Edukhabar
आइतबार, ०९ मंसिर २०८१
सम्पादकीय

स्ववियु सुधार्ने अवसर

विहीबार, २१ पुस २०७३

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा उम्मेद्वार हुन तोकेको २८ वर्ष उमेर हदको निर्णय स्वागतयोग्य छ । यसले बुढेसकालसम्मनै क्याम्पसको राजनीतिमा लागेर गरिएको स्ववियुको बदनामीलाई केही हदसम्म कम गर्न सघाउनेमात्रै छैन राजनीतिमा नयाँ पुस्ताको आकर्षणलाई बढाउने पनि छ । त्यतिमात्रै होइन संस्थागत भ्रष्टाचार सिकाउने थलोका रुपमा विकास भएको स्ववियुको साखलाई सुधार्न टेवा पुर्याउने अपेक्षा समेत गर्न सकिन्छ ।

त्रिविका आंगिक क्याम्पसमा शिक्षा सुधारका नाममा स्थापित भए पनि स्ववियुले शिक्षा सुधारमा कुनै ठोस काम गर्न सकेको छैन, कहिल्यै गरेन । घट्दो त्रिवि र उसका क्याम्पसको स्तरलाई थेगिराख्न, प्रतिस्पर्धात्मक उच्च शिक्षालाई प्रभावकारी बनाउन स्ववियु सधैँ विफल रह्यो । पञ्चायती शासन व्यवस्थामा पञ्चायत विरुद्ध जेहाद छेडेर प्रजातन्त्र स्थापना, २०६३ सालको आन्दोलनको नेतृत्व तथा गणतन्त्र स्थापनाका लागि स्ववियूको भूमिका अहम रहनु बाहेक शिक्षा विकासमा गणनाको कुनै काम स्ववियुबाट आज पर्यन्त हुन सकेको छैन । स्ववियुले गरेको देखिने काम भनेको गैर कानुनी विद्यार्थी भर्नाको दवाव, शैक्षिक संस्था बन्द, हड्ताल, तोडफोड र क्यामपसको आर्थिक हिनामिनामात्रै हो । स्ववियुबाट शिक्षामा प्रभावकारी काम हुन नसक्नुमा नयाँ विद्यार्थीले अवसर नपाउनु पनि केही हदसम्म जिम्मेवार थियो । त्रिविको ४२ सौँ सभाले गरेको उमेर हदको निर्णय त्यस हिसाबले पनि ऐतिहासिक छ ।

उमेर हद तोक्न यसअघि पनि छलफल भएका थिए । स्ववियुको नेतृत्व गर्न जाने दलका भातृ संगठनका उमेद्वार र केही नेताको स्वार्थका कारण त्यो पूरा हुन सकेको थिएन ।

उमेर हद किन पनि विद्यर्थी राजनीति विशेष गरी स्ववियुमा महत्वपूर्ण छ भने आफ्ना समस्या त्यही अध्ययनरत खास विद्यार्थीलेमात्रै पत्ता पाउन सक्छन् र समाधानमा चासो दिन सक्छन् । राजनीतिक दल र तिनको भाटगिरीभन्दा माथि उठेर उच्च शिक्षाको विकासमा लाग्न उमेरहदले किन प्रोत्साहित गर्न सक्छ भने उमेरमै म स्ववियुको नेतृत्वमा पुग्न सक्छु भन्ने भावना खास विद्यार्थीमा पैदा हुन सक्छ । स्ववियुको सभापति हुनमात्रै क्याम्पस भर्ना गर्ने परिपाटी कम्तीमा यो निर्णयले कम गर्न सक्छ । गैर विद्यार्थीको भर्ना कम हुन सक्छ । क्यामपसका विद्यार्थीले कम्तीमा आफ्नै उमेरका दौंतरीलाई आफ्नो नेतृत्वमा देख्न सक्छन् । यसले नयाँ पुस्तालाई राजनीतिमा आउन प्रोत्साहित गर्नेछ ।

अहिलेकै स्ववियूको स्वरुपका लागि उमेरहद स्ववियु सुधारका लागि सकारात्मक पाटो हो यो नै अचुक औषधी भने होइन । किनभने स्ववियुमा जडसुत्रबाद हावी छ । विगतको इतिहासले बताउँछ, उच्च शिक्षा, अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्न भन्दा पनि स्ववियूको नेता भएपछि कहाँबाट कमाइ हुन्छ भन्ने भ्रष्ट मानसिकता त्यसको नेतृत्व कर्तामा देखिएका प्रसस्त उदाहरण छन् । सामान्य क्याम्पसमा पनि कम्तीमा ५ लाख अतिरिक्त क्रियाकलापको बजेट हुने र त्यसलाई कसरी आफ्नो अनुकुल बनाउने भन्ने ध्यान स्ववियु नेताहरुमा हुने गरेको छ त्यो बदलिनु पर्छ ।

उमेरहद तोकिए पछि अब स्ववियु निर्वाचनको भड्किलो स्वरुपलाई पनि बदल्नु जरुरी छ । स्ववियु भन्दा पनि राष्ट्रिय चुनावको झल्को दिने गरी हुने प्रचार प्रसार, तामझामले विद्यार्थी र स्ववियु राजनीतिलाई भ्रष्ट बनाउदै लगेको छ । त्यही तामझामले स्ववियु नेताहरु विद्यार्थी, शिक्षा, राजनीतिक सिद्धान्त, अध्ययन अनुसन्धान भन्दा पैसामुखी धेरै हुदै गएकाले देशको जेठो विश्वविद्यालय खस्किँदै गएको छ । विश्वविद्यलायको अधोगतीमा त्रिवि जतिनै स्ववियू पनि जिम्मेवार छ । त्यो स्ववियुका नेतृत्वकर्ताले स्वीकार्नु पर्छ ।

उमेरहदलाई विद्यार्थी संगठनले स्वागत गर्नु अर्को सकरात्मक कदम हो । आफ्ना उमेरका विद्यार्थीको नेतृत्व गर्नु भनेको उनीहरुको मनोभाव, आवश्यकता र समयानुकुल शिक्षाप्रति संवेदनशील हुनु पनि हो । छोरा नातीले उच्च शिक्षाको अध्ययन सकिसकेका हजुरबाहरु स्ववियुको सभापति हुन भर्ना औपचारिकता पूरा गरेर स्ववियु सभापति हुँदा उनीहरुको ध्यान क्याम्पस र शिक्षामा कम राष्ट्रिय राजनीति र कमाउमा बढी देखिएको छ । यसलाई अबको पुस्ताले कमगर्दै लैजानु पर्छ । राजनीतिक सिद्धान्त आफ्नो ठाउँमा छ, विद्यार्थी संगठनका नेताहरुले अबको स्ववियूलाई साँच्चैको विद्यार्थीको बनाउन खेल्नु पर्ने भूमिका धेरै छ ।

देशले हरेक क्षेत्रमा नयाँ पुस्ता, नयाँ सोच र जाँगर खोजेको छ । स्ववियु त्यसको महत्वपूर्ण थलो हो । सामान्य परिवार र देशको कुना कन्दराबाट आएको जुझारु युवाले त्यो अवसर पाउन सक्ने अवस्था अब सिर्जना हुन सक्छ । स्ववियुको नेतृत्वमा जानेले नयाँ पुस्ताप्रतिको भरोसा र अपेक्षालाई विश्वास दिलाउन भूमिका निर्माण गर्न सक्छन् । चरम राजनीतिकरणका कारण बदनाम, भ्रष्टाचारको छवि निर्माण र सधैँ उमेर पाको बन्दै गएकाको कब्जामा रहेको स्ववियुलाई त्यो दलदलबाट निकालेर साँच्चैका विद्यार्थीको नेतृत्वमा लैजान कटिबद्ध भएर आउने हो भने स्ववियुको गुमेको साख फर्काउन त्रिविको उमेरहदको निर्णय पक्कै सकारात्मक हुनेछ ।

विगतकैजस्तो कमाउने र मूल पार्टीको भजन कीर्तनमै समय बिताउने, राजनीतिप्रति युवा पुस्तालाई वितृष्ण जगाउने काम अबको स्ववियूले बन्द गरेर विश्वविद्यालयको सुधार, अध्ययन अनुसन्धान सँगै स्ववियूलाई शैक्षिक मुद्धामा केन्द्रीत गर्नु जरुरी छ । युवाको नेतृत्वमा स्ववियु जाने वातावरणवीच पनि त्यसो गर्न सकिएन भने स्ववियु, विश्वविद्यालय, उच्च शिक्षा र देशको राजनीति कहिल्यै नसुध्रिने निश्चित छ ।

प्रतिक्रिया