Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

शिक्षाका योजना मन्त्रीको रहर, रंगीन पाठ्यपुस्तक घोषणामै सीमित

शुक्रबार, १४ माघ २०७३

काठमाडौं– शिक्षा मन्त्रालयले आउँदो शैक्षिक सत्रदेखि कक्षा १ र २ मा रंगीन पाठ्यपुस्तकको प्रयोग गरी पठनपाठन गराउने घोषणा गरे पनि कार्यान्वयन नहुने निश्चित भएको छ ।

‘शैक्षिक सत्र सुरु हुुनुभन्दा १५ दिनअघि पाठ्यपुस्तक पुग्नुपर्छ तर कक्षा १ र २ का लागि भने पुस्तक नै छाप्न सुरु गरिएको छैन ।’ पाठ्यक्रम विकास केन्द्रका एक अधिकारीले भने, ‘यस हिसाबले शैक्षिक सत्र अगावै विद्यार्थीका हातमा रंगीन पाठ्यपुस्तक पुग्न सक्तैन ।’

आगामी १६ दिनपछि नयाँ शैक्षिक सत्र सुरु हुने हिमाली जिल्ला मनाङ, मुस्ताङ, जुम्ला, हुम्ला र डोल्पामा मात्र नभएर तीन महिनापछि शैक्षिक सत्र सुरु हुने अन्य जिल्लाका लािग पनि छाप्न नसकिने भएपछि रंगीन पाठ्यपुस्तक घोषणामै सीमित हुने निश्चित भएको हो ।

पाठ्यपुस्तककै कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण घटेको निश्कर्ष निकाल्दै शिक्षा मन्त्रालयले रंगीन पाठ्यपुस्तकको अवधारणा ल्याए पनि सरकारकै कारण उक्त अवधारणा सफल नहुने देखिएको सरोकारवालाहरु बताउँछन् । ‘सरकारले आगामी शैक्षिक सत्र २०७४ बाटै कक्षा १ र २ का लागि रंगीन पाठ्यपुस्तक प्रयोग गर्ने घोषणा गरेको थियो, तर त्यसको लागि अझै काम गर्न सकेको छैन ।’ जनक शिक्षा सामग्री केन्द्रका एक कर्मचारीको भनाइ छ ।

पाठ्यक्रम विकास केन्द्र र जनक शिक्षा सामग्री केन्द्रका अनुसार अहिले सम्म पनि पुस्तक छपाइको काम अघि बढेको छैन । केन्द्रका प्रशासन प्रमुख एवं प्रवक्ता कपिल पोखरेलले कक्षा १ देखि ५ सम्म पुस्तक छाप्ने जिम्मा निजी छापाखानालाई दिइएको बताउँदै रंगीन पाठ्यपुस्तक छपाइको विषयमा त्यति जानकारी नभएको सुनाउँछन् ।

उनले १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएका संस्थाहरुकै कारण रंगीन पाठ्यपुस्तक छपाइमा ढिलाइ भइरहेको बताए पनि पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको निजी छापाखाना सञ्चालक र सरकारबीचको कुरा नमिल्दा पुस्तक छाप्ने काम हुन नसकेको स्रोतको भनाइ छ ।

त्यसो त शिक्षा विभागका केही अधिकारीहरु भने रंगीन पाठ्यपुस्तक छपाइ र वितरणलाई मन्त्रीको रहरमात्र भएको बताउँछन् । ‘मन्त्री भएको बेला के के न गर्ने भनेर हचुवाको भरमा घोषणा गर्छन्, त्यसको मारमा शिक्षाका निर्णय कार्यान्वयन गर्ने निकाय पर्छन् ।’ पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलप्रति एक कर्मचारीले आक्रोश व्यक्त गरे ।

जनक शिक्षा सामग्री केन्द्रको प्रवन्ध सञ्चालकको समेत जिम्मेवारी सम्हालिरहेका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने निजी प्रकाशन संस्थाले विभिन्न बहाना बनाएर किताब छाप्ने काम सुरु नगरेको जानकारी दिँदै भने, ‘चिल्लो कागज भएकोले कितावको बाइन्डिङमा समस्या हुने कुरा बाहिर आएको छ, यही कारण निजी प्रकाशनबाट किताब छाप्न आनाकानी भइरहेको छ । तर कुनै पनि बहानामा पाठ्यपुस्तक छाप्ने काम रोक्न हुन्न ।’

स्रोतका अनुसार अघिल्लो वर्षसम्म खस्रो कागजमा पुस्तक छपाइ भइरहेकोमा यो वर्षदेखि चिल्लो कागजमा रंगीन छपाइ गर्दा आर्थिक भार पर्ने मात्र नभएर प्राविधिक समस्या आउने भन्दै पुस्तक छपाइको जिम्मा पाएका प्रकाशन संस्थाहरुले काम नगरेका हुन् ।

शिक्षा विभागका अनुसार कक्षा १ र २ मा गरी १५ लाख ५ सय ३५ थान पाठ्यपुस्तक आवश्यक छ ।

प्रतिक्रिया