Edukhabar
मंगलबार, ११ मंसिर २०८१
खबर/फिचर

जिशिअज्यु ! लौन केही गनुपर्यो

विहीबार, २८ पुस २०७३

भक्तपुर - जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीसंग भेटघाटको औपचारिकता निभाएपछि चाँगुनारायण नगरपालिका, छालिङ गुडीस्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक न्हुछे फोँजूले दिक्क हुँदै भने – ‘कुनै पनि बेला विद्यालय ढल्न सक्छ, जिशिअज्यु लौन केही गनुपर्यो ।’

प्रअ फोँजूले भूकम्पले विद्यालयमा पुगेको क्षतिबारे जानकारी दिए र लगत्तै गुनासो पनि गरे, ‘विद्यालयको फलामको ट्रस्टबाट निर्माण भएको एउटा भवन अहिले पनि लड्ने अवस्थामा छ । भवन भत्काएर नहटाउँदा विद्यालयको अन्य भवनमा आउन जान अप्ठ्यारो भएको छ, तर विद्यालययसँग बजेट छैन, भूकम्पको सानो धक्काले पनि कुनै पनि बेला ढल्न सक्ने अवस्था छ ।’

२०७२ बैशाख १२ को भूकम्पले विद्यालयको छ वटा भवनमध्ये एउटा पूर्ण क्षति भयो तर क्षति भए पनि विद्यालयले  भने सोही क्षति पुगेको भवनमा विद्यार्थी, शिक्षक र कर्मचारीका लागि खाजाघर सञ्चालन गरिरहेको छ । विद्यालयका प्रअ फोँजूले सो भवनलाई भत्काएर हटाउन जिल्ला शिक्षा कार्यालयमा पटक पटक अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । ‘भवनको ट्रस्टले कुनै पनि बेला ठूलो क्षति हुन सक्नेतर्फ सचेत गराउँदा पनि सम्बन्धित निकायको ध्यान गएको छैन ।’ उनले भने ।

शिक्षा कार्यालयबाट करिब ७ किमी टाढा रहेको सो विद्यालयको मात्र त्यस्तो अवस्था छैन, कार्यालयबाट ५ मिनेटमै पुग्ने भक्तपुर खौमास्थित जागृति माविको अवस्था पनि त्यस्तै छ । विनासकारी भूकम्पले विद्यालयको भवन ठाउँ–ठाउँमा चिरा चिरा परेपछि जिल्ला शिक्षा कार्यालयको प्राविधिक टोलीले उक्त भवनलाई पूर्ण क्षतिको सूचीमा राख्दै रातो स्टिकर लगाइदियो । तर अहिले भने विद्यालय सोही रातो स्टिकर भएकै भवनमा सञ्चालन भइरहेको छ ।

त्यसैगरी चित्तपोलस्थित बालशिक्षा सदन निमाविको पाँचवटै भवन पूर्ण क्षतिको सूचीमा सूचिकृत भएको थियो । पाँचमध्ये एउटा पूर्णरुपमा भत्काउनुपर्ने र बाँकी चार वटा तत्काल मर्मत गर्नुपर्ने प्राविधिक प्रतिवेदनमा उल्लेख छ । तर हालसम्म सो विद्यालयका कुनै पनि भवन मर्मत हुन सकेको छैन । मर्मत हुन नसक्दा कक्षा ६, ७ र ८ का विद्यार्थीलाई जोखिम मोलेरै जीर्ण भवनमा कक्षा सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर खत्रीले बताए ।‘भवनको गारो चर्केको छ । ट्रस्ट पनि छैन, यसैल चर्केकै भवनमा कक्षा सञ्चालन गरिरहेका छांैं ।’ यस्तै बाध्यताको सिकारमा आफ्नो विद्यालय पनि परेको मध्यपुर थिमि–१५, कौशलटारस्थित जनप्रेमी निमाविका प्रअ रणबहादुर खड्काको भनाइ छ ।

उनले विद्यालयका चार वटामध्ये फलामको ट्रस्टले निर्माण भएको दुईवटा भवन पूर्ण क्षति भए पनि नयाँ भवन निर्माण नहुँदा अत्यन्त सकसका साथ अध्यापन कार्य गर्नु परिरहेको बताए । ‘विद्यार्थीलाई धेरै सकस छ । जिल्ला कार्यालयमा पटक–पटक भवन मर्मतका लागि ताकेता गरे पनि सुनवाइ भएको छैन ।’

जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा भूकम्पले १ सय २९ विद्यालयका ९३ वटा भवनको पूर्ण क्षति भएको थियो । यस्तो हुँदा पनि कार्यालय भने केही गर्न सक्ने अवस्थामा भने छैन । कारण, कार्यालयसँग बजेट छैन । ‘धेरै आउँछन्, यो भएन, यस्तो गर्नुपर्यो भनेर भन्छन्, तर हामीसँग बजेट छैन । हामीलाई विद्यालय बनाउनका लागि आवश्यक बजेट पठाएको छैन ।’ जिशिअ रायमाझीको समस्या अर्कै छ ।  

सोही कारण प्रअहरुको गुनासो र ताकेतालाई सम्बोधन गर्न नसकिएको उनको भनाइ छ । उनले भूकम्पको डेढ वर्ष बितिसक्दा पनि क्षति पुगेका विद्यालयका भवन मर्मत हुन नसक्दा भक्तपुरका सयौं विद्यार्थी जोखिमपूर्ण भवनमा बसेर पठनपाठन गर्न बाध्य रहेको आफूले पनि देखेको बताए ।

शिक्षा अधिकारी रायमाझीले भूकम्पपछिको पूनर्निर्माणको लागि जिल्ला तहमा जिल्लास्तरीय पुनर्निर्माण प्राधिकरणको एकाइ खडा भएको र सो एकाइले पुनर्निर्माणको कामलाई अघि बढाउन प्रक्रिया अघि बढाएको बताए । यसअलावा शिक्षा कार्यालयले १७ वटा विद्यालयका भवन पुनःनिर्माणका लागि माथिल्लो निकायमा प्रस्ताव गरिएको जनाएको छ । कार्यालयका अनुसार विद्यालयको जग्गाको अवस्था र विद्यालयको आवश्यकतालाई समेत मध्यनजर गर्दै बोडे मावि बोडे, चण्डेश्वरी निमावि र ठूली ब्रह्मायणी प्राविमा आठ कोठे, जनप्रेमी निमावि कौशलटारमा छ कोठे पक्की भवन निर्माणका लागि प्रस्ताव गरिएको छ । त्यसैगरी भीम आदर्श निमावि, सरस्वती निमावि नैचाल र सन्तकृष्ण प्राविमा चार कोठे भवन निर्माणका लागि सिफारिस गरिएको जिशिअ अधिकारीले बताए ।

त्यसैगरी चित्रपुर प्रावि, चन्द्रसूर्योदय निमावि, द्यौला प्रावि, नगरकोट निमावि, तौथली प्रावि र बरदायाणी निमाविमा तीनकोठे र ब्रह्माचारिणी प्रावि, बालचेतना प्रावि, देउजागाउँ निमावि र सिरुटार माविमा दुईकोठे भवन निर्माणका लागि सिफारिस गरिएको छ ।

फोटो : फाईल

प्रतिक्रिया