Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

विद्यालयको तह त फेरियो, कक्षा ११ को अपग्रेड भने अलमलमा

बुधबार, २७ पुस २०७३

भक्तपुर – शिक्षा नियमावलीले कक्षा अपग्रेड गर्नका लागि तीन महिनाअघि नै शिक्षा कार्यालयमा निवेदन दिनुपर्ने प्रावधान बनाएको छ । सोही प्रावधान अनुसार कक्षा ११ सञ्चालन गर्नका लागि जिल्ला शिक्षा कार्यालयहरुमा निवेदन दिने समय भनेको पुस मसान्त सम्म मात्र रहेको छ । सोही कारण अहिले विद्यालय सञ्चालकहरुको दिनहुँ भीड लाग्ने गरेको छ, जिल्ला शिक्षा कार्यालयहरुमा तर कार्यालयहरुले भने सो बारेमा के गर्ने भन्ने कुनै निक्र्यौल निकाल्न सकेको अवस्था छैन ।

‘शिक्षा कार्यालय नै अलमलमा छन्, अपग्रेडका लागि समय सकिन लागिसक्यो, अझै पनि अलमलमा भए पछि त....’ कक्षा अपग्रेडका लागि जिल्ला शिक्षा कार्यालय धाएका भक्तपुर स्थित एक निजी विद्यालयका प्रिन्सिपलले भने । उनले शिक्षा कार्यालयका अधिकारीहरुले पनि कुनै आधिकारिक जानकारी दिन नसकेको बताउँदै अलमल्याउन खोजेको आरोप लगाए ।

शिक्षा ऐन आठौं संशोधनले विद्यालय शिक्षा भनेर कक्षा १ देखि १२ सम्मलाई भनेको छ । सो ऐनअनुसार अहिले कुनै विद्यालय कक्षा ८ सम्म, कुनै १० सम्म त कुनै कक्षा १२ सम्म मात्र सञ्चालित छन् । कक्षा ८ कोले ९, १० कोले ११ सञ्चालनको लागि के कसरी अघि बढ्ने भन्ने विषय टुंगो लाग्न सकेको छैन । यसको मुख्य कारण शिक्षा नियमावलीमा भइरहेको ढिलाइ त हो नै यसलाई स्पष्ट भन्न नसक्नु जिल्ला शिक्षा अधिकारीहरुको कमजोरी पनि हो ।

नियमावलीले विभिन्न विषयहरु फुकाउने भने पनि अझै पनि नियावलीको टुंगो नलाग्दा शिक्षा कार्यालयहरु अलमलमा छन् भने सो गाँठो फुकाउनका लागि विभागले भने मन्त्रालयलाई ताकेता गरेको छ ।
‘हामी आफै पनि के गर्ने के गर्ने भन्ने अन्योल र द्विविधामा छौं ।’ जिल्ला शिक्षा कार्यालयहरुका अधिकारीहरु बताउँछन् । ‘दैनिक १०÷१२ जना अपग्रेडका लागि आउने गरेका छन्, हामी शिक्षा विभागको निर्णय कुरेर बसिरहेका छौं ।’ काठमाडौंका जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्यले भने ।

यसबाहेक जिल्ला शिक्षा कार्यालयहरुका अधिकारीहरु भने शिक्षा ऐनले व्यवस्था गरेको ‘गुठीबाट सञ्चालन हुनुपर्ने’ भन्ने प्रावधानले पनि अलमलमा रहेको जनाउँछन् । ‘कम्पनी ऐनअन्तर्गतै दिने कि गुठीअन्तर्गत दिने भन्ने अन्योलको अवस्था छ ।’ भक्तपुरका विद्यालय निरीक्षक विमल निरौलाले भने ।

उनले पुरानै अनुसार गरौं पनि अप्ठ्यारो भएको बताउँदै शिक्षा ऐनमा भएको संशोधन अनुसार नयाँ नियमावली नआउँदा समस्या रहेको जनाए ।

कक्षा अपग्रेड गर्नका लागि के गर्ने भन्ने विषयमा बुझ्नका लागि जिल्ला शिक्षा कार्यालय भक्तपुर पुगेका एक निजी विद्यालयका प्रिन्सिपल राजकुमार महर्जनले आफूले यही शैक्षिक सत्रदेखि नै कक्षा ११ सञ्चालन गर्न चाहेको तर सो विषयमा जिल्ला शिक्षा कार्यालयले स्पष्ट कुरा नबताउँदा आफू पनि अलमलमा रहेको बताए ।

‘ऐनले नयाँ स्कुल सञ्चालनका लागिमात्र गुठीमा जानुपर्ने भनेको छ, तर यहाँ त कक्षा ११ अपग्रेड गर्न पनि गुठीमा जानुपर्छ भन्ने धारणा रहेछ, सोही कारण जिशिकाका अधिकारीहरु अलमलमा छन् ।’ उनको भनाइ छ ।

कक्षा अपग्रेड गर्नका लागि तीन महिनाअघि शिक्षा कार्यालयमा निवेदन दिने र एक महिनाअघि सञ्चालनको लागि अनुमति दिइने प्रावधान रहेको शिक्षा विभागका निर्देशक एवं प्रवक्ता अण न्यौपाने बताउँछन् । कक्षा अपग्रेड सम्बन्धी रहेको अन्योल हटाउनका लागि सुझावसहित शिक्षा मन्त्रालयसँग राय सल्लाह माग गरिएको उनले बताए ।

‘कक्षा अपग्रेडका लागि समय बाँकी छ, यसैले हामीले जिल्ला शिक्षा कार्यालयका अधिकारी तथा विद्यालय सञ्चालकहरुलाई नआँतिन भनेका छौं ।’ विभागको सामुदायिक विद्यालय व्यवस्थापन शाखाका उपनिर्देशक ज्ञानेन्द्र बनले भने ।

उनले ऐनले कक्षा १देखि १२ सम्म विद्यालयको ढाँचा रहेको स्पष्ट पारे पनि यो वर्षको बैशाखबाटै कक्षा ११ सञ्चालन गर्न नसकिने कारण समय बाँकी रहेको जनाए । उनले कक्षा १० को एसइइ (माध्यमिक शिक्षा परीक्षा) को रिजल्ट अन्य कक्षाको जस्तै गरी प्रकाशन गर्न नसकिने भएकोले कक्षा ११ सञ्चालनको समय साउनमै मात्र सुरु हुने भएकोले समय बाँकी रहेको बताए ।

स्रोतका अनुसार अबदेखि कक्षा अपगे्रडको लागि शिक्षा विभाग आउनुपर्ने प्रावधानलाई हटाएर सोको जिम्मेवारी क्षत्रीय शिक्षा निर्देशनालयलाई नै दिने गरी विभागले मन्त्रालयमा सुझाव पठाएको छ ।

प्रतिक्रिया