काठमाडौं– देशका ७५ वटा जिल्लाहरुमध्ये ३० वटाले साक्षर जिल्ला घोषणा गरिसक्दा पनि राजधानी रहेको जिल्ला काठमाडौं अहिलेसम्म साक्षर बन्न सकेको छैन । विगत लामो समयदेखि अन्य जिल्लाहरुमा जस्तै काठमाडौंमा पनि अनौपचारिक शिक्षा अन्तर्गत प्रौढ शिक्षा, साक्षरता कक्षा लगायतका कक्षाहरु सञ्चालन गरे पनि काठमाडौं भने अहिलेसम्म साक्षर बन्न सकेको छैन । देशकै राजधानी अहिलेसम्म साक्षर हुन नसक्नु लाजमर्दो भएको सरोकारवालाको भनाइ छ ।
‘काठमाडौं किन साक्षर बन्न सकेको छैन ? भनेर धेरैले सोधीखोजी गर्छन्, कारण यही हो भनेर भन्न सकिने अवस्था छैन, किन किन ? शिक्षा कार्यालयका एक कर्मचारीले भने, ‘यो त साह्रै लाजमर्दो विषय भएको छ ।’
शिक्षा कार्यालयका अनुसार विगत लामो समयदेखि काठमाडौंका विभिन्न भागहरुमा सञ्चालित साक्षरता कक्षाको आधारमा समग्र काठमाडौंको साक्षरता प्रतिशत ९८ दशमलव ६ प्रतिशत रहेको छ । संयुक्त राष्ट्रसंघले निर्धारण गरेको मापदण्ड अनुसार कुनै पनि क्षेत्रको साक्षरता प्रतिशत ९५ प्रतिशत नाघेको खण्डमा साक्षर क्षेत्रको रुपमा घोषणा गर्न सकिन्छ । तर, काठमाडौले सो मापदण्ड नाघिसक्दा पनि घोषणा गर्न नसक्नुमा काठमाडौंमा बढिरहेको जनसंख्या मुख्य बाधक रहेको शिक्षा कार्यालयको भनाइ छ ।
‘जिल्ला शिक्षा कार्यलयको तथ्याङकमा जिल्लामा रहेका सबै नगरपालिकाले साक्षरताको मापदण्ड पूरा गरिसकेको देखिन्छ । तैपनि हामीले अझै पनि साक्षर काठमाडौं बनाउन सकेका छैनौं ।’ जिशिअ जयाप्रसाद आचार्यले भने ।
२०६८ को जनगणनाअनुसार काठमाडौं जिल्लाको जनसंख्या १७ लाख ४४ हजार २ सय ४० रहेको छ । सो जनसंख्यामध्ये १६ वर्षदेखि ६० वर्ष उमेर समूहका ९८ प्रतिशत जनसंख्यालाई साक्षर बनाइसेको कारण साक्षर काठमाडौं घोषणामा कुनै समस्या नभएको आचार्यको भनाइ छ । ‘काठमाडौंमा दिनानुदिन जनसंख्या बढिरहेको छ, २०६८ सालको जनसंख्यालाई आधार मानेर साक्षर घोषणा गर्न कुनै समस्या छैन ।’ जिशिअ आचार्यले भने ।
काठमाडौं, उपत्यका भित्रका तीन जिल्लामध्ये देशको राजधानी समेत भएको र देशको नीतिनिर्माणमा समेत प्रभाव पर्न सक्ने जिल्ला हो । पूर्वको भक्तपुर तथा दक्षिणको ललितपुर तथा मकवानपुर समेत साक्षर भइसक्दा पनि देशकै प्रतिनीधित्व गर्ने काठमाडौं साक्षर हुन नसक्नु लाजमर्दो विषय हो ।’ काठमाडौंस्थित एक सामुदायिक अध्ययन केन्द्रका पदाधिकारीले भने । उनले साक्षर जिल्ला बनाउने अभियानमा जिल्ला शिक्षा कार्यालय अगुवाइको भूमिका खेल्नुको सट्टा अन्य काममै अलमलिँदा पनि काठमाडौं साक्षर बन्न नसकेको आरोप लगाए ।
काठमाडौंमा एउटा महानगरपालिका र १० नगरपालिका रहेका छन् । ती नगरपालिकामध्ये अहिले दक्षिणकाली, चन्द्रागिरी, शंखरापुर, कीर्तिपुर जगरपालिकालाई क्रमशः साक्षर घोषणा गर्दै अघि बढ्ने योजना बनाएको जिशिका काठमाडौंको अनौपचारिक शिक्षा शाखाका अधिकृत शिव रेग्मीले जानकारी दिए ।
उनले घोषणामात्र ढिला भएको बताउँदै वि.स. २०६७/६८ देखि लागू भएका कार्यक्रमहरुको उपलब्धिको तथ्यांक संकलनमा कार्यालयले व्यवस्थापन गर्न नसक्दा समस्या देखिएको बताए ।
‘अन्य जिल्लामा जस्तै गरी यहाँ पनि साक्षरताका विभिन्न क्रियाकलापहरु भएका छन् तर यहाँ चलेका कार्यक्रमहरुको रेकर्ड व्यवस्थित हुन नसक्दा कुनलाई आधार मानेर साक्षर बनाउने भन्ने कुरामा अलमलिइरहेका छौं ।’ उनको भनाइ छ । उनले आगामी माघ १५ गतेबाट देखिने गरी नै काठमाडौंका विभिन्न क्षेत्रहरुलाई साक्षर क्षेत्र घोषणा कार्यक्रम हुने ठोकुवा पनि गरे ।
त्यसका लागि कार्यालयले सम्बन्धित क्षेत्रमा रहेको विद्यालयका प्रअ, सामुदायिक अध्ययन केन्द्र, स्रोतव्यक्ति, विद्यालय निरीक्षकलाई लिखित रुपमै काम गर्न निर्देशन दिइसकेको उनले जानकारी दिँदै आउँदो असार सम्ममा काठमाडौं पूर्ण रुपमा साक्षर बनिसक्ने जनाए ।
‘२०६८ सालको जनगणनाअनुसार मात्र नभएर हामीले साक्षर बनाउन चलाएका कार्यक्रमहरुका आधारमा १५ वर्षदेखि ६० वर्षमुनिका कोही पनि निरक्षर छैनन् ।’ उनले भने । सोही आधारमा पनि साक्षर जिल्ला बनाउन समस्या नभएको उनको दाबी छ । काठमाडौंमा रहेका निरक्षरहरुलाई साक्षर बनाउनका लागि अहिले ३५ वटा सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया