Edukhabar
बुधबार, १२ मंसिर २०८१
विचार / विमर्श

सीताराम दाइ

शनिबार, ०२ असोज २०७२

- छवि अनित्यका कविताले मानवीय स्वभावमा फैलँदै गएका विकृति प्रति झापड हान्ने हैसियत राख्छन् । गाउँले जीवन, समाज र प्रकृतिको रङ्ग भर्ने क्रममा शहरिया जीवनमा देखा परेका विसङ्गति उनको लेखनको मुख्य विषय हो । कथा र कविता लेखनमा सकृय उनी मकवानपुरको हेटौंडामा शिक्षण र पत्रकारितामा समेत कृयाशिल छन् । भानु श्री रचना पुरस्कार, २०७० एवम् राष्ट्रिय कविता महोत्सव २०७१, इटहरीमा प्रथम अनित्यको कविता संग्रह 'हल्ला'(२०७१) प्रकाशित छ । शिक्षा साहित्य श्रृखला अन्र्तगत यसपटक उनकै कविता - सीताराम दाइ

एकैपटक हो – तिमीले र मैले
गुरु मानेको यो समयलाई ।
सीताराम दाइ,
समय–घण्टी बजाउँदै कुदिरहे,
हामी कुदिरह्यौँ
प्रत्येक घन्टीका पछिपछि ।

सीताराम दाइ कहिल्यै गुरु बनेनन्,
समयले कहिल्यै चेलो मानेन उनलाई ।

गोरु जस्तै जोतिनेहरु – तिमी र म,
सीताराम दाइका
प्रत्येक घन्टीदेखि घन्टीसम्म
मेट्नका लागि लेखिरह्यौँ वा लेख्नका लागि मेटिरह्यौँ !

सिद्धान्त रटिरहे नानीहरु,
आदर्श घोटिरहे शिक्षकहरु,

हामीले नानीहरुलाई व्यवहार सिकाउनै सकेनौँ ।
प्रत्येक दिनका घण्टीहरुपछि – हामीले देख्यौँ–मात्रै भेडाहरु,
हामी मात्र गोठालो शिक्षक ।
सीताराम दाइ !

हामी समयको गुरु बन्छौँ कि बन्दैनौँ ?
हामी समयमा गुरु बन्छौँ कि बन्दैनौँ ?

प्रतिक्रिया