Edukhabar
मंगलबार, ११ मंसिर २०८१
खबर/फिचर

उपकुलपति बनाउन सिफारिस

बुधबार, १३ साउन २०७२

काठमाडौँ १३ साउन / सातवटा विश्वविद्यालयमा रिक्त हुन लागेका उपकुलपति पदमा नियुक्तिका लागि नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घले विभिन्न प्राध्यापकको नाम सिफारिस गरेको छ ।यही साउन २३ गतेदेखि रिक्त हुने त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र वन तथा कृषि विश्वविद्यालयको उपकुलपतिका लागि सङ्घले नाम सिफारिस गरेको हो ।

यी सबै विश्वविद्यालयका उपकुलपतिको कार्यकाल यही साउन २२ गतेदेखि सकिन लागेको छ ।नेपाली काँग्रेस निकटका प्राध्यापक आबद्ध रहेको सङ्घले सबै रिक्त पदका लागि आफ्नो तर्फबाट नामावली तयार पारेर काँग्रेसबाट शिक्षामन्त्री हुनु भएकी चित्रलेखा यादवलाई सिफारिस गरेको सङ्घका कोषाध्यक्ष विष्णु पोख्रेलले जानकारी दिनुभयो ।

सङ्घले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि प्राथमिकताका आधारमा क्रमशः वासुदेव घिमिरे, गुणनिधि न्यौपाने, तीर्थ खनियाँ, अम्वराज जोशी, गोविन्दप्रसाद आचार्य, चन्द्रलाल श्रेष्ठ र रेणुका जोशीको नाम सिफारिस गरेको छ ।त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि माधवराज गौतम, प्रेमकुमार आचार्य, पुरुषोत्तम दाहाल, कार्तिकेय झा र भोजराज पन्तको नाम सङ्घले सिफारिस गरेको छ ।

बैठकले पूर्वाञ्चलका लागि बद्रीनाथ श्रेष्ठ र घनश्यामलाल दास, सुदूरपश्चिमका लागि चेतराज भट्ट र भूषण श्रेष्ठ, मध्यपश्चिमका लागि बसन्तराज शर्मा र कालीप्रसाद पाण्डे, पोखरा विश्वविद्यालयका लागि वेदनाथ शर्मा र विनोद श्रेष्ठ, वन तथ कृषि विश्वविद्यालयका लागि जगतलाल यादव र हरिहर बौडेलसहित पाँच÷पाँच जनाको नाम सिफारिस गरेको कोषाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।मकवानपुरको हेटाँैडामा बसेको सङ्घको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले प्राध्यापकको कार्यदक्षता, अनुभव, वरिष्ठतालगायतका आधारमा नामावली तयार पारेको उहाँले बताउनुभयो ।

सङ्घले शिक्षामन्त्री यादवलाई भेटेर सङ्घको निर्णयअनुसार नियुक्त गर्न आग्रह गर्ने योजना बनाएको छ । यसअघि शिक्षामन्त्री यादवले सङ्घको सिफारिसका आधारमा नियुक्तिको निर्णय लिने आश्वासन दिएको उहाँले बताउनुभयो । सङ्घको निर्णयलाई शिक्षामन्त्री यादवले अवलम्बन गर्ने विश्वास सङ्घले लिइएको पोख्रेलको भनाइ छ ।काँग्रेसको शिक्षा विभाग प्रमुख चन्द्र भण्डारीले पनि सङ्घको निर्णयलाई शिक्षामन्त्रीले मुख्य आधार मान्नुपर्ने धारणा राख्नुहुन्छ । सम्बन्धित सङ्घ सङ्गठनको सल्लाह र सिफारिसमा नियुक्त गर्ने संस्कारले व्यक्तिवादी प्रवृत्ति अन्त्य हुने र उचित ठाउँमा उचित व्यक्तिले जिम्मेवारी पाउने उहाँको तर्क छ । तर सम्बन्धित सङ्घ सङ्गठनले दिने सुझाव तथा सिफारिस पनि प्राज्ञिक आधारमा हुनुपर्ने नेता भण्डारीको भनाइ छ ।

सोमबार र मङ्गलबार बसेको सङ्घको पूर्ण बैठकले त्रिवि प्राध्यापक सङ्घ र पब्लिक क्याम्पस प्राध्यापक सङ्घको निर्वाचन अविलम्ब गर्न पनि दुवै सङ्घलाई आग्रह गरेको छ ।लामो समयदेखि करार सेवामा रहेका शिक्षण सहायकलाई प्रक्रिया पु¥याएर अस्थायी दरबन्दीमा उपप्राध्यापक पदमा नियुक्त गर्न र विश्वविद्यालय सेवा आयोगमार्फत तुरुन्त स्थायी गर्न सङ्घले सरकारसँग माग गरेको छ । रासस

प्रतिक्रिया