन्छ ।’ कक्षा ९ का अर्का एक छात्राले भनिन् ।

अहिले निमित्त प्रअ बनेका घो २०६३ सालमा स्थायी भएका थिए भने २०७२ साल असोज ८ गते मावि द्धितीय पदमा बढुवा भएका थिए । अर्का शिक्षक हमाल २०५८ मा अस्थायी नियुक्ती पाइ, २०६३ साल कात्तिक २९ गते स्थायी भए पनि घोभन्दा डेढ वर्षअघि अर्थात् २०७१ साल जेठ ४ गते बढुवा भएका हुन् । ‘ती दुईको आपसी टकराव र आफू नै वरिष्ठ शिक्षक हुँ भन्ने दाबीको मारमा विद्यार्थी परेका छन् ।’ एक शिक्षक भन्छन् ।

कसलाई प्रअ बनाउने भन्ने विषयको विवादम विद्यार्थी मात्रै हैन शिक्षकहरु स्वयं परेको अर्का शिक्षक बताउँछन् ।

'विद्यार्थीलाई मात्रै मार पर्यो के भन्नु र ? शिक्षकहरु नै पठन पाठनमा ध्यान दिन छाडिसके, न नेतृत्वले सही दिशा दिन सकेको छ, न शिक्षक आफैं जिम्मेवार हुन नै सकेका छन्' ती शिक्षकले बताए । प्रअ जोसुकैलाई बनाउने भए पनि विद्यार्थीको पढ्न पाउने हकलाई शिक्षकले नै बेवास्ता गरेको ती शिक्षकले बताए ।

शिक्षा ऐनले शिक्षकलाई राजनीतिक रुपमा सक्रिय हुन बञ्देज लगाएको छ ।

विद्यालयमा हाल ३० जना शिक्षक तथा ६ सय विद्यार्थी छन् ।

पढाइका सन्दर्भमा विद्यार्थीबाट कुनै गुनासो नआएको स्रोतव्यक्ति राज्यलक्ष्मी श्रेष्ठ बताउँछिन् । आफूहरु विद्यालयमा जाँदा निमित्त प्रअकै कारणले पढाइमा गड्बडी आउन नहुने जनाउँदै सो विषयमा सोधी खोजी गर्ने विद्यालय निरीक्षक रुद्र शर्माले बताए ।

फोटो : गुगल

प्रतिक्रिया